अनुगमनलाई निरन्तरता देऊ
आज कोजाग्रत पूर्णिमासँगै नेपालीहरुको ठूलो चार्ड दशैं विदा भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खासै दशैंमा अप्रिय घटनाहरु भएनन् । यो आम नागरिकदेखि सुरक्षाकर्मी र प्रशासनको समेत सचेतता र सक्रियताको कारण हुन सक्छ । यस वर्षको दशैं विगतका दशैं जस्तो रौनक नभएपनि विगतका वर्षहरुमा जस्तो झैँ–झगडा तथा अप्रिय घटनाहरु नहुनु खुसीको कुरा हो । विगतका दशैंको समयमा हुने यातायातका सवारी दुर्घटना र एक आपसमा हुने झगडाले मान्छेको ज्याने जाने घटनाहरु नभएका होइनन् । एकातिर कोरोना संक्रमणको डर र अर्कोतिर प्रशासन तथा सुरक्षा निकायको पूर्ण सक्रियताले पनि होला कर्णाली प्रदेशको राजधानी शान्त नै रह्यो ।

वीरेन्द्रनगर बजार संघीयता पूर्व पनि विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम भएकाले पनि दशैं तिहार जस्ता पर्वहरुको समयमा बजार अनुगमनलाई तिब्रता दिने गरिन्थ्यो र अहिले प्रदेशको राजधानी भएकोले पनि त्यो तिब्रतालाई अझ प्राथमिकताका साथ अवलम्बन गर्ने गरिएको छ । तर बजार अनुगमन निरन्तर हुन आवश्यक छ । केवल चाड पर्वको समयमा मात्र नभई अन्य सामान्य समयमा समेत व्यापारीबाट हुन सक्ने सम्भावित अनधिकृत नाफामुखी कार्यले नागरिकको जीवनस्तरमा समेत प्रभाव पार्ने गर्दछ । अर्कोतिर खाद्य पदार्थहरुमा हुनृ मिसावटलाई रोक्नका लागि सरकारले विशेष पहल गर्न आवश्यक छ ।
दशैं अगाडि जुन अवस्थामा बजार अनुगमन गरिएको थियो त्यसले कति समयसम्म निरन्तरता पाउने भन्ने मुख्य कुरा हो । एकातिर बजार अनुगमन गर्ने र अर्कोतिर कानून विपरित कार्य गर्ने जो कोहीलाई पनि कारवाही नगर्ने हो भने त्यसले अनुगमन गरेको खासै महत्व राख्दैन । त्यसले पनि बजार अनुगमनलाई तिब्रता र निरन्तरता दिनु आवश्यक छ । बजारमा विशेष गरि खाद्य वस्तुमा हुने मिसावट र उपभोग्य मिति नाघिसकेका वस्तुहरु विक्री वितरण हुने गर्दछन् । जसले गर्दा मानव स्वास्थ्यमा दीर्घकालिन रुपमा नकारात्मक असर पार्ने भएकोले त्यस्तो कार्य गर्ने गराउने जो कोहीलाई पनि कानून बमोजिम कारवाही गर्न आवश्यक छ ।
बजार अनुगमन गरेर केवल सचेत गराएर छोड्ने प्रबृत्तिको अन्त्य नभएसम्म बजारमा हुने बदमासीहरुले निरन्तरता पाउँछन् आम सर्वसाधारणले त्यसबाट हुने नोक्सानी व्यहोरी राख्नुपर्ने हुन्छ । त्यसका लागि स्वयम् व्यापारीदेखि व्यापारीहरुको हक हितमा काम गर्ने संघ, संस्था तथा संगठनहरुले समेत चासो दिन आवश्यक छ । अब दशैं सकियो तिहारको समयमा फेरि अनुगमनको लागि अनुगमन गर्ने नभई निरन्तर अनुगमन गर्न आवश्यक छ ।
सूक्ष्मदृष्टि साप्ताहिकमा प्रकाशित सम्पादकीय ।






