चोरी भएको मुर्तिसहित पक्राउ
सुर्खेत ।
जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्तिसहित मूर्ति चोर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय जुम्लाको टोलीले चन्दननाथ नगरपालिका १० बोहोरा गाउँमा सुशील विष्टको जग्गामा सुकेको घाँसको थुप्रोमा लुकाइ राखेको अवस्थामा मूर्ति फेला पारेको जनाएको छ ।

चाँदी जस्तो देखिने घातुका २ वटा मूर्तिसहित जुम्ला चन्दननाथ न.पा. १० बस्ने वर्ष ३२ का सुशिल विष्ट, तातोपानी गा.पा. ८ का बर्ष २८ को जयलाल थापा र बर्ष २३ को सुदिप रावललाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।
उक्त मूर्ति २०७३ मंसिर ११ गते राती जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएका थिए । फेला परेका मूर्तिहरुमा भगवतीको मूर्ति चाँदी जस्तो देखिने धातुको तौल ४५० ग्राम भएको मुर्ति एक थान र चाँदी जस्तो देखिने धातुको भगवान मूर्ति को ८९० ग्राम तौल भएको मुर्ती एक थान रहेको जनाइएको छ । पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






