कञ्चनपुरमा चट्याङले एकजनाको मृत्यु, ३ जना घाइते
महेन्द्रनगर ।
कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ ।
मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । चट्याङ लागेर घाइते भएपछि युवकलाई उपचारका लागि धनगढी लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । उनले भने,’चट्याङबाट अन्य तीन जना घाइते भएका छन ।’
त्यसैगरी यहाँको कृष्णपुर नगरपालिकामा रहेको मछेली नदीको टापूमा फसेकी कृष्णपुर नगरपालिका-२ का मनुदेवी सार्कीलाई प्रहरीले आठ घण्टापछि सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएको जनाएको छ ।
‘घाँस काट्न गएका बेला नदीमा पानीको बहाव बढेपछि मनुदेवी नदीको टापूमा फसेको खबरपछि जिल्लाबाट विपद् व्यवस्थापनको टोली गएर उद्धार गरेको हो,’ प्रवक्ता थापाले भने, ‘उनको मध्यराति सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएका हौं ।’






