Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

कर्णालीमा आज पनि भेटिएनन् नयाँ संक्रमित

सुर्खेत ।

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो तथ्याङ्कअनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या १९८ मात्र छ । मंगलबारसम्म संक्रमित १९४५ मध्ये १७४१ जना संक्रमणमुक्त भएका हुन् ।

मंगलबार भने नयाँ संक्रमितको संख्या शून्य छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतमा २७ जना, दैलेखमा १२२ जना, जाजरकोट र सल्यानमा ११/११ जना, कालीकोटमा १२ जना, रुकुम पश्चिम्मा २ जना र मुगुमा १ जना कोरोनाका ‘एक्टिभ केस’ छन् ।

यस्तै मंगलबार मात्रै १३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेशमा हालसम्म ४१ हजार ८४८ जनाको आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । पछिल्लो समय कर्णालीमा आइसोलेसन र क्वारेन्टिन रित्तिँदै गएका छन् ।

महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले अहिले बाहिरबाट आउने व्यक्तिहरूको संख्यामा कमी आएकाले क्वारेन्टाइनहरू खाली हुँदै गएको बताए । सरकारले विद्यालयमा रहेका क्वारेन्टाइन खाली गर्न भनेको छ । सोही अनुसार प्रदेशमा पनि तयारी भइरहेको डा. तिवारीले जानकारी दिए ।