Loading... आजः २७ श्रावण २०८३, बुधबार । Wednesday 12th August 2026

पानीमा भेटिन्छन् किरा, फट्याङ्ग्रा र लेउ

सुर्खेत ।
सुर्खेतका पानी उद्योगबाट प्रशोधित भएर बजारमा विक्रीका लागि लगिने पानीमा पटक–पटक लापरवाही हुने गरेको छ । प्रशोधित पानीका बोतलमा कहिले मरेका फट्याङ्ग्रा त कहिले जारमा लेउ भेटिने गरेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले पटक–पटक अनुगमन गर्ने तर पानी उत्पादकहरुले गल्ती दोहो¥याउने गरेका कारण जनताको स्वास्थ्यमा खेलवाड भएको छ । पछिल्लो पटक जारको पानीमा लेउ भेटिएको छ ।

फोटो : आकाशतारा बयक

देउती दर्शन वाटर वेभरेज इण्डष्ट्रिज प्रालिले उत्पादन गरेको सिजन्स पानीको जारमा लेउ भेटिएको हो । पानीमा लेउ भेटिएको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले तत्काल खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाको नेतृत्वमा संयुक्त बजार अनुगमन गरेको छ ।

प्रजिअको निर्देशन अनुसार अनुगमन समितिले वीरेन्द्रनगर–११ स्थित जीवन आचार्यको घरबाट लेउ लागेको पानीको जार बरामद गरि सिल गरेको छ । उक्त पानी जार उत्पादक उद्योगलाई मुद्धा चलाउने तयारी भएको अनुगमन समितिको नेतृत्व गरेका खाद्य प्रविधि कार्यालयका प्रमुख थापाले बताउनु भयो । नेपालगञ्ज प्रयोगशालाबाट आउने रिपोर्टका आधारमा कस्तो प्रकृतिको मुद्धा चलाउने भन्ने एकिन हुने थापाको भनाई छ ।

फोटो : आकाशतारा बयक

पानी उद्योगका सञ्चालक भीम भण्डारीले काम गर्ने क्रममा गल्ती भएको हुन सक्ने स्विकार गर्दे आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ‘उद्योगमा सबै आवश्यक मापदण्ड पुरा गरि बजारमा पानी पठाउने गरेको बताउँदै यो कसरी हुन पुग्यो, हाम्रै प्रतिद्वन्द्वी पानी उद्योगले समेत यस्ता खालका षड्यन्त्र गर्ने भएकाले अनुगमन टोलीलाई सहयोग गर्दै आगामी दिन थप सचेत हुने छौं संचालकको भनाई छ ।

‘पानीमा लेउ, किरा, धमिलोपन, कोलिफर्म भेटिनेक्रम सुर्खेतमा जारी छ,’ राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष आकाशतारा बयकले भन्नुभयोे, ‘कोरोना संक्रमण रोकथाम नियन्त्रणका कारणले बजार अनुगमन अलि ढिलाई भएको छ । पानी जस्तो महत्वपूर्ण पेय शुद्ध कहिले हुने ? उपभोक्ताले कहिले शुद्ध पानी पिउन पाउने ? ‘सर्वसाधारणको स्वास्थ्यप्रति सरकार र पानी उद्योगहरु गैरजिम्मेवार रहेका छन् ।’