नगरपालिकाको निर्णय गलत भन्दै व्यापक विरोध
सुर्खेत ।
आज भाद्र १७ गते पूर्णिमा तिथि । आजकै दिनदेखि हिन्दु धर्मालम्बीहरुले दिवंगतहरुको सम्झना स्वरुप गरिने सोह्रश्राद्ध सुरु । हिन्दु धर्म अनुसार सोह्रश्राद्ध निकै महत्वपूणर्ए मानिन्छन् । दिवंगत पितृहरुलाई तर्पण दिएर उनीहरुको आत्माको शान्तिको काम गरिने श्रद्धाभाव देखाउने भएकोले पनि यसको विशेष महत्व छ । तर सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भने १६ गतेका दिन बसेको बैठकले गरेको निर्णय प्रेस विज्ञप्ति नै जारी गरेर सार्वजनिक गरेपछि अहिले व्यापक विरोध भइरहेको छ ।
नगरपालिकाले आफ्नो निर्णयमा भनेको छ, ‘ यही मिति २०७७ साल भाद्र १७ गतेदेखि हुने पितृपक्ष (सोह्र श्राद्ध) को अवधिमा पुरोहितहरुलाई घरघरमा नबोलाई आफ्ना पितृहरुलाई श्रद्धा सुमन अर्पण गरिदिन सम्पूर्ण नगरवासीमा अनुरोध गर्ने र नगर क्षेत्रमा जजमानी गर्नु हुने पुरोहित ज्यूहरुलाई घरघरमा नजान अनुरोध गर्ने । यदि कसैले मानिसहरुको जमघट गरि पूजाआजा र पितृकार्य गरेको पाइएमा पुरोहितहरुलाई क्वारेन्टाइनमा राखिने र त्यस्तो कार्यको लागि जमघट गरेको घरपरिवार शील गर्ने । निजहरुलाई ७ दिनपछि कोरोना परीक्षण गरेर मात्र समुदायमा घुलमिल हुन दिईने र परीक्षण वापतको खर्च निजहरु स्वयम्ले व्यहोर्नु पर्ने’ निर्णय सार्वजनिक भएपछि यतिबेला नगरपालिकाको निर्णयको व्यापक विरोध भइरहेको छ ।
विरोध गर्नेहरुले भनेका छन्, ‘यस्तो गम्भीर प्रकृतिको निषेधात्मक आदेश गरेको भन्दै नगरपालिकाको विरोध भएको छ । वीरेन्द्रनगर नगरपालिकाले देशभरका स्थानीय सरकारलाई कस्तो पद्धतिमार्फत समाजमा विखण्डन निर्माण गर्न खोजेको समेत आरोप लगाइएको छ । बबईवाट कर्णाली प्रदेश प्रवेश गर्दा निःशुल्क स्वाव लिएर घर पठाउने पितृकार्यमा रोक लगाउनले कोरोनाको जोखिम रोक्नु भन्दा पनि समाजमा भडकाउका कार्य गरेको आरोप लगाइएको छ । लहड र सनकवाट गरिएका सवै अपरिपक्व निर्णयहरूको खारेजीको माग समेत गरिएको छ ।’
तर यता सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको समेत उपस्थितिमा ब्राह्मण समाज सुर्खेतले विभिन्न ७ बुँदे आचार संहिता निर्माण गरेको छ । आचार संहितामा कर्मकाण्ड गर्ने गराउनेहरुले भौतिक दुरी कायम गर्नुपर्नेलगायतका आचार संहिता निर्माण गरेको छ ।
नगरपालिकाले गरेको यस निर्णयबाट हिन्दुधर्मालम्बीहरुमा ठेस पुगेको भन्दै उक्त निर्णयको आलोचना भइरहेको छ । यसैगरि विदेशबाट आएका नागरिकहरु ‘नगरपालिकाले तोकेको स्थानमा सशुल्क आइसोलेशनमा बस्ने’ निर्णय समेत नगरपालिकाले गरेको छ ।
नगरपालिकाको विज्ञप्ति

ब्राह्मण समाजको आचार संहिता







