महिला मुक्ति आन्दोलनकी धरोहर ‘क्लारा जेट्किन’ को जीवनी
हुने बिरुवाको चिल्लो पात भनेझैँ सामान्य परिवारमा जन्मिएकी क्लारा जेट्किन सानैदेखि मेहनती, लगनशील र निडर स्वभावकी हुनुहुन्थ्यो । उहाँको बाल्यकाल सामान्य रूपमा बित्यो । उहाँका बुबाआमा शिक्षण पेसामा आबद्ध थिए । परिवारमा अरू आम्दानीको स्रोत नहुँदा आफँैले कमाएर उच्च शिक्षा हासिल गर्नुपर्ने बाध्यता थियो क्लारालाई । माध्यमिक शिक्षामा कक्षामा सर्वोत्कृष्ट गरे पनि महिला भएका कारण उहाँ जर्मन विश्वविद्यालयहरूमा भर्ना हुन पाउनुभएन, न त उहाँको परिवारले महिलाले अध्ययन गर्न पाउने वातावरण रहेको स्थान स्विट्जरल्यान्ड पठाउन नै सके । त्यसैले प्रारम्भिक शिक्षा हासिल गरेपछि उहाँ पनि शिक्षण पेसा अर्थात् बच्चा हेर्ने काममा आबद्ध हुनुभयो ।
उहाँ १९ औँ शताब्दीको अन्त्यतिर फ्रेडरिक एङ्जेल्स, विलियम लिङ्टेचट, अगस्त बेबल आन्दोलनका नेतृत्वहरूसँग निकै नजिकिनुभयो । त्यसै क्रममा रोजा लक्जेम्बर्ग कार्ल लिब्नेच्टसँग पनि नजिक हुनुभयो । तसर्थ जर्मनीमा कम्युनिस्ट पार्टीको स्थापना गर्न सहयोग गर्नुभयो । क्लारा बोल्सेभिक पार्टीको दृढ समर्थक हुनुहुन्थ्यो र लेनिनसँग उहाँको बलियो ऐक्यबद्धता भयो । त्यसैले लेनिनले क्लारालाई उच्चस्तरमा पु¥याउनुभयो । क्लाराले जर्मन नागरिक ओसिपसँग बिहे गर्नुभयो र दुई सन्तान छोरालाई जन्म दिनुभयो ।
वैवाहिक जीवनले उहाँलाई राजनीतिक यात्रा र महिला मुक्ति आन्दोलनमा लाग्न कत्ति असर गरेन । उहाँ लगातार महिलाको मुक्तिका पक्षमा लागिरहनुभयो । अविवाहित महिलाहरूलाई मतदानको अधिकारसम्म नभएकाले माइतीघरमा रहँदासम्म भोट दिने अधिकारबाट वञ्चित गरिन्थ्यो । महिलाको सम्पूर्ण अधिकार पुरुषको हातमा हुन्थ्यो । महिलालाई सधैँ दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गरिन्थ्यो । पुरुषको अनुमतिबिना कहीँ जान रोक लगाइन्थ्यो । सम्पूर्ण सम्पत्तिको हर्ताकर्ता पुरुष नै हुन्थ्यो भने माइतीबाट ल्याइएको सबै सम्पत्ति पुरुषले नै प्रयोग गर्थे । यस्तो अवस्थामा क्लारा जेट्किनमा माक्र्सवादप्रति लगाव पहिलेदेखि नै विकास भइसकेकाले त्यो समयमा महिलाहरूलाई कानुनी रूपमा राजनीतिक पार्टीहरूमा सहभागी हुन प्रतिबन्ध भए पनि क्लारा सन् १८७८ मा जर्मन सामाजिक जनवादी पार्टीमा सामेल हुनुभयो ।
कानुनी रूपमा भने सन् १९०८ मा मात्र जर्मनीका राजनीतिक पार्टीहरूमा महिलाहरूलाई सामेल गराउने अनुमति प्राप्त भएको थियो । कानुनी रूपमा सबैभन्दा धेरै दमन थियो श्रमिक महिला वर्गमाथि । उनीहरूले एउटा लैङ्गिक र अर्को वर्गीय गरी दोहोरो दमनको सामना गर्नुपथ्र्यो । श्रमिक वर्गको आन्दोलन चर्किंदै गएको थियो र सफलता पनि हासिल गरिरहेको थियो । विडम्बना ! त्यो सफलतालाई विस्मार्कले समाजवादविरोधी कानुन ल्याएर निर्मूल पार्ने प्रयत्न गर्यो । त्यो व्यवस्था सन् १८७८ देखि १८९० सम्म कायम रह्यो । यस्तो किसिमको कानुनको सुरुआतसँगै सामाजिक जनवादी पार्टीमाथि बन्देज लगाइयो । त्यसपछि क्लारा निर्वासित भएर पेरिस जानुभयो । त्यहाँ अर्का निर्वासित ओसिप जेट्किनसँग उहाँ अनौपचारिक सम्पर्कमा रहनुभयो ।
