Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

कर्णालीका महिलाको कथा

शिला भर्खर १८ वर्ष पुगिन । उनको विवाह १४ वर्षको उमेरमा नै भयो । भौगोलिक विकटता, चेतनाको कमि र अशिक्षाका कारण अनजानमै विवाह गरिन् । विवाह भएको केही दिनसम्म त दुवैको मायाँ, सम्बन्ध र व्यवहारले जुगौजुगसम्म यसरी नै अगाडी बढिरहने र बाँची रहने सपनाहरू थियो । तर, उनीहरूका सपना विस्तारै धमिलो हुन थाले ।


विवाह गरेकै कारण शिलाले विद्यालय छाड्न बाध्य भईन् । आफूसँग जीविकाको कुनै बाटो छैन । न सिप र दक्षता नै थियो । छ त केवल अपरिपक्क शरीर । त्यहि पनि अर्काको घरमा हरेक दवाव र पीडाको सुरूवाती त्यहि दिनदेखि सुरू भयो, शिलामाथीको ज्यादती । विवाह भएको एक वर्षमा उनी आमा बनिन् । झन् अभावहरू थपियो । बच्चाले बच्चा जन्माएपछी त्यो भन्दा पीडा र अभाव अरू के होला र ? शिला कर्णालीकी एक पात्र हुन् । कर्णालीमा शिला जस्तै पीडा अभाव भोग्ने कैयौ शिलाहरू छन् ।

नेपालभित्र पनि अन्य प्रदेश तथा क्षेत्रको तुलनामा कर्णालीका महिलाहरू बढी हिंसामा छन् । भोक, रोग र गरिबी जहाँ छ, त्यहाँ बढी हिंसा हुन्छ । महिला हिंसाका घटनाहरू शहरको तुलनामा गाउँमा बढी छन् । त्यसमा पनि भौगोलिक विकटता, खाद्यन्नको अभाव र चरम गरिबीले पनि कर्णालीको ग्रामीण महिलाहरू बढी समस्यामा हुने नै भए ।

सानो उमेरमा नै विवाह, आर्थिक स्थिति कमजोर र दण्डहीनताको कारणले पनि कर्णालीका महिलाहरूमा विभिन्न खाले हिंसा बढेको मैले महसुस गरेको छु । महिलालाई अझैसम्म पुरूषले घरको काम गर्ने र छोराछोरी जन्माउने मेसिनका रूपमा हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न नसक्नु अर्को एउटा कमजोरी हो ।

विवाह गरेपछी जति प्रयत्न गरेपनि बिवाह नगरे झैँ गरि व्यक्तित्वको विकासलाई अघि बढाउँन सकिदैन । त्यसैले पनि कलिलो उमेरमा नै आमा भएपछी शारीरिक हिसाबले बच्चा र आमाको स्वास्थ पनि जोखिममा छ । कति बालिकाहरूको उमेर सानै भएकाले बच्चा जन्माउन नसकेर ज्यान गएको घटनाहरू पनि प्रसस्तै देख्न र पढ्न पाईन्छ ।

