Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

कर्णालीका संस्कृतिःअमूल्य सम्पत्ति

नेपाली भाषा संस्कृत भाषा भन्दा पछि नै विकसित भएको हो । साविकको खस राज्यमा बसोबास गर्ने ब्राह्मण क्षेत्रीहरुले बोलचोलको भाषाको रुपमा प्रयोग गरेको खस भाषा नै नेपाली भाषा भएकोले नेपाली भाषालाई खस भाषा पनि भनिन्छ । नेपाली भाषाको विकास र विस्तार हुनु भन्दा अघि नै नेपाली साहित्यको विकास र विस्तार भएको थियो । किनकी नेपाली साहित्यको आधार भनेको संस्कृत साहित्य हो । संस्कृत भाषा विश्वकै पूरानो भाषा भएको मान्यता छ । त्यसैले नेपाली साहित्यको विकास र विस्तारलाई मनन् गर्नका लागि भाषाको पनि विवेचना गर्नैपर्छ ।


यहाँ उठान गर्न खोजिएको विषय भने साहित्य र संस्कृतिको छ । कर्णाली नेपाली भाषाको उद्गमस्थल भएकोले यहाँको साहित्य र यहाँका संस्कृतिलाई हेर्न आवश्यक छ । कर्णालीमा गाइने झोडा, चुटिकलो, फाग, माँगल, चरन, देउडा, रत्यौली गीत यहाँका संस्कृति हुन् । आजभोलि कर्णालीका संस्कृतिका रुपमा रहेका झोडादेखि माँगलसम्म हराउने अवस्थामा पुगेका छन् । यहाँ लाग्ने जात्रा, मेला पर्वहरु कर्णालीका धरोहर हुन् । जसलाई हामीले सम्पत्तिको रुपमा संरक्षण गर्न आवश्यक छ ।

अर्कोतर्फ बालोनाच, चोपाई, ढाल, खाँडो, भैलोजस्ता संस्कृतिको संरक्षणको लागि प्रदेश सरकार मात्र होइन स्थानीय सरकारले समेत कुनै कदम चालेका छैनन् । हामीले हाम्रा संस्कृतिलाई जोगाउनका लागि खेल्नु पर्ने भूमिका खेल्न सकेनौ भने भविष्यमा इतिहासका पानामा पढेर पछुताउनु बाहेक अरु उपलब्धी हुने छैन । विशेष गरि पाकाहरुबाट सिकेर युवाहरुले संस्कृति जोगाउनका लागि पहलकदमी चाल्न आवश्यक छ ।

मञ्चमा भाषण गर्दा होस् या चियापसलमा गफिदा होस् हामी हाम्रो संस्कृतिको बारेमा निकै ठूला कुरा गर्छौ तर त्यसलाई जोगाउनका लागि किन पहलकदमी चाल्दैनौ भन्ने तर्फ सोच्न जरुरी छ । भनिन्छ संस्कृति हराए पहिचान हराउँछ र पहिचान हराए हामी पनि हराउँछौ । हाम्रो संस्कृति हराउन थालिसकेको छ । पश्चिमहरुको प्रभावले हामीले संस्कृति बिर्सिसकेका छौ । अब पहिचानको कुरा छ । अहिले जुन पहिचान छ त्यसलाई जोगाउँदै संस्कृतिको जगेर्नामा लाग्नका लागि सरोकारवाला निकायहरुबाट समेत आवश्यक बजेट तथा पहल हुनु आवश्यक छ । हाम्रो मौलिकता, संस्कृति, भाषा र साहित्यले हाम्रो अस्तित्व राखेको छ । जन्मदिनमा काटिने केक होस् कि तीजमा नाचिने डिस्कोका गीत हुन । जसले आफ्नो संस्कृतिलाई नै निल्दैछ त्यसैमा हामी किन जोड दिइरहेका छौ । कला, संस्कृति र साहित्यबाट मुलुकको विकास हुनुमा खस साम्राज्य कालको महत्वपूर्ण भूमिका छ । के विगतलाई चटक्कै विर्सन सकिन्छ र ? के विगतको जगेर्ना गर्नै हुँदैन र ? आधुनिकताका नाममा हामीले भुल्दै गरेको संस्कृति, पहिचान र पहिरन समेत भूल्दै गर्दा एकदिन आफैलाई भुल्ने अवस्थाको सिर्जना भयो भने के होला । कर्णालीको ठाडो भाका होस् कि देउडाबाटै सवाल जवाफ गर्न सकिने हाम्रा गायनशैली हराउँदै गएका छन् । तर हामीले देउडालाई वाद्यवादन र सङ्गीतमा ढालेर सार्वजनिक रुपमा उठान, प्रचारप्रसार एवम् व्यापक बनाउँदै लैजान सक्ने हो भने यसले पर्यटकीय विकाससँगै आर्थिक विकासमा समेत टेवा पु¥याउने कुरामा दुईमत छैन ।

कर्णालीमा गाइने देउडाले यहाँको पाखा पखेरा, छाँगा छहरा, लति र लतिकासँगै यहाँको भूमि अनि कर्णालीवासीको जीवन कथा पत्र –पत्र पारेर केलाउँछन् । वास्तविकता ओकल्छन र पहिचान देखाउँछन तर पनि यसलाई बचाउनुपर्छ भन्ने चासो नवपुस्तामा देखिएको छैन । यहाँको साहित्य, कला, भाषा र संस्कृति बचाउन सरकारी पहल हुनुपर्नेमा केवल विकासका नाममा सडक, पुल पुलेसा र भवन मात्र हुने भन्ने सोचबाट कर्णाली प्रदेश सरकार र स्थानीय सरकारहरु मुक्त हुन सकेका छैनन् ।

अब हामीले ढिला गर्नु हुँदैन । कर्णालीको कला, संस्कृति, साहित्य र भाषाको संरक्षण एवम् प्रवर्द्धनतर्फ अझैँ पनि नलाग्ने हो भविष्यमा यसको अवशेष समेत भेटाउन सकिने छैन । कर्णालीमा लोपोन्मुख रुपमा फिरन्ते जीवन विताइरहेको राउटे जातीलाई संरक्षणको जत्तिको खाँँचो छ कर्णालीको साहित्य र संस्कृतिलाई जोगाउन पनि त्यत्तिकै खाँचो रहेको छ ।

यहाँका ढोलक, मादल, दमाहा, ट्याम्का, सहनाई, नरसिंङ्गा जस्ता बाजाहरुको उचित संरक्षण र सम्बद्र्धन हुन आवश्यक छ । कर्णालीको कला, संस्कृति, रीतिरिवाज, भेषभूषाको पहिचान, खोज अनुसनधानसँगै संरक्षणमा समेत दायित्वबोध हुन आवश्यक छ । कर्णाली कला, साहित्य र संस्कृतिको धनी मात्र नभई मुलुकको राष्ट्रभाषाको जननी पनि भएकाले कर्णालीका संस्कृति, भाषा, कला र साहित्यप्रेमी युवालाई भेला गरी यिनको पहिचान, संरक्षण र प्रवद्र्धनका लागि नीतिगत रुपमा अघि बढ्न अब ढिला गर्नु हुँदैन ।