एमयूमा भिसीका १५८ दिन : अठार बैठक ९२ निर्णय
सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नयाँ उपकूलपति पाएको १५८ दिन वितेको छ । नेपाल सरकारले २०७६ फागुन १८ गतेका दिन प्रा. डा. नन्द बहादुर सिंहलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकूलपतिमा नियुक्त गरेको थियो भने उहाँ फागुन २९ गते विश्वविद्यालयमा हाजिर हुनु भएको थियो ।

विश्वविद्यालयमा उपकूलपतिको रुपमा आइसकेपछि सुर्खेतमा पहिलो पटक पत्रकारहरुसँग आफूले गरेका कार्यहरु र भविष्यमा गर्ने योजनाहरुको बारेमा जानकारी दिँदै उपकूलपति प्रा. डा. सिंहले भन्नुभयो, ‘१५८ दिनको अवधिमा अठार वटा बैठक बसेर विभिन्न ९२ वटा निर्णयहरु भएका छन् ।’
स्थापनाकालदेखि नै तालाबन्दी र आन्दोलन गर्ने शैक्षिक थलोको रुपमा चिनिएको यस संस्थालाई भ्रष्टाचारमुक्त विश्वविद्यालयको रुपमा निर्माण गर्ने योजना रहेको प्रा. डा. सिंहले बताउनु भयो । विश्वविद्यालयलाई बायोमेडिकल, वैज्ञानिक तथा प्रविधियुक्त र कृषि सम्बन्धि विषयलाई शैक्षिक हवका रुपमा स्थापित गर्ने देखि रिसर्च एण्ड डेभलपमेण्टको स्थापना गर्नेसम्मका निर्णयहरु भएको उहाँको भनाई थियो । यसैगरि उपकूलपति प्रा.डा. सिंहले भन्नुभयो, ‘म विश्वविद्यालयमा तलब खान र विल मिलाउन आएको होइन ।’
विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुले आफ्नो पदीय दायित्व अनुसार पाउने भौतिक सामग्रीको सुविधा सेवा अवधिपछि अनिवार्य रुपमा फिर्ता गर्नुपर्ने, विश्वविद्यालयले आयोजना गर्ने सेमिनारहरु विश्वविद्यालय परिसरमै गर्नु पर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार विश्वविद्यालयको स्वीकृति लिएर मात्र होटल गर्न पाइने, खरिद सम्बन्धि कार्य गर्दा केन्द्रिय कार्यालयबाट स्वीकृति लिनुपर्ने निर्णयहरु हुनुका साथै छात्रबृत्ति व्यवस्थापन निर्देशिका २०७७ स्वीकृति गरेको निर्णय भएको पत्रकार सम्मेलनमा बताइएको छ । रजिष्टार तथा डीनहरुको पदका लागि खुला रुपमा विज्ञापन गरेर नविनतम् प्रयोग गरेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्थायी, करार वा अमांशिक शिक्षकको रुपमा नियुक्त गर्दा शैक्षिक विशिष्टता (गोल्ड मेडलिष्ट, विशिष्ट तथा प्रथम श्रेणी) लाई प्राथामिकता दिने निर्णय भएको प्रा.डा. सिंहले बताउनु भयो ।

विश्वविद्यालयको जग्गालाई प्रयोग गरेर विभिन्न भौतिक संरचना निर्माण गर्ने र त्यसबाट विश्वविद्यालयलाई आर्थिक रुपमा सम्पन्न बनाउने योजना रहेको प्रा.डा. सिंहले जानकारी दिनुभयो ।
कतिपय अवस्थामा आफ्ना मान्छेहरुलाई स्थापित गर्न खोजेको भन्ने निराधार हल्ला फैलिएपनि राम्रो दिमाग भएका मान्छेहरु आफ्नो भएको उहाँको भनाई थियो । ‘राम्रा मान्छेलाई अवसर प्रदान गर्ने स्थानको बन्न सकोस् विश्वविद्यालय’ उहाँले थप्नुभयो । आफ्नो कार्यकालमा विश्वविद्यालयलाई छोरालाई जत्तिकै माया गरेर यसको शैक्षिक र भौतिक विकासका लागि काम गर्ने योजना रहेको प्रा.डा. सिंहले बताउनु भयो ।
विश्वविद्यालयलाई एक वर्षभित्रमा इ–युनिभर्सिटीको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउँदै विश्वविद्यालयलाई भ्रष्टाचार मुक्त बनाउने कार्यमा सबैको साथ र सहयोगको खाँचो रहेको उहाँको भनाई थियो । गलत परम्परा छोडौं र विश्वविद्यालयलाई नयाँ बाटोमा लैजाउ भन्ने उद्देश्यका साथ अघि बढेको बताउँदै आफू मर्नु परेपनि नीजि विद्यालयलाई सम्बन्धन नदिने उहाँको भनाई थियो ।






