प्रजिअलाई निर्देशन, मास्कको प्रयोग अनिवार्य गराउनु
सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका सबै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्नका लागि सबै नागरिकहरुलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको हो । प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठक (भिडियो कुराकानी) मा मुख्यमन्त्रीले कोरोना संक्रमण रोक्न आवश्यक सुरक्षासतर्कता अपाउन सुझाव दिनु भएको हो ।

जिल्लाको अवस्था बुझ्न र प्रदेश सरकारबाट हुन सक्ने सहयोग बुझ्न बैठक बोलाइएको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कोरोना रोकथामका लागि आवश्यक सबै कदम चाल्न निर्देशन दिनुभएको हो । नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व राज्यको भएको बताउँदै लक्षणसहितको संक्रमण बढेकोले सबै जिल्लामा उच्च सतर्कता अपनाउनु पर्ने मुख्यमन्त्री शाहीले बताउनु भयो ।
जिल्लामा हुने मेला, महोत्सव, दलहरुका कार्यक्रम बैठक र भिडभाड हुने गतिविधि रोक्न निर्देशन दिएका छन् । सबै जिल्लालाई स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर हरेक नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिनुभएको छ । प्रदेश सरकारले जिल्ला अस्पतालहरुमा अक्सिजन, कम्तिमा एउटा भेन्टिलेटर र पाँचदेखि सातवटा आईसियु बेड व्यवस्था गर्न लागेको समेत उहाँले बताउनुभयो ।
साथै वर्षायामका कारण बाढी, पहिरोजस्ता प्राकृतिक विपदवाट क्षति बढेको तर्फ चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री शाहीले उद्धार, उपचार, राहात तथा पुनस्र्थापनाका कामलाई प्रभावकारी बनाउन कुनै घटना घटेमा आवश्यक समन्वय गरी काम गर्न अनुरोध समेत गर्नुभयो ।






