फूलमा आत्मनिर्भर हुन प्रविधि र अनुसन्धानमा जोड
काठमाडौं ।
आत्मनिर्भरोन्मुख सयपत्री फूलमा पूर्ण आत्मनिर्भर बन्न अध्ययन, अनुसन्धान, प्रविधिको प्रयोगमा जोड दिनुपर्ने सरोकारवालाले बताएका छन् । कृषक, व्यवसायी सरकारलगायत सबै सरोकारवाला निकायको प्रयासबाट मात्रै सयपत्री फूलमा नेपाल आत्मनिर्भरोन्मुख अवस्थामा पुगेको पनि उनीहरूले बताएका छन् । एसोसिएसनअफ नेपाली एग्रिकल्चर जर्नलिष्ट (अनाज) द्वारा शनिबार आयोजित आसन्न तिहार र सयपत्री फूलमा आत्मनिर्भरताको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले यस्तो बताउनुभएको हो ।

सरकारले जारी गरेको पुष्प प्रवद्र्धन नीति, पुष्प महोत्सवमा सहयोग, सयपत्रीफूल खेती प्रवद्र्धनलगायत कार्यक्रमका कारण उत्पादन वृद्धिमा टेवा पुगेको उहाँको भनाइ छ ।
पूर्ण आत्मनिर्भरताका लागि साना किसानमार्फत देशैभरि सयपत्री फूलको खेती विस्तारमा जोड दिनुपर्ने पनि उहाँले बताउनुभयो ।
फूलको अध्ययन अनुसन्धानका लागि भने व्यवसायीले नेपाल कृषि अनुसन्धान परिषद्
(नार्क)सँग सहकार्य गर्नुपर्ने केसीको सुझाव छ । नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत परिषद्का उपाध्यक्ष लोकनाथ गैरेले आत्मनिर्भरोन्मुख अवस्थामा रहेकोले आयातित फूललाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।
निरन्तरको प्रयासपछि फूल आयातमा ५ प्रतिशत कृषि सुधार शुल्क र अतिरिक्त शुल्क गरी १० प्रतिशत राजस्व लिने व्यवस्था भएको पनि यहाँले जानकारी गराउनुभयो । गैरेका अनुसार केही वर्षअघि नेपालको फूललाई भन्सार प्रणालीले असर गरेको थियो । अहिले केही सहज भएको छ, ३ वर्षअघि भन्सारमा फूलको मूल्यांकनदर एकदमै कम थियो । हामीले भन्सारका मूल्यांकन समितिका प्रतिनिधिसँग छलफल गरेर अलि दर केही बढेको छ । कृषिजन्य वस्तु आयात गर्दा ५ प्रतिशत कृषि सुधार शुल्क लाग्ने गरेको छ । यसलाई घटाउन भारततर्फबाट धेरै बहस भए पनि महासंघले घटाउन नदिएको उहाँले बताउनुभयो । अहिले भारतलगायत तेस्रो मुलुकबाट फूल आयात गर्दा १० प्रतिशत शुल्क लाग्ने गरेकोले स्वदेशी फूललाई राहत भएको उहाँको भनाइ छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष कुमार कसजु श्रेष्ठले विगतमा भारतबाट पनि सयपत्री फूल आयात हुने गरेकोमा यस वर्षको तिहारमा स्वदेशी सयपत्रीको फूलमाला नै प्रयोग हुने बताउनुभयो । यसवर्षको तिहारमा सयपत्री १२ लाख र मखमली ३ लाख गरी कुल १५ लाख माला आवश्यक पर्ने भन्दै स्वदेशी उत्पादनले नै धान्ने उहाँको भनाइ छ । माग कम रहेका कारण मालाको मूल्य पनि ६० देखि ७० रुपैयाँको हाराहारीमा मात्रै उहाँले बताउनुभयो । पछिल्लो समय सयपत्री फूलको खेती विस्तार हुँदै गएका कारण आत्मनिर्भरताको अवस्थामा पुगेको श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार भारतबाट खासगरी कलकत्ते प्रजातिको सयपत्री आउने गथ्र्यो तर सो प्रजातिको नेपालमै खेती सुरु भइसकेको छ भने थाइल्याण्डको प्रजातिको पनि खेती सुरु भएको छ ।