बालविवाहले गर्दा सन्तान जन्माउने अवधि पनि लामो हुने गर्दछ । यसैको नियन्त्रणको लागि जथाभावी रूपमा प्रयोग गरिने परिवार नियोजनका अस्थाई साधनले पनि स्वास्थ्यमा प्रतिकुल असर गरेको छ । हातमा सिप र मस्तिकमा सिर्जना नभएका जीवन सफल हुन कठिन छ । कर्णालीका गाउँहरू चहार्ने हो भने पनि बालविवाहका कारणले गर्दा महिलाहरू धेरै अवसरबाट बञ्चित भएको पाउन सकिन्छ ।
कोरोनाको समयमा धेरै समय गाउँमा बित्यो । अधिकांस महिलाहरू खेतीपातीमा व्यस्त थिए । तर घरमा पुरूषहरू तासमा मग्न देखिन्थे । कोही भट्टीमा मदिरा सेवन गरिरहेका हुन्थे । यो एउटा पितृसत्तात्मक चिन्तनले जरो गाडेको परिणाम हो । पुरूषले जहाँ, जे गरे पनि हुन्छ ।
नेपालमा महिला माथि अन्याय परापूर्व कालदेखी नै हुँदै आएको छ । तर कुसस्कारलाई सबैले मान्दै आएको पाईन्छ । हाम्रो धर्म, संस्कृति, रितीरिवाज, सामाजिक विधि र व्यवहारमा पनि महिलालाई पछाडी नै पारेको देखिन्छ । कर्णालीका विकट गाउँका महिलाहरू उमेरले २५ देखी ३० वर्षका भएपनि ५० वर्ष कटेको जस्तो देखिन्छन् । किनकी उनीहरूको सानै उमेरमा विवाह, भोक, रोग, गरिबीको पीडा र कामको बोझ पनि हो, कलिलै उमेरमा बुढौली देखिनुको अर्को कारण ।

अर्को कुरा अहिले पनि महिला महिनावारी हुँदा छाउ गोठमा बस्नुपर्ने बाध्यता छ, कर्णालीमा । यसको मतलव हाम्रो समाजमा अझै पनि पुरूषत्व सोच हावी नै छ । छुइ हुँदा महिला कमजोर हुन्छन् । त्यस समयमा स्याहार, पौष्टिक आहार र सरसफाईको आवश्यकता पर्दछ । ती कुराहरू परिवारबीच किन छलफल हुँदैनन् ? महिला पनि मानव हो । उसलाई पनि हेरचाह र मायाँ चाहिन्छ । तर हामीले घरभन्दा धेरै टाढा झुपडीमा राख्छौं । अनि उनीहरूको ज्यान त्यही सकिन्छ । यसरी प्रत्येक महिनामा महिलाहरू झुपडीमा थुनिन बाध्य छन् ।

शास्त्र भन्छ – सम्मानका दृष्टिले दश उपाध्यायभन्दा आचार्य, सय आचार्यभन्दा पिता र हजार पिता भन्दा माता श्रेष्ठ हुन्छिन् । अन्य धर्म शास्त्रदेखि नीति शास्त्र हुँदै सनातन शास्त्रहरू यसै भन्छन्, महिलाबारे । सिर्जना, कर्म र दयाकी खानी भएकीले पनि उनी सबैभन्दा माथि पर्न सकेकी हुन् । अर्थात् महिलाको समकक्षतामा अहिलेसम्म अन्य कुनै प्राणी पुग्न सकेको छैन यही कारण ।

तर तिनै महिलामाथि हेर्ने दृष्टिकोण विभेदपुर्ण छ । आफैले गरेको उत्पादन टुलुटुलु हेरेर बस्नुपर्छ । आफैले हुर्काएको चल्ला, बाख्राको पाठो बेच्ने अधिकार ति महिलासँग छैन । कुनैपनि कुराको सीमा हुन्छ । यसरी साक्षी बस्नु पर्ने कहिलेसम्म ?

जसले महिलाको पहिचान संकटमा पारेको छ । मर्यादा र इज्जत अपहेलित भएको छ । आफ्नो मन अध्यारो पारेर भएपनि घर उज्यालो बनाउन लागि पर्ने महिलाहरू हरेक दिन प्रताडित छन्, विभिन्न बहानामा । हिंसाको चपेटामा परेका छन् । अनि हरेक कुरामा पुरूषको भर पर्न बाध्य पारिएको छ ।