ओसिप जेट्किनबाट दुईवटा सन्तान जन्माइसकेको भए पनि जर्मन नागरिता कायमै राख्नका निम्ति क्लाराले अविवाहित रूपमा रहने निर्णय लिनुभयो । उहाँ त्यस समयको पुरुषको नियन्त्रणमा रहने चलन नस्वीकार्ने स्वभावकी भएकाले विवाहको कानुनी मान्यतालाई त्याग्नुभयो । त्यसको दस वर्षपछि टीबी रोगका कारण ओसिपको मृत्यु भयो । मृत्यु नहुन्जेल उहाँहरू सँगै बस्नुभयो । ओसिप बिरामी भएपछि क्लाराले विभिन्न कठिनाइ र गरिबीको सामना गर्नुपर्यो । काम पाउन निकै गाह्रो थियो ।
क्लाराले पुँजीवादको ध्वंस र समाजवादको उदयबिना महिला जातिको मुक्ति सम्भव छैन भन्ने घोषणा गर्नुभयो । अर्को वर्ष विस्मार्कको समाजवादविरोधी कानुनलाई नवीकरण गर्न त्यहाँको संसद्ले अस्वीकार गरेका कारण क्लारा र अरू कम्युनिस्टहरू जर्मनी फर्कन सफल भए । क्लाराले सन् १८९२ देखि १९१६ सम्म ग्लेथिट (समानता) नामक महिलासम्बन्धी पाक्षिक पार्टी प्रकाशनको सम्पादन गर्नुभयो । यसले सम्पूर्ण महिलाहरूलाई कम्युनिस्ट आन्दोलनमा सामेल गराउने साधनका रूपमा कार्य गर्यो । यो अन्तर्राष्ट्रिय स्तरमा नै उल्लेखनीय प्राप्ति थियो । जर्मनीका श्रमिक महिलाहरूबीच उल्लेख्य साङ्गठनिक कार्यहरू गर्नुभयो । अन्तर्राष्टिय समाजवादी महिला सम्मेलन गर्ने २–२ वर्षमा जर्मन पार्टीमा गरिएका महिला सम्मेलनले ठूलो सहयोग पुर्यायो । महिला विभागको आन्तरिम केन्द्रको विकासमा समेत सहयोगी भयो । क्लाराले सन् १८१० मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उहाँले गर्नुभएका कामहरूले समाजवादी क्रान्तिको आवश्यकतालाई आन्दोलनको श्रमिक वर्गीय स्वरूपलाई अग्रपङ्क्तिमा राख्यो । जर्मन समाजवादी पार्टीले पहिलो विश्वयुद्धमा जर्मन साम्राज्यवादी सत्तासीन वर्गका पक्षमा खडा भएर समाजवादी सिद्धान्तप्रति गरेको विश्वासघातका विरुद्ध गठन भएको विद्रोही पार्टीमा क्लारा सन् १९१५ मा सोही पार्टीको सदस्य बन्नुभयो ।
विद्रोहीहरूले नयाँ रूप दिन लागिपरेर सन् १८१८ डिसेम्बर ३० मा जर्मन कम्युनिस्ट पार्टीको स्थापना भयो । स्थापना भएको दुई सातापछि पार्टीका अध्यक्ष तथा सामाजिक प्रजातान्त्रिक सरकार प्रमुख फ्रेडरिक अल्बर्टको आदेशमा यही पार्टीका नेताहरू रोजा लक्जेम्बर्ग र कार्ल लिब्नेचटको हत्या गरियो । यसले आन्दोलनलाई ठूलो धक्का दियो । पहिलो विश्वयुद्धपछि प्रजातान्तिक समाजवादी श्रमिक वर्गको गद्दारी र विश्वासघातको सिकार बन्यो एसिया र युरोपका महिलाहरूको अवस्था । महिलाहरूको समानताका लागि सर्वहारावादी सङ्घर्ष र आन्दोलनलाई अगाडि बढाउनुपर्ने आवश्यकताका बारेमा सन् १९२० मा क्लाराले लेनिनसँग महत्वपूर्ण छलफल गर्नुभएको थियो । नयाँ जर्मन कम्युनिस्ट पार्टी तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियमा सहभागी भयो । उनीहरू शक्तिशाली भएर संसद्मा निर्वाचित पनि भए । क्लारा त्यहाँको संसद्को कम्युनिस्ट सदस्यहरूमध्ये सुप्रसिद्ध सदस्य हुनुभयो । सन् १९२० देखि १९३२ सम्म त्यसैमा रहनुभयो ।








