Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

तिहारले छोएन ‘कोरोना कमाण्डर’ डा. पूजालाई

‘हामीले सेवा गरेका बिरामीको अनुहारमा दिपावलीको उज्यालो छरियोस्’ - डा. पूजा बिसी

सुर्खेत ।

यतिबेला कोरोना कहर भए पनि जताततै तिहारको रमझम छ । दुल्लु अस्पताल दैलेखकी प्रमुख डा. पूजा बिसीलाई भने तिहारको रमाइलोभन्दा बढी कोरोनाको पिरलो छ । दुल्लु क्षेत्रमा कोरोनाको ‘मेडिकल कमाण्ड’ गरिरहेकी २९ वर्षीया पूजा भन्छिन्, ‘यसपटक मलाई तिहारको रमाइलो भन्दा कोरोनालाई कसरी परास्त गर्ने भन्ने चासो बढी छ, त्यसैले अस्पतालमै तिहार मनाउने योजना बनाएकी छु ।’ अस्पतालमा आफूसँगै कार्यरत एकजना चिकित्सक (भाइ) डा. प्रशान्त चौलागाईलाई टीका लगाइदिने उनले योजना सुनाइन् ।

उनका अनुसार दुल्लुमा हालसम्म १ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ । ती सबै निको भएर घर फर्किसकेका छन् । तैपनि अहिले ओपिडीमा बिरामी आउन छाडेका छैनन् । दैनिक २–३ जना कोरोनाको लक्षण भएका बिरामी आउने गरे पनि पीसीआर परीक्षणको झमेला हुँदा पुष्टि हुन गाह्रो भइरहेको उनले बताइन् । त्यस्ता बिरामीको उपचार र कोरोनाको सावधानीको लागि पनि उनले अस्पताल नछाड्ने योजना बनाएकी छिन् । ‘कोरोनाको यस्तो त्रासदीको बेला सबैले भरोसा गर्ने स्वास्थ्यकर्मी र डाक्टरमाथि हो,’ उनी भन्छिन्, ‘हामीहरु नै ड्युटी छोडेर रमझममा गयौं भने जनताले कसरी विश्वास गर्लान् ?’ कोरोना संक्रमणको विशेष अवस्थामा आफ्नो दायित्व र जिम्मेवारी अझ गहन भएको आफूले महसुस गरेको उनले बताइन् ।

डा. पूजाले कोरोना प्रतिकार्यमा आफूजस्तै अग्रमोर्चामा रहेर तिहारको रमाइलोमा रमाउन नपाएका अन्य चिकित्सक र स्वास्थ्यकर्मीको लागि अर्को वर्षको तिहार विशेष हुने बताइन् । ‘हामीले सेवा गरेका बिरामीको अनुहारमा दिपावलीको उज्यालो छरियोस्, हामीलाई यत्ति भए सन्तुष्टि मिल्नेछ,’ उनले भनिन्, ‘जोखिममा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई थप उर्जा प्राप्त होस् ।’

डा. पूजा कोरोनाकालमा पूरै समय दुल्लुमा बसिरहेकी छिन् । उनले नगर क्षेत्रमा रहेका स्वास्थ्य संस्था र स्वास्यथ्यकर्मीबीच समन्वय गरिरहेकी छिन् । दुल्लु नगरपालिकाले उत्कृष्ट काम गरेको भन्दै बिसीलाई सम्मानसमेत गरेको थियो ।

दुल्लु अस्पतालमा डा. पूजा