Loading... आजः १६ आश्विन २०८३, शुक्रबार । Friday 2nd October 2026

बाइडनले सुरु गरे ह्वाइट हाउस जाने तयारी

काठमाडौं ।

अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले जितको औपचारिक घोषणा नहुँदै राष्ट्रपति कार्यालय  ह्वाइट हाउस प्रवेश गर्ने तयारी सुरु गरेका छन्  ।

त्यसका लागि उनले ‘बिल्ड ब्याक बेटर’ नामको ट्रान्जिसन वेबसाइट सुरु गरेका छन् ।

अमेरिकाको राष्ट्रपति निर्वाचनमा जसले जित्छ, त्यही उम्मेदवारले ह्वाइट हाउस जाने तयारी गर्नुभन्दा पहिला आफ्नो एक ट्रान्जिसन टिम (संक्रमणकालीन टिम) गठन गर्छन् ।

अहिलेसम्म अमेरिकामा राष्ट्रपतीय निर्वाचनको विजेताको घोषणा भएको छैन । तर, राष्ट्रपतिका दुवै उम्मेदवार जो बाइडन र डोनाल्ड ट्रम्पले आफूले जितेको दाबी गरिरहेका छन् ।

बाइडनले अहिले सार्वजनिक गरेको वेबसाइटमा लेखिएको छ, ‘अहिले मुलुकले महामारीदेखि आर्थिक गिरावटसम्म, जलवायु परिवर्तनदेखि जातीय अन्यायसम्मका संकट सामना गरिरहेको छ र ट्रान्जिसन टिमले पूर्ण गतिका साथ आफ्नो तयारी गर्नेछ । जसको आधारमा बाइडन–ह्यारिस (बाइडनको उपराष्ट्रपति कमला ह्यारिस) प्रशासनले पहिलो दिनबाट नै काम सुरु गर्न सकोस् ।’

बुधबार बाइडनले आफू राष्ट्रपति बनेको पहिलो दिन नै पेरिस जलवायु सम्झौतामा अमेरिका सामेल हुने घोषणा गरेका छन् । बुधबार आधिकारिक रुपमा अमेरिका यो सम्झौताबाट बाहिरिएको छ ।

स्रोत : बीबीसी