Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

संक्रमणको अवस्थालाई विश्लेषण गर्दै विज्ञसँग सल्लाह

सुर्खेत ।
कर्णाली प्रदेश सरकारले प्रदेशमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण दर बढ्दै जानु र समुदायस्तरमा समेत फैलिन थालेपछि संक्रमण समेतको अवस्थालाई विश्लेषण गर्दै विज्ञहरुसँग सल्लाह लिएको छ ।


बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यबस्थापन केन्द्रको बैठकमा विज्ञहरुको सुझाव लिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । विज्ञहरुको सुझावलाई आधार बनाएर भारतबाट आउने कर्णालीवासीलाई अनिवार्य रुपमा सीमानाकाको क्वारेन्टिनमा राख्ने तथा क्वारेन्टीनको क्षमता भन्दा बढि राख्नु पर्ने अवस्था भएमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको भवनलाई समेत बैकल्पिक पूर्व तयारीका रुपमा प्रयोग गरिने जनाएको छ ।

एक पालिकामा एक क्वारेन्टिन वा आइसोलेशन स्थायी रुपमा निर्माण गर्नका लागि स्थानीय तहसँग समन्वय गर्नुका साथै प्रदेशमा प्रवेश गर्ने नाकाहरुमा कडाइका साथ चेकजाँचका लागि आवश्यक पहल गरिने जनाएइको छ । प्रदेशमा प्रवेश गर्नका लागि कतिमा ३ दिन अगाडिको पिसिआर रिपोर्ट अनिवार्य बनााइएको बताइएको छ । अत्यावश्यक कार्यका लागि सरकारी तथा गैरसरकारी कार्यालयहरुमा काम गर्दा अनिवार्य रुपमा स्वास्थ्य सावधानी अपनाउनु पर्ने बताइएको छ ।

यसैगरि प्रदेशका तीन जिल्लामा आइसीयु वेड थप्ने निर्णय गरेको छ । केरोनाको दर उच्च हुन थाले पछि कर्णाली प्रदेश सरकारले संक्रमण दर रोकथाम र नियन्त्रणको लागि आईसीयु वेड थप्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकारले दैलेख, सल्यान र कालिकोट जिल्ला अस्पतालमा आइसीयु वेड थप्ने निणय गरेको बताईएको छ । तीन जिल्लाका जिल्ला अस्पतालमा आइसीयु वेड थप्नका लागि सामाजिक विकास मन्त्रालयलाई जिम्मा दिएको छ । तीन वटै जिल्ला अस्पतालमा ५/५ वटा आइसियु र १ / १ वटा भेन्टिलेटर थपिने सामाजिक विकास मन्त्री दल रावले बताए । यसका साथै सुर्खेत र जुम्ला अस्पतालमा पनि आईसीयु र भेन्टिलेटर थप गर्ने बिषयमा छलफल भएको उनको भनाई छ । हाल प्रदेश भर ४० आइसीयु र १७ भेन्टिलेटर रहेका छन् ।