Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

असोज तेस्रो सातामै सुन झैँ पहेलिँदै ‘सुर्खेत’

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर सुर्खेत उपत्यकाको नामले परिचित छ । वर्षात् हटेसँगै विस्तारै बढ्न थालेको चिसोयाममा विहान हुस्सुले आफ्नो साम्राज्य जमाउन थालिसकेको छ । यसवर्ष असोजमा अधिकमास (मलमास) नभएको भए यतिबेला दशैं तिहारको रमझम हुनेथियो । वरिपरि डाँडैडाँडाले घेरिएको बीचमा लमतन्न सुतिरहेको काँक्रेविहार र बुल–बुल बुल–बुल गरिरहेको बुलबुले ताल । यिनै सम्पदाहरुले भरिएको सुन्दर उपत्यकामा यतिबेला धानका बालाहरु लहलह झुल्न थालेका छन् । अझ भन्ने हो भने ‘सुन झँै पहेलिँदै छ सुर्खेत ।’


उपत्यकाको उत्तरमा रहेको गोठीकाँडा, सिद्धपाइलाबाट हेर्ने हो भने सुनको थाली जस्तै देखिन सुरु भइसकेको छ सुर्खेत । उत्तरमा वीरेन्द्रनगर बजार क्षेत्र भएपनि पूर्वी, पश्चिमी र दक्षिणी क्षेत्रमा भने पहेलपुरी भएर धान पाक्न थालिसकेको छ । पर्यटकको मात्र होइन कृषकको समेत मनै लोभ्याउने गरि पाक्न थालेको धानले साँच्चिकै सुर्खेतको सुन्दरता बढाइएको छ । सम्म परेको मैदानमा टम्म परेका धानका बालाहरुमा जुनले पोखेको शित टल्केको हेर्न कसको मन पो नलोभिएला र । सुर्खेतका अग्रज पत्रकार कुमार बहादुर ढकाल भन्छन् ‘सुनखेतबाट सुरखेत हुँदै सुर्खेत भएको हो ।’

असारको महिनामा मानो रोपेका कृषकहरुको मनपनि रमाउने समय हो यो । यस वर्षको वर्षात्पनि निरन्तर तर धानलाई नबिगार्ने खालको भएकाले पनि सुर्खेतमा धानको उत्पादनमा बृद्धि हुने वीरेन्द्रनगर नगरपालिकाका कृषि प्राविधिक हेमराज केसीको भनाई छ । गत वर्षहरुमा जस्तो यसवर्ष धानमा खासै नोक्सानी पु¥याउने खालको रोग नलागेको उनले सूक्ष्मदृष्टिसँग बताए । ‘विउका व्याडहरु राख्ने समयमा फट्याङ्ग्राले निकै सताएको भएपनि वर्षात् बढ्ने क्रमसँगै फट्याङ्ग्रा पनि हरायो’ केसीले भने ।

कोरोना महामारीका कारण प्रायःजसो मान्छेहरु घरमा भएकाले पनि यस वर्ष धान रोपाइँमा गत वर्षहरु भन्दा केही मिहिनेत बढेकाले पनि धान उत्पादन राम्रो हुने आशा गरिएको छ । भनिन्छ ‘घोकन्त विद्या, ध्यावन्त खेती’ यस वर्ष कोरोनाका कारण बाहिर कतै जान नसक्ने अवस्था भएकाले खेतमा नै धेरै समय विताउन पाइयो भन्छन् पाका किसान वीरेन्द्रनगर ३ निवासी विष्णु थारु । ‘गत वर्षहरुमा एक्लैले गरेको मिहिनेत भन्दा यस वर्ष २ छोराहरु पनि घरमै भए । लकडाउन हुने भएपछि उनीहरु भारतबाट आए । छोरा, बुहारी र आफू समेत लागेर यही खेतमा भएको धानको सेवा गरेका छौ, राम्रै फलेको छ’ थारुले खुसी व्यक्त गरे । आफ्नो ६ कट्ठामा लगाएको धानले नै यस वर्ष ७ जनाको परिवारलाई खान पुग्ला भन्ने उनले आश गरेका छन् । अधियाँमा लगाएको १२ कट्ठाबाट आउने धान त बेच्न पाइने आशा गरेको थारु बताउँछन् ।

सुर्खेत उपत्यकाको माटो खेती योग्य भएकाले पनि यहाँ खेतीका लागि सरकारले पहल चाल्नु पर्ने हो । तर अमिनले चिरेर जमिनलाई कुरुप बनाएकाले खेती योग्य जमिन मासिँदै गएकोमा दुःख लागेको छ वीरेन्द्रनगर १० का धनबहादुर खड्कालाई । ‘अहिले प्रविधिको विकास त भयो, कृषि कार्य गर्नका लागि सहज त भयो तर जमिन टुक्रा–टुक्रा भइसक्यो’ खड्काले निराशा पोखे । अझैपनि दक्षिणी भेकमा भएका जमिनलाई जोगाउन सकिन्छ तर त्यसका लागि सरकारले नै पहल गर्नुपर्ने खड्काले सुझाए । वस्ती बस्ने नाममा यसरी सुर्खेतको जग्गा मासिँदै गयो भने भविष्यमा सुर्खेत यस्तो थियो रे भनेर इतिहासका पानाहरुमा मात्र सिमित रहने हो कि भन्ने चिन्ता छ खड्कालाई ।


कर्णाली प्रदेशको प्रवेशद्वारका रुपमा रहेको सुर्खेत उपत्यकामा रहेका पर्यटकीयस्थलहरुको अवलोकन गर्न आउने जो कोही पर्यटकहरु पनि यो मौसममा पाक्दै गरेको धानका बालाहरु देखेर लोभिन्छन् । आजको सूक्ष्मदृष्टि साप्ताहिकमा मुख्य समाचारको रुपमा प्रकाशित छ ।