कर्णालीका तीन जिल्लामा निषेधाज्ञा
सुर्खेत ।
कर्णाली प्रदेशका तीन जिल्लामा आजबाट निषेधाज्ञा जारी गरिएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र मुगुमा जिल्ला निषेधाज्ञा जारी गरिएको हो । प्रशासन कार्यालय र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

निषेधाज्ञाको बारेमा अनुगमन गर्न सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी आफै फिल्डमा खटिनु भएको छ । निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न गराउन र कार्यान्वयनको अवस्था हेर्न प्रमुख जिल्ला अधिकारी आफै फिल्डमा खटिनु भएको हो ।
सुर्खेतको वीरेन्द्रनगर, मुगुको गमगढी र जुम्लाको चन्दननाथमा सोमबार देखि निषेधाज्ञा लागू भएको छ । रुकुम–पश्चिमको मुसिकोट नगरपालिकामा समेत बुधवारदेखि निषेधाज्ञा जारी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले बताउनु भयो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सामान्य अवस्था झै भिडभाड, अत्याधिक बढेपछि साउन २९ गते बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकबाट वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनु भयो ।
भेरीगंगा, गुर्वाकोटा र लेकवेशी नगरपालिकामा समेत आवश्यकता परेमा निषेधाज्ञा गर्न सकिने तर बराहताल, पञ्चपुरीमा भने वीरेन्द्रनगरमा गरिएको निषेधाज्ञाले आवतजावत नियन्त्रणमा आउने प्रजिअ रेग्मीको भनाई छ । थाहा नपाएर बाहिर निस्कनेलाई सम्झाउने तर अटेर गर्ने र जारी आदेशको उलंघन गर्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ र संक्रमण रोग ऐन, २०२० बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनु भयो ।






