Loading... आजः ४ बैशाख २०८१, मंगलवार । Tuesday 16th April 2024

डा. केसीको जीवनरक्षा गर

नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि डा. गोविन्द केसी उन्नाइसौं पटक अनसनमा बस्नुभएको छ । डा. केसी उन्नाइसौं पटकसम्म अनसनमा बस्ने बेलासम्म धेरै सरकारहरु फेरिए । तर पनि उनका मागहरु पूरा गर्ने सरकार बनेनन् । आफू र आफ्नो पार्टी सरकारमा बस्ने बेलामा डा. केसीका मागहरु पूरा गर्ने तर्फ कुनै योजना नबनाउने तर सरकार बाहिर भएको बेलामा डो केसीप्रति सहानुभूति देखाउनका लागि पनि उनका मागहरु पूरा गर्नुपर्छ भनेर हल्लीखल्ली गर्दै जनताका आँखामा छारो हाल्ने काम हुने गरेको छ ।

वर्तमान सरकार झण्डै दुईतिहाइको नजिकमा छ । यो सरकारले चाहेको अवस्थामा उहाँका मागहरु पूरा गर्न सक्छ । तर पनि वर्तमान सरकारले समेत उहाँका मागहरु पूरा गर्ने तर्फ कुनै चासो देखाएको छ । यस्तो अवस्थामा काँग्रेसले डा. केसीका मागहरु पूरा गर्नुपर्छ भनेर आवाज उठाउने र राष्ट्रवादी भएको जस्तो बहाना भन्दा अरु केही होइन । यदि अहिले सरकारलाई माग पूरा गर्नका लागि दबाब दिनेले हिजो आफै सरकारमा भएको बेलामा के हेरेर बसेको थियो भन्ने प्रश्न आम नागरिकले गरिरहेका छन् । त्यसैले सस्तो लोकप्रियताका लागि भन्दा पनि यथार्थमा रहेर नेपालको स्वास्थ्य क्षेत्रको सुधारको लागि पहलकदमी चाल्न आवश्यक छ ।

डा. गोविन्द केसी एकजना चिकित्सक हुनुहुन्छ । अरू विभिन्न क्षेत्रमा भएका विकृति जस्तै चिकित्सा क्षेत्रमा चरम विकृति छन् । यस्तै विकृति हटाउने माग गरेर उहाँले पटक–पटक अनशन गर्नुभएको छ । तर, सरकारमा रहेकाहरूले माग पूरा गर्ने आश्वासन दिँदै उहाँको अनशन तोडाउने काम मात्र गर्दै आएका छन् । तिनको कार्यान्वयनतर्फ सोच्ने आवश्यकता तिनले देखेनन् । वर्तमान सरकार उहाँका माग पूरा गर्न चाहँदैन किनभने उहाँका माग पूरा गर्दा सरकारकै मानिसको संलग्नता जोडिएका निकायहरू अवरुद्ध बन्नपुग्छन् । तर, उता जीवनभरि त्याग र समर्पणमात्र गरेका डा. केसी अथक रूपमा निरन्तर अनशनकै बाटोबाट आफ्ना माग पूरा गराउन जोड गरिरहनु भएको छ ।

वर्तमान अवस्थामा देश कोरोना भाइरसका कारण विभिन्न समस्यामा छ । यस्तो अवस्थामा सरकारलाई सहयोग गर्नु सबैको कर्तव्य हो । त्यो कर्तव्यबाट कोही पनि विमुख हुन मिल्दैन । त्यसैले यस्तो अवस्थामा डा. केसीले पनि आफैले सोचेर देश र जनताको लागि अनसनलाई सहज रुपमा तोड्नु पथ्र्यो तर उहाँले त्यसो गर्नुभएन भन्दैमा सरकारले उहाँको जीवन रक्षाबाटै पन्छिन मिल्दैन ।