Loading... आजः ८ कार्तिक २०७७, शनिबार । Saturday 24th October 2020

निषेधाज्ञाको पालना गरौं

देशमा लकडाउन खुकुलो भएपछि मान्छेको आवत जावतदेखि व्यापार व्यावसायमा समेत चहल पहल भयो । जसका कारण कोरोना समुदायस्तरमै फैलिन थालेपछि विभिन्न जिल्ला तथा स्थानीय तहहरुले आ–आफ्नो कार्यक्षेत्रको अधिकारलाई प्रयोग गरेर छुट्टाछुट्टै स्थानहरुमा निषेधाज्ञा जारी गरेका छन् । कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र मुगु जिल्लामा निषेधाज्ञा जारी भएको छ । एकातिर नजिकै आइरहेको हरितालिका तीज र त्यसको अवसरमा हुने विभिन्न गतिविधिहरुलाई समेत रोक्ना सजिलो हुने र अर्कोतिर समुदायस्तरमा फैलिँदै गरेको कोरोनाको संक्रमण फैलिनबाट रोकिने भएकोले पनि निषेधाज्ञा गर्नु आवश्यक थियो ।

सरकारले गरेको निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न गराउन आवश्यक छ । सरोकारवाला निकायहरुले कडाइका साथ त्यसको पालना गर्नु गराउनु र नागरिकले समेत स्वास्थ्यसँग जोडिएको विषय भएकोले पनि त्यसलाई पालना गर्नु पर्दछ । यदि कोरोना समुदाय स्तरमा फैलियो र त्यसले रुग्ररुप लियो भने त्यसलाई रोक्नका लागि हम्मेहम्मे पर्दछ । अर्कोतिर कर्णालीमा सिमित स्रोत साधन तथा सिमित स्वास्थ्यकर्मी भएको कारणले पनि यसलाई फैलिन नदिनु नै बुद्धिमानी ठहर्छ ।

सरकारले गरिदिएको निषेधाज्ञा कुनै रहरको लागि नभई बाध्यात्मक परिस्थितिको उपज हो भन्ने कुरालाई जबसम्म बुझिदैँन र यसको पालनाले हाम्रो स्वास्थ्यको रक्षा हुन्छ भन्ने कुराको चेतनाको विकास हुँदैन तबसम्म हामी अवज्ञाको रुपमा अगाडि बढ्छौ । तर त्यसले हाम्रो आफ्नै स्वास्थ्यमा हाम्रो परिवार र समाजको स्वास्थ्यमा कस्तो असर पर्द भन्ने कुरालाई मनन् गरेर निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्नु गराउनु आवश्यक छ । सबैले दत्तचित्त भएर सोचौं ।