सुर्खेतमा चाडवाड लक्षित शान्ति सुरक्षाको व्यवस्था मिलाएका छौं : एसपी भट्ट
सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद भट्टले सुर्खेतमा चाडवाड लक्षित विशेष शान्ति सुरक्षाको व्यवस्था मिलाएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘दशैं तिहार तथा छठ पर्वसम्मको लागि हामीले सुर्खेतमा विशेष चाडवाड लक्षित शान्ति सुरक्षाको व्यवस्था मिलाएका छौं । त्यो सुरक्षा योजना कार्यान्वयनको चरणमा पनि आइसकेको छ । दशैं तिहारमा नियमित भन्दा थप प्रहरी परिचालन हुन्छ । यसको साथै आवत जावत गर्ने यात्रुहरुको सहजताको लागि सुर्खेत बसपार्क र छिन्चुमा यात्रु सहायता कक्षको स्थापना समेत भइसकेको छ ।’

उस्पी भट्टका अनुसार चाडवाडको समयमा मेला, पर्व तथा भीडभाड हुने तथा झै–भगडा हुने तथा मादक पदार्थको सेवनमा समेत बृद्धि हुने भएकोले त्यस्ता कुरालाई समेत मध्यनजर गरेर विशेष टिमहरु प्रहरी परिचालन भएका छन् । सादा पोशाकमा पनि प्रहरी परिचालन भएका छन् । यसका अतिरिक्त यस समयमा सवारी साधनको आवागमन र यात्रुहरुको आवागमनको चाप बढ्ने भएकोले त्यसलाई मध्यनजर गरेर सवारी दुर्घटनामा न्यूनिकरण गर्नका लागि र यात्रुको सुरक्षाको लागि ट्राफिक प्रहरी कार्यालय सुर्खेतसँगको सहकार्यमा विशेष सुरक्षा योजना तयार भएको छ ।
राजमार्गका विभिन्न ठाउँमा आकस्मिक चेकजाँच गर्ने, तोकिएको संख्यामा भन्दा बढि यात्रु बोक्नेहरुलाई कारवाही गर्ने र यात्रु नै ओराल्ने र उनीहरुलाई सहज ढंगले गन्तव्यमा पुग्नका लागि सहजिकरण गर्ने योजना प्रहरीले बनाएको छ ।
यसैगरि दशैं तथा तिहारको समयमा हुने सामाजिक विकृति मादक पदार्थको सेवन, जुवातास खेल्ने जस्ता विकृतिहरु यस समयमा बढि देखापर्छन । जसका लागि सादा पोशाक प्रहरी परिचालन गरेर सूचनाको संकलन गर्ने, आम सचेत नागरिकहरुबाट पनि प्राप्त हुने सूचनाका आधारमा त्यस्ता गतिविधि गर्नेहरुलाई कानून बमोजिम कारवाही गर्ने एसपी भट्टले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीसँग भएको स्रोत साधन र उपलब्ध भएको जनशक्तिलाई नै भरपुर उपयोग गरेर अपराध नियन्त्रण गर्न प्रयास गरिरहेका छौ । सुर्खेत कर्णाली प्रदेशकै राजधानी भएकोले प्रदेश प्रहरी कार्यालय पनि सुर्खेतमा छ । आवश्यकता अनुसार उक्त कार्यालयले थप जनशक्ति उपलब्ध गराउँदै आएको छ । चाडपर्व लक्षित योजनाका लागि थप जनशक्ति उपलब्ध हुन्छ । त्यसलाई प्रभावकारी रुपमा परिचालन गरेर यस किसिमका घटना, दुर्घटना र सामाजिक विकृतिहरुलाई नियन्त्रण गर्ने प्रयास गछौ ।’
दशैं तिहारको समयमा नागरिकहरु स्वयम् चनाखो बन्नु पर्छ । आफन्तको जाँदा वा घर बाहिर जाँदा आफ्नो घरको सुरक्षाको बारेमा सम्पत्तिको सुरक्षाको बारेमा स्थानीयवासी पनि चनाखो भइदिन उहाँले आम सर्वसाधारणलाई अनुरोध समेत गर्नुभएको छ । अपराध नियन्त्रण गर्न प्रहरी एक्लैले सम्भव नहुने भन्दै त्यसको लागि स्थानीयवासी, आमनागरिकले पनि प्रहरीलाई सहयोग गर्न आवश्यक रहेको उहाँको भनाई छ । उहाँले थप्नुभयो, ‘शंकास्पद गतिविधि भइरहेका छन् भने प्रहरीलाई सूचना दिनुहोस् । चाडपर्वमा मात्र होइन जुनसुकै समयमा पनि हुने गैरकानूनी क्रियाकलापलाई निस्तेज पार्न प्रहरी चौबिसै घण्टा तयारी अवस्थामा छ । सुर्खेतवासीको सुरक्षाको लागि हामी सतर्क छौं उहाँको कथन छ ।

प्रहरी कर्मचारीहरुले गैरकानूनी रुपमा आर्थिक चलखेलमा लाग्ने गरेका गुनासाहरु आउँछन् नि भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नुभयो, ‘संगठनले पनि शुन्य सहनशीलताको नीति अपनाएको छ । त्यही नीति जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि अपनाएको छ । प्रहरी कर्मचारीले कहिँ कतै पनि अवैध रुपमा लाभ लिएको भेटिएमा कानून बमोजिम कारवाही हुन्छ । त्यस्तो गतिविधि गर्ने प्रहरी कर्मचारीले कुनै पनि हालतमा उन्मुक्ति पाउँदैन । त्यस्तो भएको खण्डमा त्यसको सूचना हामीलाई उपलब्ध हुनुप¥यो हामी कारवाही गर्छौ ।’






