Loading... आजः ११ आश्विन २०८३, आईतवार । Sunday 27th September 2026

दैनिक नयाँ मानिस थपिँदा कोरोनाको जोखिममा कारागार

सल्यान |

जिल्ला कारागार सल्यानमा रहेका कैदीबन्दीमा कोरोनाको जोखिममा रहेका छन्। दैनिकजसो  कारागारमा ल्याइने नयाँ व्यक्तिबाट संक्रमण फैलिन सक्ने डर रहेको कारागार सल्यानले जनाएको छ।  परीक्षण नगरी नयाँ व्यक्ति कारागार चलान गर्ने र नयाँ पुराना कैदीबन्दी एकै ठाउँमा राख्दा जोखिम बढेको कारागार सल्यानका जेलेर बल बहादुर केसीले बताए।

उनले भने, ‘लकडाउनको मौका पारी प्रहरीले अहिले फरार सूचीमा रहेका व्यक्तिलाई पक्राउ गर्दै कारागार पठाइरहेको छ। तिनीहरुको पिसिआर परीक्षण बिना पुरानो कैदीबन्दीसँग राख्दा कोरोना जोखिम रहेको छ।’  एक महिनाको बीचमा मात्र प्रहरीले फरार सूचीमा रहेका ४२ जनालाई पक्राउ गरी कारागार पठाएको छ।

२० जना कैदीबन्दी अट्ने कारागारमा अहिले १ सय ४४ भन्दा बढी कैदीबन्दी छन्। क्षमताभन्दा बढी कैदीबन्दी राखिएको कारागारमा नयाँ आउनेलाई छुट्टै व्यवस्थापन गर्ने स्थानसमेत नभएको वलीको भनाइ छ। उनले भने, ‘कारागारमा पहिले नै क्षमताभन्दा बढी कैदीबन्दी छन्।

अब नयाँ आउनेलाई छुट्टै व्यवस्थापन गर्न समस्या छ। सुरक्षाकर्मीले पक्राउ गरेर ल्याएपछि क्वारेन्टाइनमा राख्न मिलेन, राखौं कोरोनाको जोखिम उत्तिकै छ।’ सल्यानमा हालसम्म समुदायमा कोरोना भाइरस फैलिएको छैन। जिल्लामा हालसम्म ३ सय संक्रमित हुँदा २ सय ५७ जना निको भएर घर फर्किसकेका छन्। ४३ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ।