सत्ता, शक्ति र समिकरण
जति पनि राजनीतिक परिवर्तनहरु हुन्छन् ती सत्ता, शक्ति र समिकरणका लागि हुने गर्दछन् । हेपिएका, चेपिएका, पछाडि परेका र पारिएका, दबेका र दबाइएकाहरुका लागि राजनीतिक परिवर्तन आवश्यक छ । जबसम्म राजनीतिक शासन पद्धतिमा परिवर्तन आउँदैन तबसम्म गरिब, निमुखाहरुले शिर उचालेर हिड्ने अवस्थाको सिर्जना हुँदैन । हिजोको माओवादी जनयुद्ध होस् वा अस्तीको राणा शासन विरुद्धको एक्यवद्धता होस् । राणाहरुले रैति त के राजालाई समेत हेपेर राखे । जसको फलस्वरुप राजाले पनि आन्दोलन गर्नु पर्ने अवस्थाको सिर्जना भयो जसले गर्दा राणाहरु शासन सत्ता त्याग्न बाध्य भए ।
पञ्चायतका विरुद्धमा समेत आन्दोलन भयो । अरु आन्दोलन भन्दा पञ्चायतका विरुद्धमा भएको आन्दोलन केही सहज थियो । त्यसको मूल कारकतत्वका रुपमा उदारवादी मन र सोच भएका तत्कालिन राजा वीरेन्द्र नै हुन् । जनताले चाहेको जस्तो शासन व्यवस्था हुनुपर्छ भन्ने सोच भएका राजा वीरेन्द्रका कारण पञ्चायत विरुद्धमा भएको आन्दोलनमा धेरै जनधनको क्षति भएन । नेपाली जनताले सहजै बहुदलिय प्रजातन्त्रको पुर्नस्थापना गर्न पाए । त्यसपछि भएको माओवादी जनयुद्ध पनि सत्ता र शक्तिकै लागि भएको स्पष्ट छ । यदि त्यो नहँुदो त हिजोका दिनमा आफ्नो ज्यानको बाजी लगाएर युद्ध लडेकाहरु सुखभोगतिर लाग्ने थिएनन् ।
संविधान सभाबाट संविधानको लेखन गर्ने करिब ७० वर्ष पहिलेको योजना पनि सफल भयो । जनताका प्रतिनिधिहरुले नै जनताका लागि बनाएको संविधान बमोजिम भएको निर्वाचनमा कम्यूनिष्टहरुले बहुमत प्राप्त गरे । अझ कर्णाली प्रदेशमा त दुई तिहाइकै सरकार बन्यो । देशको सर्वाङ्गिण विकासको लागि यो आवश्यक थियो जुन कर्णालीवासीले महसुस गरे । एकातिर संघीयताको अभ्यास र अर्कोतिर आफ्नै घर आगनमा बनेका सरकारका कारण अब कर्णालीले रोग, भोक र गरिबीको नाराबाट छुटकारा पाउने छ भन्ने विश्वास पलायो कर्णालीवासीमा ।
कर्णालीमा भएको राजनीतिक किचलोका कारण यथार्थमा त्यसो हुन सकेन । यो विडम्बना हो । सत्ता र शक्तिका लागि आफ्नै दललाई असहयोग गर्नेदेखि गुटबन्दीको राजनीति गरेर सरकारले गर्न खोजेका कार्यमा समेत हलो अड्काएर गोरु चुट्ने कार्यले कर्णालीले आफ्नो स्वरुप फेर्न निकै कठिनाई हुने निश्चित जस्तै भयो । नेपाली जनताले स्थायी सरकार र दीर्घकालिन शान्ति चाहेका हुन् । तर पदमा पुग्नका लागि फेरि पनि आफ्नै पार्टीको सरकार विरुद्धमा अविश्वासका कुरा उठाएर जुन खेल खेल्न खोजियो त्यसले मनमा चिसो पैदा ग¥यो । हो, राजनीतिमा दीर्घ सत्रु र दीर्घ मित्र कोही पनि हुँदैन । हिजोका दिनमा प्रचण्ड र केपी ओली बीचमा हुने कटाक्षहरु कम तिखा थिएनन् । तर आज एउटै पार्टीका दुई अध्यक्ष भएर उनीहरु बसिरहेका छन् भने केवल अविश्वास ल्याउँदैमा सबै सकियो भन्ने होइन । दुबै पक्ष एक आपसमा मिलेर कसरी कर्णालीलाई समृद्ध बनाउन सकिन्छ र कर्णालीवासीलाई सुखारी बनाउन सकिन्छ भन्ने बारेमा गम्भीर भएर लाग्ने हो भने सत्ता, शक्ति र समिकरण सबै फलिफाप होला । नत्र भने यसै भन्न सकिँदैन । आजको सूक्ष्मदृष्टिमा प्रकाशित सम्पादकीय ।






