नेकपा सचिवालय बैठक कै समयमा मन्त्रिपरिषदको बैठक डाकियो
काठमाडौं ।
बुधबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषदको बैठक डाकिएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबार दिउँसो १ बजेलाई मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो ।

बालुवाटार स्रोतका अनुसार मंगलबार राति मन्त्रीहरुलाई बैठकबारे जानकारी दिइएको थियो । मन्त्रिपरिषद् बैठक प्रायः सातामा सोमबार र बिहीबार बस्ने गरेको थियो । सोमबार भाइटीका परेका कारण आजलाई मन्त्रिपरिषदको बैठक बोलाइएको हो ।
बुधबार नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक दिउँसो १ बजेनै बस्ने गरि यस अघि नै तय भएको थियो । दुई अध्यक्षबीच कुरा नमिलेका कारण आज बस्ने नेकपा सचिवालय बैठक बस्ने नबस्ने अझै अन्योल छ । प्रधानमन्त्री एवम् अध्यक्ष ओली सचिवालयमा प्रस्तुत भएका प्रतिवेदनका लागि बैठक सार्ने पक्षमा हुनुहुन्छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजको सचिवालय बैठकमै सार्ने वा के गर्ने विषयमा छलफल गरिनु पर्ने अडानमा हुनुहुन्छ ।
यसैबीच प्रवक्ता नारायणकाजी श्रेष्ठले दिउँसो १ बजे सचिवालय बैठक बस्ने जानकारी दिनुभयो । उहाँका अनुसार बैठक बालुवाटार वा पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भन्नेचाहिँ अझै तय भने भएको छैन ।
कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि ३ मंसिर अर्थात आज छलफल गर्ने तय भएको थियो ।
यसैबीच मंगलबार राति नै नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्री ओलीसँग भेटघाट गर्नुभएको छ । नेकपाको आन्तरिक किचलो रहेकै बेला उहाँहरु बीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस अघि पनि नेकपा फुटको संघारमा पुगेको बेला चिनियाँ राजदूतको सक्रियता बढेसँगै नेकपा फुटबाट जोगिएको थियो । कतिपयले पछिल्लो समय चीनले नेपाल र नेपालका दलको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको रुपमा लिने गरेका छन् ।






