जाजरकोट–डोल्पा सडकको निरीक्षण
- 1.9Kshares
- Viber
- Facebook Messenger
जाजरकोट |
जाजरकोट–डोल्पा सडकखण्डको निरीक्षण गरिएको छ । सरकारी कामलाई बाधा नपुग्ने गरी शनिबारको बिदालाई सदुपयोग गर्दै जाजरकोट–डोल्पा सडकखण्डको निरीक्षण गरिएको हो ।
वर्षायाममा भत्किएको सडकको क्षति र पुनःनिर्माण गर्नुपर्ने स्थानका साथै यात्रुहरुले भोग्नुपरेको पीडाका बारेमा समेत प्रमुख जिल्ला अधिकारी चेतराज बरालको नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको हो । सडकखण्डभित्र निर्माण हुने सातवटा पुल निर्माणस्थलको समेत निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।
त्यस्तै पासागाडबाट चिसापानीसम्म पहिलो चरणमा कालोपत्र हुन लागेको सडकको अवस्थासमेत निरीक्षण गरिएको थियो । गाउँगाउँमा टेलिफोनको पहुँचको अवस्थाका बारेमा समेत स्थानीयवासीसँग छलफल गरिएको छ । नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाको भू–भागलाई समेटेर निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजना (४१७) निर्माणस्थलको अवस्थाबारे समेत जानकारी लिएको सहायक प्रजिअ रेग्मीले जानकारी दिनुभयो ।
उहाँले भूमिगत विद्युत् उत्पादनगृहमा सुरुङ निर्माणको कामको पनि निरीक्षण गरिएको बताउनुभयो । चार सय केभी प्रसारण लाइनको सबस्टेशन निर्माणस्थल नलगाड नगरपालिका–७ मा दानीपिपलको समेत अवलोकन गरिएको छ । दैनिक यो सडकखण्डमा चल्ने यातायातका साधनबाट स्थानीयवासीमा परेको मर्काका विषयमा सूक्ष्म निरीक्षण गर्नुका साथै नलगाड नगरपालिका जनप्रतिनिधिसँग छलफलसमेत भएको छ ।
नजिकिँदै गरेको दशैँ र तिहारजस्ता ठूला पर्वमा कोरोना, बजारमा हुने महँगी र म्याद सकिएको सामग्रीबाट जनसाधारणमा पर्ने प्रभावका विषयमा समेत अनुगमन गरिएको छ । जाजरकोट भएर डोल्पा सामग्री तथा अन्य निर्माणको सामग्री जाने भएकाले सो कार्यलाई समेत कडाइका साथ अनुगमन गरिएको उहाँको भनाइ छ । यो प्रक्रियालाई अझै जोड दिइने उहाँको भनाइ छ । रासस
- Total: 1.9K
- Viber
- Facebook Messenger