Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

कर्णाली बनाउन युवा जाग्नै पर्छ

स–साना राज्यमा चारै तर्फ छरिएर रहेका बाइसे चौविसे राज्यलाई एकिकृत गरेर राजा पृथ्वीनारायण शाहले आजको नेपालको निर्माण गरेका हुन् । उनले आजको नेपालको निर्माण नगरिदिएको भए आज नेपाल यो अवस्थामा हुने थियो या थिएन यसै भन्न सकिदैन । अझ विश्लेषणात्मक रुपमा भन्नुपर्दा नेपाल रहने थियो या थिएन भन्ने कुरा महत्वपूर्ण छ । किनकी पृथ्वीनारायण शाहले निर्माण गरेको पुरै नेपाललाई हामीले जोगाएर राख्न सक्यौ कि सकेनौ त्यसलाई पनि विश्लेषण गर्नु जरुरी छ ।


आज राष्ट्रिय एकताको प्रतिकको रुपमा पृथ्वीनारायण शाहलाई मान्न तयार नहुनेहरु पनि छन् । तर म भने उनलाई राष्ट्रिय एकताको रुपमा सम्मान गर्छु, यो मेरो व्यक्तिगत विचार हो । राणाहरुले देशलाई विकासका क्षेत्रमा पछाडि धकेले । तर उनीहरुले गरेका सकारात्मक कुरालाई हामीले कहिल्यै विश्लेषण गरेनौ । आज देशमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ । यो गणतन्त्रसम्म आइपुग्ने बेलासम्म हाम्रो देशले भौतिक रुपमा, संस्कृतिक रुपमा वा आर्थिक रुपमा कत्तिको फड्को मार्न सक्यो भन्ने कुरालाई पनि एक पटक गहिरो अध्ययन गरेर विश्लेषण गर्नैपर्छ ।

देशमा गणतन्त्र छ । चाहे वाक स्वतन्त्रताको कुरा होस् चाहे मानव अधिकारको कुरा होस् । शक्ति र सत्तामा हुनेहरुका लागि मात्र भएको महसुस छ । नागरिक हकका बारेमा अहिलेपनि धेरै नागरिकहरु अज्ञानतामै छन् भने सरकारले समेत उनीहरुमा नयाँ चेतनाको विकास गराउन सकेको छैन । जसले गर्दा मान्छेले नागरिक हक, मौलिक हक, वाक स्वतन्त्रताको हकको बारेमा कति जानकारी पाएका छन् ? बोल्न पाइन्छ भन्दैमा मन लाग्दी बोल्नका लागि गणतन्त्र आएको हो र ?

हामी कर्णालीवासी । पहिले पनि कर्णालीमै थियौ र अहिले पनि कर्णालीमै छौ । नेपाल एकिकरणको समयमा राजा पृथ्वीनारायण शाह समेत डराएका थिए कर्णालीसँग । तर आज गणतन्त्रमा पुग्नेबेला पनि कर्णालीवासी हेपिनु र चेपिनु पर्ने अवस्थाको सिर्जना कसरी भयो ? त्यसलाई चिर्नका लागि के गर्नुपर्छ ? हामीले किन सोचिरहेका छैनौं ।

देशमा राजनीतिक आन्दोलन गर्नु पर्दा विद्यार्थी अझ भनौं युवाहरुको खाँचो पर्दछ राजनीतिक दलहरुलाई । तर आज युवाहरु दोस्रो दर्जाको नागरिक जस्तै भएका छन् । कुनैपनि राजनीतिक दलको नेतृत्वमा पुग्ने अवसर पाउनका लागि वृद्धभत्ताको कार्ड हुनु पर्ने जस्तै भएको छ । युवाहरु अनुभवहिन हुन्छन् भन्ने भावनाको अन्त्य नभएसम्म युवाहरुलाई अगाडि बढ्न दिइन्न । युवा भनेका युगका बहाक हुन् भने बुढाहरु भनेका बुद्धिका ढाकर हुन् । ती बुढाहरुको बुद्धिलाई प्रयोग गरेर युगलाई हाँक्ने जिम्मा युवालाई दिन आवश्यक छ । देशको भौतिक अवस्थालाई विपन्नताबाट सम्पन्नतातर्फ, नराम्रो अवस्थाबाट राम्रो अवस्थातर्फ, यथास्थितिबाट उन्नतितर्फ लैजानुलाई छ भने युवाको काँधमा नेतृत्व थमाउनु पर्छ । जसले गर्दा नयाँ जोश र जाँगरका साथ युवाहरुले देशको विकासको गतिलाई अगाडि बढाउन सकुन् । जवानीले नछाडेका र बुढ्याइँले नछोएका युवाहरूको समूह नै देश विकासमा सरिक हुन आवश्यक छ भने उनीहलाई साथ दिनु सबैको कर्तव्य हुन आउछ । राष्ट्रिय विकासको रथ तान्ने आधारभूत शक्ति भनेको युवावर्गको शक्ति हो र त्यो शक्ति नै वास्तवमा देश विकासको ऊर्जा हो ।

