Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

‘बिग्रह चाहनेले धन्दा बन्द गरे हुन्छ’

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र  अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार र शुक्रबार नेकपाको आन्तरिक राजनीतिक विषयमा घनीभूत छलफल भएको छ। सोही छलफलबाट विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यादल बनाइएको छ। त्यसमा ओली पक्षबाट पौडेल, शंकर पोखरेल, दाहालतर्फका पम्फा भुषाल, जर्नादन शर्मा र माधवकुमार नेपाल पक्षका भीम रावल र सुरेन्द्र पाण्डे राखिएका छन्। कार्यदलका संयोजक एवम् महासचिव पौडेलसँगको रामकृष्ण अधिकारीले गरेको कुराकानी :

नेकपाभित्र देखा परिरहेको विवाद अब मिल्यो ?

लगभग मिल्यो।

कार्यदल बनाउने सहमतिमा कसरी पुग्नुभयो ?

दुई अध्यक्ष लामो समयदेखि संवाद र छलफलमा हुनुहुन्थ्यो। छलफल स्थगित हुने, छलफल जारी रहने प्रक्रिया चलिरहेकै थियो। खासगरी हिजोदेखि छलफल सकारात्मक वातावरणमा अगाडि बढेको थियो। त्यही छलफलबाट अन्ततः उहाँहरू (ओली र दाहाल) एउटा निष्कर्षमा पुग्नुभयो।

नेपाल कम्युनिस्ट पार्टीभित्र देखा परेका समस्याहरू समाधान गर्दै हामीले पार्टी एकतालाई अक्षुष्ण राख्नुपर्छ, जोगाउनुपर्छ। त्यसलाई सबल तुल्याउनुपर्छ। नेकपाप्रति जनताले जुन अपेक्षा र विश्वास गरेका छन्, त्यसलाई टुट्न दिनुहुँदैन भन्ने निष्कर्षमा उहाँहरू पुग्नुभयो। त्यो निष्कर्ष अनुरूप अगाडि बढ्नका लागि सुझाव दिन हामी साथीहरू रहेको कार्यदल गठन भएको हो। कार्यदलको सुझावका आधारमा अब हामी संस्थागत निर्णय गर्दै अगाडि बढ्छौं।

कार्यदलले के–के काम गर्छ ? कार्यक्षेत्र यसका के–के हुन्छन् ?

पार्टीभित्रका समस्याहरू के के देखिए, समाधानका उपायहरू के हुनसक्छन् भन्नेमा केन्द्रित रहेर सुझाव दिने काम हो कार्यदलको। मूलतः पार्टीभित्रको आन्तरिक एकतालाई कसरी बलियो बनाउने ? देखिएका समस्या कसरी समाधान गर्ने ? र, पार्टी एकतालाई कसरी बलियो बनाउने भन्ने गरी यो कार्यदलले काम गर्छ।

महाधिवेशनसम्म कसरी जाने भन्नेमा पनि छलफल गरी प्रस्ताव बनाउँछ ?

कार्यदलले कुन कुन विषयमा कसरी छलफल गर्छ र कस्तो निष्कर्ष निस्कन्छ भन्ने विषयमा मैले अग्रिम रूपमा चर्चा गर्नु त्यति उपयुक्त नहोला। यति भन्छु– पार्टीको आन्तरिक जीवनमा देखा परेका समस्याहरू के हुन् ? आन्तरिक पार्टी एकता बलियो बनाउन के गर्नुपर्छ ? भन्ने विषयमा केन्द्रित भएर कार्यदलले छलफल गर्छ।

कहिलेसम्म तपाईंहरूले काम गर्ने, म्याद तोकिएको होला नि?

ठ्याक्कै मिति तय भएको त छैन। तर पनि छिटोभन्दा छिटो काम सकोस् भन्ने अध्यक्षद्वयको अपेक्षा छ। त्यहीअनुसार सक्दो छिटो सक्छौं।

त्यसो हो भने तपाईंहरूले आफ्नो सुझाव दुई अध्यक्षलाई नबुझाइकन र त्यसमा दुई अध्यक्षले छलफल गरी एउटा निष्कर्षमा नपुग्दासम्म पार्टीका स्थगित भएका बैठकहरू बस्दैनन्?

होइन, धेरै समय लाग्ने अवस्था छैन। कार्यदलले सकेसम्म चाँडो नै आफ्नो काम सक्छ। त्यसपछि प्रतिवेदन बुझाउँछ। त्यसपछि हामी फटाफट अगाडि बढ्छौं।

विगतमा दुई अध्यक्ष आआफ्ना जुन खालका अडानमा हुनुहुन्थ्यो, अब त्यो विषय कार्यदल बनेपछि सकियो ?

मैले त्यतातिरबाट भन्नुभन्दा पनि नेकपाको आन्तरिक जीवनमा जे समस्या देखा परेका थिए, आजदेखि ती समस्या समाधान गरेर हामी एकताबद्ध भएर अगाडि बढ्छौं भन्ने संकल्प, अठोट र साझा निष्कर्षमा दुई जना अध्यक्ष पुग्नुभएको छ। यो निष्कर्षलाई मेरो विचारमा समग्र पार्टी पंक्तिले, सबै नेता, कार्यकर्ता र सदस्यहरूले हार्दिकतापूर्वक स्वागत गरेका छन्। त्यसो हुनाले अब पार्टी एकताबद्ध भएर अगाडि बढ्छ भन्नेमा कुनै दुविधा रहेन। नेकपाको विग्रहको चाहना राख्ने, त्यस्तो शक्ति तथा प्रवृत्तिहरूले अब आफ्नो धन्दा बन्द गरे हुन्छ। शक्ति तथा प्रवृतिहरुले अब आफ्नो धन्दा बन्द गरे हुन्छ।

स्रोत अन्नपूर्ण पोष्ट