Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

कालो बजारी रोक

दशैं तिहार जस्ता चार्डपर्वहरु नजिक आउँदै गर्दा बजार अनुगमनलाई निरन्तरता दिनु सरोकारवालाहरुको पुरानै चलन हो । दशैं तिहार जस्ता पर्वहरुको समयमा उपभोक्तालाई कसरी ठग्न सकिन्छ भन्ने योजनामा बसेका व्यापारीहरु र अनुगमनको रुपमा त्यस्ता व्यापारीहरुलाई केवल सम्झाइ बुझाई गर्ने प्रशासनिक निकाय उस्तै उस्तै देखिन्छन् । तर वर्षेनी उपभोक्ताहरु भने मारमा परिरहेका हुन्छन् । चाहे त्यो रंगीन मीठाई किन्दा होस् या तरकारीजन्य वस्तुहरुको खरिद गर्दा होस् । अर्कोतिर यति बेला ठूलो समस्याको रुपमा देखिने भनेको खाद्य वस्तुमा अखाद्य पदार्थको मिसावट पनि हो । जसका लागि सरकारी निकायले गर्नु पर्ने अनुगमन नै फित्तलो हुने गर्दछ । विगतका वर्षहरु जस्तै अनुगमनको नाममा केवल अनुगमन गर्ने प्रबृत्तिको बन्द हुनुपर्छ । अनुगमन साँच्चिकै अनुगमनका लागि हुनुपर्छ । नगरपालिकादेखि जिल्ला प्रशासन समेतले अनुगमन गर्ने नाममा केवल जनतालाई देखाउनका लागि मात्र नहोस् । बजारमा भइरहेको यथार्थताको गहिराईसम्म पुगेर अनुगमन गर्न जरुरी छ । जसले गर्दा कालो बजारी गर्नेहरुले त्यसो गर्ने हिम्मत नगरुन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पानीमा कहिले किरा, कहिले फट्ङ्ग्रा त कहिले लेउ समेत भेटिने गर्दछ भने दशैं तिहारको समयमा बजारमा खुला रुपमा राखिएका मीठाईहरुमा मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने अखाद्य वस्तुहरुको मिसावट हुने गरेको छ । मानव स्वास्थ्यमा प्रत्यक्ष वा दीर्घकालिन रुपमा असर पार्ने यस्ता पदार्थको मिसावट गर्नेहरुलाई कानून बमोजिम कारवाही हुन नसक्नु नै उनीहरुको मनोबलमा बृद्धि हुनु हो । भएको सामानलाई लुकाएर पछि महंगोमा बेच्ने र उपभोक्ताहरुलाई हैरानी पार्नेहरु बजारमा सल्बलाउन थालेका छन् ।

यो वर्षको दशैं तिहार विगतको वर्षहरुको जस्तो हर्सोल्लास नहुन सक्छ । विश्वमा फैलिएको कोरोना भाइरसको कारण मानव जीवन पूर्ण रुपमा प्रभावित भइरहेको छ । त्यसैले आम नागरिकहरुले पनि दशैं तिहार जस्ता पर्वहरु मनाउँदा एकदमै ध्यान दिन आवश्यक छ भने सरोकारवाला निकायहरुले पनि जनस्वास्थ्यमा असर पार्ने खालका वस्तुहरुको विक्री वितरणमा कडा अनुगमन गरि कानून बमोजिम कारवाही गर्नु आवश्यक छ । दशैं तिहारको समयमा मात्र नभई मानव स्वास्थ्य प्रति कसैले पनि कुनै पनि समयमा खेलवाड गर्न पाइँदैन । अझ कोरोनाका कारण थिलोथिलो बनेको अवस्थामा हुने कालोबजारीले गरिबहरुको अवस्थालाई झनै असर गर्ने भएकोले पनि कालो बजारी रोक्नका लागि स्थानीयदेखि प्रदेश र संघीय सरकारले समेत ध्यान दिन जरुरी छ । प्रत्येक पसलले अद्यावधिक गरेको मूल्य सूची राख्नु जरुरी छ । कुन सामानमा कति प्रतिशत नाफा कमाउने भन्ने बारेमा कानूनले स्पष्ट पारेको बाहेक अकूत रुपमा नाफा कमाउन खोज्नेहरुलाई कारवाहीको दायरामा नल्याउने हो भने कोरोनाका कारण हैरानी खेपिरहेका उपभोक्ताहरु ऋण गरेर पनि दशैं तिहारको लागि सामान किन्न बाध्य हुनेछन् । जसले गर्दा फेरि अर्कोवर्ष दशैं आउँदा समेत यस वर्ष दशैंमा लिएको ऋणबाट उनीहरु मुक्त हुन हम्मेहम्मे परेको हुन सक्नेछ । त्यसैले पनि अभिभावकीय भूमिकामा रहेका सरकार र सरोकारवालाहरु बेलैमा चनाखो हुने कि । आजको सूक्ष्मदृष्टि साप्ताहिकमा प्रकाशित सम्पादकीय ।