कर्णाली आफैमा सबैभन्दा कान्छो प्रदेश हो भने शहिदहरुको रगतले सिंचित भएको प्रदेश पनि हो । कर्णाली भन्ने वित्तिकै रोग, भोक, गरिबबी, पीडाको उपमा दिएर राख्ने वा यसको मुहारमा परिवर्तन ल्याउने ? त्यो जिम्मेवारीलाई पूरा गर्नका लागि युवाहरु तयाहुनु पर्दछ । युवाका जोस र जाँगरका अगाडि जस्तोसुकै कठिन चुनौतीले पनि शिर झुकाउन बाधय हुनुपर्दछ । अतः युवाहरूका आँट र उत्साहको इन्धन प्राप्त गर्दा कर्णालीले विकास मार्गमा आएका जुनसुकै हाँक र बन्धनलाई सजिलै परास्त गर्न र चुँडाल्न सक्छ र विकासको अभियानमा कर्णालीले लामो फड्को मर्न सक्छ ।

रोजगारको लागि भौतारिरहेका युवाहरुलाई कर्णालीमै रोजगार दिन सम्भव छ । कर्णालीको जल, जमिन, जडिबुटि र यहाँको भौगोलिक अवस्थालाई नै प्रयोग गरेर युवाहरुलाई एकातिर रोजगार अर्कोतिर कर्णाली विकासमा उपयोग गर्ने तर्फ सरकारले सोच्नै पर्दछ ।

बगेर खेर गइरहेको नदीमा बाँध बाँधेर विद्युत निकाल्ने योजना होस् कि बाँझा जमिनलाई आवादी गरेर खाद्यन्नमा कर्णालीलाई आत्मनिर्भर बनाउने कार्य होस् । कर्णालीमा भएका खनिज तथा खानीहरुको उत्खनन् प्रशोधनको कुरा होस् कि पशुपालनको कुरा होस् । युवाहरु गर्न सक्षम छन् । भारत तथा खाडिका मुलुकहरुमा गएर ५० डिग्री भन्दा माथिको घाममा पसिना चुहाउनेहरु आफ्नै माटाका डल्लामा पसिना चुहाउन तयार छन् । तर तिनीहरुले आफ्नो दैनिक आवश्यकताको लागि ऋण गर्नु पर्ने अवस्थाको अन्त्य गर्न सरकार सक्षम हुनुपर्दछ । त्यसको ज्वलन्त उदाहरणको रुपमा कर्णाली प्रदेश सरकारले स्थानीय सरकार मार्फत बाँझा जमिनहरुलाई आवादी गरेर खाद्यन्न उत्पादन कार्यका लागि जुन योजना अघि सारेको छ त्यसलाई मात्र हेरे पुग्दैन र ?

भुक्ने कुकुरले टोक्दैन भने झँै भए नभएका गर्न सकिने र नसकिने योजनाहरुलाई कागजका पानामा भर्ने अनि युवाहरुले केही गर्न सकेनन् भन्दै दोष लगाउने प्रवृत्तिको अन्त्य गर्नै नचाहने हो भने युवाहरु समाजमा टिकीरहन सक्दैनन् । जसले गर्दा आफ्नो जनशक्ति विदेश पलायन हुन्छ भने अर्कोतिर कर्णाली जहाँको तहीँ रहन्छ ।

विश्वमा भौतिक विकासका क्षेत्रमा चरम उपलब्धि हासिल गरेका युरोपेली राष्ट्र होऊन् वा एसियाली राष्ट्र जापान, सिंगापुर होऊन् टी मुलुकहरूलाई भौतिक सम्पन्नताको शिखरमा पुग्न सफल कसरी भए भन्ने कुराको इतिहासलाई अध्ययन गर्न जरुरी छ भने अर्कोतिर उनीहरुले कसरी के गरे भन्ने कुरालाई अनुसन्धानको रुपमा लिनु आवश्यक छ ।

युवाहरूका निःस्वार्थ समर्पण र त्यागले अहम् भूमिका खेल्छ । जुन देशका युवाहरूले आफ्नो मूलुकमा विभिन्न सेवामा रहेर आफ्नो सिर्जनात्मक श्रम, सीप र तीक्ष्ण बुद्धि विवेक देशकै लागि खर्च गरेका छन् त्यस मुलुकको मुहारमा विकासको मुस्कान देख्न सकिएको हो । अझ खाडिका देशहरु, मलेशिया र छिमेकी राष्ट्र भारतकै कुरा गर्ने हो भने अधिकांश विकास निर्माणका कार्यहरु बाहिरबाट गएका युवाहरुले गरिदिएका छन् ।

