Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

नमस्कारले कोरोना जोखिम कम गर्न सहयोग गर्छ : राष्ट्रिय सभा अध्यक्ष

सुर्खेत ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेनाले कोरोनाको महामारीको जोखिमलाई कम गर्ने एउटा अस्त्र नमस्कार भएको बताउनु भएको छ । हात मिलाउँदा सामाजिक दुरी कायम पनि नहुने र भौतिक रुपमा समेत छोइने भएकोले कोरोना महामारीको जोसिखलाई कम गर्नका लागि नमस्कार उपयुक्त अभिवादन भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘कोरोना महामारीको जोखिमलाई कम गर्न हरेक सांसदले नमस्कार अभियान संचालन गरी गाउँ पुग्नु आवश्यक छ ।’


विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोग तथा कर्णाली प्रदेश सभाको आयोजनामा कोभिड जस्तो महामारी र जोखिममा प्रभावकारी संचारको लागि सांसदहरुको भूमिका विषयक अन्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष तिमिल्सेनाले आर्थिक भन्दा पनि सबैभन्दा ठूलो पूँजि चेतना नै भएको बताउँदै सांसदलाई यस्तो आग्रह गर्नुभएको हो ।

’हामी जनप्रतिनिधिप्रति नागरिकको ठूलो विश्वास छ । हामीले गरेको काम तथा व्यवहार अनुशरण गर्न नागरिक प्रयासरत हुन्छन्,’ उहाँले भन्नुभयो, ’सामाजिक दुरी कायम गर्न, मास्कको उचित प्रयोग गर्नुका साथै नमस्कार गरेर सम्मान गर्न नागरिकलाई आव्हान गरौं । यसका लागि हामी सबै आफ्नो निर्वाचन क्षेत्रमा जाऔँ ।’

अध्यक्ष तिमिल्सेनाले भेन्टिलेटरले मात्रै नागरिकको ज्यान जोगाउन नसकिने बताउँदै सबै नागरिकलाई कोरोनाबाट जोगाउन जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जनताको आत्मबल बढाउन नमस्कार अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
’कोरोनाले समाजमा बहुआयामिक दुष्प्रभाव छोडेको छ । भोगाईबाट शिक्षा लिन आवश्यक छ । आगामी दिनमा आउन सक्ने ठूला महामारीबाट नागरिकलाई कसरी जोगाउन सकिन्छ भन्ने शिक्षा लिऔं,’ उहाँले भन्नुभयो, ’महामारीको उपचारको सन्दर्भमा जनता र सरकारका बीचमा असझदारी कायम भइरहेको अवस्थामा प्रदेश सभा सदस्य तथा जनप्रतिनिधिले पुलको रुपमा काम गरौं । मध्यमार्गी भूमिका खेलेर महामारी विरुद्ध डटौँ ।’

प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले सरकारले अहिले पालिकास्तरमा स्वास्थ्य सेवामा पहुँच पुर्याइरहेको बताउँदै एक्सरे नभएको जिल्लामा भेन्टिलेटर र आइसियू कक्ष स्थापना भइसकेको जानकारी गराउनु भयो ।