Loading... आजः ३ बैशाख २०८१, सोमबार । Monday 15th April 2024

विद्यार्थीलाई हतोत्साहित नबनाऔं

राष्ट्रिय परीक्षा बोर्डले भरखरै मात्र एसइईको परीक्षाको नतिजा प्रमाणिकरण गरि प्रकाशित गरेको छ । विद्यालयहरुले पठाएको नम्बरलाई नै ग्रेडिङ्ग गरि परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । एसइई परीक्षा हुनु भन्दा एक दिन अगाडि अर्थात् अघिल्लो साँझ मात्र कोरोनाको कारण परीक्षा स्थगीत गरेको थियो । जनस्वास्थ्य सुरक्षालाई ध्यान दिइ सरकारले बाध्यताले परीक्षा स्थगीत गर्नु परेको कुरालाई सबैले स्वीकार्नै पर्छ । सरकारले त्यति ठूलो व्यवस्थापन गरिसकेपछि अन्तिम घडिमा परीक्षा रोक्नु रहर होइन बाधयता हो भन्ने कुरालाई बुझ्न जरुरी छ ।

परीक्षा स्थगीत भएपनि विभिन्न विज्ञहरु सरोकारवालाहरुको समेत सल्लाह र सुझावका आधारमा विद्यार्थीको एक वर्षको शैक्षिक सत्रको उपलब्धिलाई खेर जान नदिनका लागि सरकारले चालेको कदम उचित थियो र छ । परीक्षाको नतिजा समेत बाहिर आइसकेपछि विभिन्न अनर्गल कुराहरु गरेर विद्यार्थीको मानसिकतामा नै असर पार्ने खालका कुराहरु गर्नु गराउनु उचित छैन । यसले गर्दा विद्यार्थीलाई हतोत्साहित बनाउने बाहेक अरु काम गर्न सक्दैन । विश्वले भोग्नु परेको विषम परिस्थितिमा सरकारले विद्यार्थीको स्वास्थ्य र शिक्षा दुबैलाई ख्याल गरि गरेको निर्णय माथि प्रश्न चिन्ह उठाउनु राम्रो हुँदै होइन ।

यस वर्ष एसइई पास गरेका विद्यार्थी र यो भन्दा पहिले वा अबका दिनमा पास गर्ने विद्यार्थीमा केही भिन्नता छैन । किनकी यस वर्षका विद्यार्थी पनि परीक्षाको अन्तिम तयारीमा थिए । उनीहरुले विद्यालयमा दिने परीक्षा दिइसकेका थिए । यस्तो अवस्थामा उनीहरुले प्राप्त गरेको नतिजामा प्रश्न गर्ने अधिकार कसैलाई छैन । विद्यालयले नम्बर पठाउने क्रममा कहिँ कतै कसैले केही बदमासी गरेका हुन सक्छन् । तर एकाधले गरेका कमीकमजोरीहरुलाई कोट्याउने क्रममा लाखौ विद्यार्थीको मानसिकता नै खलबलिने गरि सामाजिक सञ्जालदेखि प्रत्यक्ष समेत उनीहरुलाई असर पर्ने र पार्ने कार्य नगरौं ।
सूक्ष्मदृष्टि साप्ताहिक भाद्र ५ गतेको अंकमा प्रकाशित सम्पादकीय ।