जीवनचक्रमा हरेक व्यक्ति एकपल्ट युवावस्थामा पुग्दछ र ऊ व्यक्तिगत रूपमा कुनै पद वा ओहदामा बसेर वा नबसेरै भए पनि राष्ट्रिय विकासको पुनीत महायज्ञमा सरिक भएकै हुन्छ । इन्जीनियर, वकिल, शिक्षक, प्राध्यापक, कृषक, लेखक, कलाकार, खेलाडी, कर्मचारी, पत्रकार, सैनिक, प्रहरी आदि जुनसुकै क्षेत्रमा सर्वप्रथम व्यक्तिको प्रवेश युवावस्थामा नै हुन्छ । ती सेवामा प्रवेश गर्नेले आ–आफ्नो युवाजोस लगाएकै हुन्छन्, बाटोघाटो, कुलो, नहरनिर्माण गरी एउटा इन्जीनियरले मुलुकको भौतिक विकासमा नयाँ आयाम दिएको हुन्छ भने वकिलले न्याय सम्पादनका क्षेत्रमा, शिक्षक, प्राध्यापकले अध्यापनका क्षेत्रमा योगदान पु¥याउँछन् । लेखकले कलमको र कलाकारले कूचीको प्रयोग गर्दै आफ्ना सुन्दर सिर्जनालाई सभ्यता एवं संस्कृतिलाई समुन्नत तुल्याउन अग्रणी भूमिका निर्वाह गरेका हुन्छन् । सैनिकले शस्त्रास्त्रले सुसज्जित भएर राष्ट्रिय अखण्डताको पहरेदारको भूमिका निर्वाह गरेका हुन्छन् भने प्रहरीले जनताको जीउधन र सामाजिक शान्ति सुरक्षाको क्षेत्रमा आफ्नो योगदान दिएकै हुन्छन्, यसरी देश विकासका कार्यमामा हरेक युवाले आफ्नो क्षेत्रबाट विभिन्न पेसामा रहेर अभूतपूर्व भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

मुलुकको विकासमा गहनतम भूमिका निर्वाह गरिरहेका हुन्छन् । सक्रिय गराउन राज्यले पनि विशेष पहल गर्नुपर्दछ । राज्यमा युवाहरूको मनोबल बढाउन खालको वातावरण तयार पारिनु पर्दछ । उचित वातावरणका अभावमा आफ्नो देशमा उचित शिक्षा, रोजगार, कम र मम नपाउँदा कतिपय युवावर्ग बरालिन्छ र युवावर्ग बरालिँदै देश विकासको गीत ओरालो लाग्दछ । कलिला ओठमा जुँगारेखी बस्न नपाउँदा रोजगारीका नाममा, कम र मामका लागि विदेश पस्न युवावर्ग जहाँ बाध्य हुन्छ त्यस देशको अनुहारमा अधोगतिको चाया देखिन्छ र अवनतीको छाया देखिन्छ । परिवार र समाजको समुचित माया र स्नेह नपाएका वा आवश्कताभन्दा बढी माया र स्नेहले पुल्पुलिएका बालकहरू जब युवा बन्छन् तीमध्ये पनि केही विकृति विसंगतितर्फ लागेका हुन्छन् ।

त्यस्ता कुलत र द्रव्यसनमा लाग्ने युवावर्ग पनि परिवार, समाज र राष्ट्रकै टाउको दुखाइ बन्न पुग्दछ । त्यस्ता वर्गहरूका लागि पनि योग्यता, क्षेमता, रुचि र दक्षता अनुसारका तालिम, रोजगार र कामको व्यवस्था गरी तिनको मनोबल बढाएमा तिनले पनि देश विकासको होस्टेमा हैसे गर्न पुग्दछ । सिर्जनाका नव दयारहरू खोल्न सक्छ । मूलकको अस्तित्वमा संकट आउँदा धक फुकाएर बोल्न सक्छन् र रास्ट्रियताका लागि जुनसुकै चुनौती पनि मोल्न सक्छन् अनि विपन्नता, गरिबी र पछौटैपनका विरुद्ध सजिलैसँग धावा बोल्न सक्छन् । तसर्थ आफ्नो देश युवास्रोतलाई निर्माणतर्फ प्रवाहित गर्न राज्यले रोजगारका बाध बढ्ने पर्छ, उनीहरूको उत्साहको धर्म उच्च आत्मबल र मनोबल बढाउनै पर्छ ।