Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कोरोनासँगै बालबालिकाले मनाए बाल दिवस

दैलेख ।
कोरोना संक्रमणको त्रासले गर्दा विगत ८ महिना देखि विद्यालय सञ्चालन नभए पछि घरमै बस्ना बाध्य भएका बालबालिकाहरुले कोरोना त्रासकै बिचमा पनि अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाएका छन् ।

“विपदमा बालअधिकारको सुनिश्चितता ः हामी सबैको साझा प्रतिबद्धता” भन्ने मूल नाराका साथ गुराँस गाउँपालिकामा रहेका बाल क्लवहरुले विभिन्न कार्यक्रम सञ्चालन गरी अन्तर्राष्ट्रिय बाल दिवस मनाएका हुन । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा बालकल्वहरुले अन्तर्राष्ट्रिय बाल दिवस विगत देखिनै मनाउदै आएका छन् ।
गुराँस गाँपालिका वडा नं १ को देउराली बाल सञ्जालले बालविवाह विरुद्धको सडक नाटक प्रदर्शन गरी बाल दिवस मनाएको छ भने वडा नं ५ मा रहेको प्रगतिशिल बालक्लवले हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरी बाल दिवस मनाएको छ । अन्य वडामा पनि बालक्लवहरुले बाल दिवस मनाएका छन् ।


कोरोना भाईरसको संक्रमणका कारण विद्यालय बन्द भए पछि अहिले बालविवाह बढ्दो अवस्थामा रहेको छ । घरमा पनि काम नहुने र विद्यालय जानु नपर्ने भएपछि बालविवाह बढेको हुदाँ बालविवाह न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक भएको गाँउ बालसञ्जालकी अध्यक्ष कल्पना रामजालीले बताईन् । उनले थपिन, बालविवाह विरुद्धको सडक नाटक सुनिताको कथाले बालविवाह न्यूनीकरण गर्न सहयोग पुग्ने छ ।

अतिरिक्त क्रियाकलापले बालबालिकाको व्यक्तित्व विकासमा सहयोग पुग्ने भएकाले नियमित सञ्चालन गर्नुपर्ने वडा नं ५ को कृष्णा माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद रिजालले बालदिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा बताए । उनले थपे, लक डाउनले गर्दा विद्यालय सञ्चालन हुन नसकेपछि बालबालिकाहरुको सिकाईमा समस्या भएको छ । विद्यालय नियमित सञ्चालन हुन नसकेपनि शिक्षकको सहयोगमा घरमै अध्ययन गर्न बालबालिकालाई आग्रह गरेका थिए ।


नेपाल सहित विश्वका १९३ राष्ट्रहरुले अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धीलाई पारित गरिसकेका छन् । बालबालिकाहरुका आधारभूत आवश्यकताहरु पूरा गर्न गराउन र बाल अधिकारको संरक्षण, परिपूर्ति र सम्बोघन गर्न गराउनका लागि राज्यलाई जिम्मेवार बनाउने उद्धेश्येले बाल दिवस मनाउन सुरु गरिएको सामाजिक सेवा केन्द्रका बालसंरक्षण संयोजक निर्मल अधिकारीले बताए ।

उनले अन्तर्राष्ट्रिय बाल दिवसको मुख्य उद्धेश्यभ भनेकै बालबालिकाहरु माथि हुने हिंसा र दुव्र्यवहारहरुको निराकरण गरी उनीहरुको व्यक्तित्व विकास नरोकिने खालको सहज परिस्थितीको वातावरण सिर्जना गरिदिनु रहेको जानकारी दिए ।


गुराँस गाउँपालिकामा ६ सय ९० भन्दा बढी बालबालिकाहरुले अत्यन्त जोखिमपूर्ण जीवनयापन गरिरहेको अधिकारीले बताए । पारिवारीक विखण्डन र कमजोर आर्थिक अवस्थाका कारण दैनिक जीविकोपार्जनमा समेत कष्ट भोग्दै आएका बालबालिकाहरुलाई स्थानीय सरकार र साझेदार संस्थाहरुले गर्दै आएको सहयोग प्रर्याप्त नभएका कारण उनीहरुको जीविकोपार्जनका लागि थप काम गर्न आवश्यक भएको अधिकारीको भनाई थियो ।