Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

विद्युत अनियमितताले सास्ती खेप्दै सुर्खेती

सुर्खेत ।
नेपाल विद्युत प्राधिकरणको सुर्खेत वितरण केन्द्रको लापरवाहीका कारण सुर्खेतमा विद्युत अनियमित हुने गरेको छ । जसका कारण उपभोक्ताहरुले सास्ती खेप्नु परेको छ । लामो समय लोड सेडिङ्ग पनि नहुने तर नियमित पनि नहुने भएका कारण विद्युतका उपभोक्ताहरुले सास्ती खेप्नु परेको हो ।


विद्युत आउने र जाने प्रक्रिया नियमित जस्तै भएको छ । झ्याप्प झ्याप्प विद्युत जाने र आउने भएका कारण हैरानी खेप्नु परेको उपभोक्ताहरुले बताएका छन् । विद्युतको यो अनियमितताका कारण चिमहरु फ्यूज हुने, पंखाका क्वाइलहरु जाने, टेलिभिजनका स्क्रिनको डिस्प्ले जाने, आइसी उड्ने तथा मेसिनरी सामानहरुमा काम गर्न समस्या हुने गरेको छ ।

छिन–छिनमा बत्ती आउने–जाने, जाने–आउने भएका कारण प्रदेश अस्पताल सुर्खेतमा रोगसँग लडिरहेका आइसियूमा बसेका कृतिम स्वास लिइरहेका विरामीहरु समेत मर्कामा परेका छन् । ‘अस्पतालको आइसियूमा सास फेर्न नसकी मृत्युसँग लडिरहेका बिरामीहरुलाई कृतिम सास प्रदान गर्ने मेसिनहरु पनि झ्याप्प – झ्याप्प रोकिने गर्छन्’ अस्पतालका बालरोग विषेशज्ञ डा. नवराज केसीले बताउनु भयो । ‘बत्ति एउटा सुबिधा त हो नि भनी सम्बन्धित निकायले ध्यान नदिनु वा लापरवाही गर्नु अथवा प्राविधिक कारण देखाइ आफ्नो जिम्मेवारी प्रति उदासिनता देखाउनु भनेको विरामीहरुको लागि यमराज जस्तै बन्नु भएको’ डा. केसीले सामाजिक सञ्जालमा समेत उल्लेख गर्नुभएको छ ।
बिद्युत आपूर्तिको हातल यस्तो भएको लामो समय वितिसकेको छ । तर यस सम्बन्धमा सम्बन्धित निकायले ध्यानै दिन सकेको छैन । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा विद्युतको यस्तो हालत हुनु र समस्या समाधान तर्फ कुनै कदम नचाल्नु गैरजिम्मेवारपूर्ण भएको वीरेन्द्रनगर १० का भक्तबहादुर बोहोराले बताउनु भयो ।


समस्याको कारण बारे बुझ्दा वितरण केन्द्र सुर्खेतका प्रमुख टंकराज गिरी कोहोलपुरबाट सिष्टम जाने भएका कारण यस्तो समस्या आएको बताउनु हुन्छ । हावाहुरीका कारण जंगलमा आउने समस्या, ट्रान्समिटरले लोड धान्न नसक्नुको कारणदेखि चराचुरुङ्गीहरुको कारणले समेत विद्युत आपूर्तिमा समस्या आएको भन्दै उहाँ पन्छिन खोज्नुभयो ।