पुष्प विकास केन्द्रका प्रमुख सुधीर श्रेष्ठले आयातलाई निरुत्साहित गर्न फूललाई पनि प्लान्ट क्वारेन्टाइनमा समावेश गरिनुपर्ने र क्वारेन्टाइनहरूलाई प्रभावकारी बनाइनुपर्ने बताउनुभयो । पुष्प क्षेत्रको प्रवद्र्धनका लागि केन्द्रले सम्बन्धित विद्यार्थी र संघ संस्थासँग सहकार्यमा अध्ययन अनुसन्धान सुरु गरेको जानकारीसमेत गराउनुभयो । बीउ विजन प्रयोगशाला हेटौडाका प्रमुख निर्मल गदालले कृषि ज्ञान केन्द्रमार्फत सयपत्री फूलको प्रवद्र्धनका लागि धेरै आधुनिक संरचनाहरू निर्माण भएकोले उत्पादन बढेको बताउनुभयो । यद्यपी यसवर्ष कोरोनाका कारण ठूलो संख्यामा मानिसहरू काठमाडौंबाट बाहिरिएका कारण सयपत्री फूलमा आत्मनिर्भर जस्तो देखिए पनि अझै उत्पादन बढाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँले उत्पादनमा फयानले अनुसन्धान र प्रविधिको प्रयोग बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । अनुसन्धानले काठमाडौं उपत्याकामा बाह्रै महिना सयपत्री उत्पादन सम्भव रहेको देखाएकोले सोहीअनुसार उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाइ छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईंले केन्द्रले आफ्नो तर्फबाट अवैध आयातलाई रोक्ने प्रयास गरिरहेको दाबी गर्नुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिको पालना गर्दै अवैध रूपमा भित्रिएको फूललाई रोक्ने, फिर्ता पठाउने तथा त्यसरी भिœयाउन खोज्नेलाई कारबाही गरिएको उहाको भनाइ छ । यद्यपि, वैधानिक रूपमा आएका वस्तुलाई भित्रिन दिनुपर्ने बाध्यता रहेको भन्दै उहाँले उत्पादन बढाएर भारतीय फूलसँग प्रतिस्पर्धा गर्न सकेमा पुष्प आयात घट्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भन्सार मूल्य, कृषि सुधार मूल्य कम भएरमात्र आयात बढेको होइन, यसलाई बढाउँदैमा आयात घट्ने पनि होइन, आयात कम गर्न उत्पादन बढाएर आयातित फूलको मूल्यजतिकै सस्तो बनाउनुपर्छ ।’ तर पनि खुल्ला सिमानाका कारण अवैधरूपमा फूल भित्रिने समस्या रहेको भन्दै यसलाई निरुत्साहन गर्न स्थानीय प्रशासन, प्रहरी र किसानले सहकार्य गर्नुपर्ने उहाँले बताउनुभयो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले फूलको विषयमा फयानका प्रतिनिधिसँग बसेर छलफल गरिरहेको जानकारी गराउँदै बजारमा भारतबाट झिलीमिली तथा आर्टिफिसियल फूल आउने गरेकोले स्थानीय फूलको बजार प्रभावित हुने गरेको बताउनुभयो । फूल उत्पादनसँगै वितरण प्रणालीमासमेत कमजोरी रहेकोले वितरण प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने उहाँको जोड छ । उहाँले भन्नुभयो, ‘फूल केही जिल्लामा राम्रो उत्पादन हुने रहेछ तर त्यसको वितरण र भण्डार प्रणाली भने अलि कमजोर पाइयो, उत्पादन र वितरण दुवै प्रणालीलाई राम्रो बनाउन सक्यौं भनेमात्र हामी फूलमा आत्मर्निभर हुन सक्छौं ।’ उहाँले निर्यातका लागि प्याकेजिङ र ब्राण्डिङमा पनि ध्यान दिनुपर्ने भन्दै व्यवसायीलाई बढी मूल्य लिएर बिक्री नगर्न आग्रहसमेत गर्नुभयो ।
तर माला ६० देखि ७० रुपैयाँ उचितै रहेकोले सोहीअनुसार बिक्री गर्न सुझाव दिनुभयो । यस वर्षको फूल प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम राखिएको कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख कृष्णभद्र अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘वितरणको काम व्यवसायीले गरिहाल्छन् । हामीले फूलको उत्पादन बढाउने कार्यक्रम राखेका छौं ।’ प्लाष्टिकको घर बनाउन दिइने अनुदानको काम छनोटको क्रममा रहेको उहाँले जानकारी दिनुभयो । अधिकारीका अनुसार पकेट कार्यक्रम भने स्थानीय सरकारलाई दिइएको छ । उपत्यकाको २१ पालिकामध्ये गोदावरी १ र नागार्जुन पालिका गरी दुई वटामा फूलको कार्यक्रम रहेको छ । त्यसका लागि २५ लाख विनियोजन हुनेछ ।






