Loading... आजः १८ मंसिर २०७७, बिहीबार । Thursday 3rd December 2020

कर्णालीवासीलाई धोका नदेऊ

गत प्रदेश सभाको निर्वाचनमा कर्णालीवासीले स्थायी सरकार चाहेर नेकपालाई बहुमत दिएका हुन् । तत्कालिन समयमा एमाले र एमाआवोदीको तर्फबाट निर्वाचनमा होमिएपनि अहिले पार्टी एक भइसकेको छ । अब कोही एमाले वा एमाओवादी छैनन् । त्यसैले अहिले कर्णाली प्रदेशमा दुईतिहाइको बलियो सरकार छ । यस्तो बलियो सरकारले कर्णालीको उन्नती र प्रगतिका लागि आफूले गर्नसक्ने काम गर्न समक्ष छ । काम गर्ने नगर्ने कोही व्यक्तिको इच्छाशक्तिमा भर पर्दैन । एउटा दलको प्रतिनिधित्व गरेर सरकार निर्माण गरिसकेपछि दलका नेता कार्यकर्तादेखि आम कर्णालीवासीसँगको सहकार्यमा सरकारले काम गर्नुपर्छ । त्यसलाई सहयोग गर्ने काम सत्तारुढ दलका सांसदहरुको हो ।

समृद्ध कर्णाली र सुखारी कर्णालीवासीको नारा लगाएर कर्णालीवासीको मन जितेर पाएको मतको अपमान गर्ने अधिकार कोही कसैलाई छैन । सिंहदरबार घर आगनमै पु¥याउँछौ भनेर गरिएका वाचाहरु एकपटक फेरि सम्झने बेला आएको छ । हिजोका दिनका कर्णालीलाई सिंहदरबारले पछाडि पारेको हो, सिंहदरबारमा बस्नेहरुले कर्णालीलाई देखेनन् भनेर भन्नेहरु आज आफै सत्ता र शक्तिको लागि लुछाचुँडी गर्ने हो भने कर्णाली समृद्ध बन्दैन ।

भरखरै मात्र कर्णालीमा नेकपाका संसदिय दलका नेता तथा मुख्यमन्त्री माथि अविश्वास प्रस्तावको रडाको मच्चियो । यसले के संकेत गर्छ भने हामी सत्ताका लागि मरिहत्ते गर्दैछौ । जनताका समस्या र आवश्यकतालाई थाँती राखेर यतिबेला सत्ताका लागि शक्ति प्रदर्शन गर्ने बेला होइन । एकातिर कोरोनाका कारण थिलोथिलो बनेका व्यापार व्यावसाय, किसानदेखि मजदुरसम्मको रोटीको जोहो गर्नु पर्ने समयमा सत्ताका लागि हस्ताक्षर संकलनमा लाग्नेहरुको कारण अझ कर्णाली पछाडि पर्दैछ भन्दा अतियुक्ति नहोला । पार्टी भित्रका आन्तरिक समस्या के हुन् ? दुबै पक्ष मिलेर एकआपसमा समाधानको बाटो पहिल्याउन जरुरी छ । यदि मेरै गोरुका बाह्रै टक्का गर्ने स्थितिको सिर्जना भएर साढेको जुधाइँमा बाच्छाको मिचाइ भयो भने कर्णालीलाई तिमीहरुबाट धोका भएको ठहरिने छ । जसले गर्दा कर्णालीवासीलाई धोका हुनेछ ।