छोरी भएर जन्मेको ११ र १२ वर्षमा नै शारीरिक बृद्धि र विकासमा परिवर्तनहरू हुन थाल्छन् । अनि यस्ता बच्चा माथि अमानवीय व्यवहार देखाउने हाम्रो समाजमा हुर्किएका हामी र हाम्रो जीवन कसरी खुसी र सुखी हुन्छ ?
सामाजिक कुरीतिका रूपमा रहेको यस्तो प्रथालाई बचाएर हामीले किन हाम्रा सन्ततिलाई जिउदै मारिरहेका छौ ? समाज परिवर्तन गर्न हिडेका हाम्रा अग्रजहरूको कुरा एउटा, काम अर्को भएपछी कसरी समाज सकारात्मक तिर जान्छ ? यस्ता अनगिन्ती प्रश्नहरू हाम्रो सामु छन् ।
एउटी नारीलाई जिउँदै चितामा जलाएर रमिता हेर्नेहरूका सन्तान भएर होला हाम्रै सन्ततिको भविष्य जोखिममा पार्ने कुरीति र कुप्रथालाई जतन गरेर राखिरहेका हुन्छौ । त्यहि भएरपनि हामी पछी परिरहेका छौ ।

हाम्रा कतिपय कुप्रथाका भारीले अघि बढ्न दिईरहेको छैन । हाम्रो विकास र समुन्नतिको लागि हाम्रा यिनै परम्परा र कुरीतिहरू हाम्रा निमित्त विषालु सर्पलाई दुध खुवाएर पाले झैँ प्रश्रय दिईरहेका छौं । कर्णालीका चेलीका निमित्त बालविवाह, विकास र समुन्नतिका दृष्टिकोणले ठुलै बाधकका रूपमा देखापरेको छ ।

अब, हामीले घरभित्रकै संस्कार परिवर्तन गर्नुपर्छ । हाम्रा छोरीहरूलाई कन्यादान गर्ने चलन हटाउनुपर्छ । किनकी छोरी वस्तु हैन दिनलाई । विवाहमा कन्यादन भनेको छोरीहरूलाई वस्तु जसरी दान गरेको हो । छोरी माथी हामीले गरेको हिंसा हो, त्यो । त्यस्तो घटिया काम गर्दिन भनेर अठोट लिनुपर्छ र हटाउन पनि पर्छ । यसले पनि सामाजिक रूपान्तरणमा भूमिका खेल्छ ।

वास्तवमै भन्ने हो भने हाम्रो समाज महिलाले नै टिकाएका छन् । घरभित्र पुरूषलाई पनि कसरी राख्ने ? पुरूषका हरेक काममा कसरी समानता ल्याउने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

कुनैपनि हिंसात्मक कृयाकलापले परिवार, समाज र विकासमा प्रत्यक्ष असर पार्ने भएकाले अब हामी आफै सजग हुन जरूरी छ । नेपाली समाजमा व्याप्त पुरूषको मानसिकतामा सकारात्मक परिवर्तन हुन जरूरी छ । महिलाहरूको शहनशिलता, लगनशिलता र श्रमको सम्मान सहित कदर गर्नुपर्छ । महिलाहरूलाई शिक्षा चेतना दिनुको साथै विद्यालय स्तरदेखी नै महिलामैत्री पाठ्यक्रमको निर्माण गरिनुपर्छ ।

देशमा कानून बनाएर मात्र हुँदैन, कार्यान्वयनका पक्ष बलियो हुनुपर्छ । कानून सबका लागि समान हुनुपर्छ । भनसुन र पैसामा बिक्ने हुनुहुँदैन । कर्णालीका विपन्न र दुरदराजका महिलाहरूको खुसी र समृद्धिका लागि अनुशासित समाज निर्माण गर्नका लागि प्रत्येक महिलाहरूले आफ्नो हक, अधिकार र कर्तव्य के हो ? कसरी अन्याय हुनबाट जोगिन सकिन्छ भन्नेबारे शिक्षित, चेतनशील, सभ्य र अनुशासित हुन आवश्यक छ । महिलालाई सवैले सम्मान गर्न सक्नु र सिक्नुपर्छ ।