कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला खुल्यो
- 1.9Kshares
- Viber
- Facebook Messenger
काठमाडौं ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ ।
प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्रराज वाग्लेले तेस्रो डीन मुनिराज क्षेत्रीलाई नियुक्त गरेको विरोधमा प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले असोज २८ गतेदेखि तालाबन्दी गरेको थियो ।
मङ्गलबार मात्र प्रतिष्ठान कल्याणकारी समाज र उपकुलपतिसहितको पदाधिकारीको टोलीले माग गरिएका तीन वटा मुख्य बुँदामा सहमति भएपछि ताला खुलेको समाजका अध्यक्ष रमाकान्त उपाध्यायले जानकारी दिए । सहमति भएअनुसार हाल नियुक्त भएका डीन र अन्य डीनको सम्बन्धमा तीन सदस्यीय कार्यदल गठन गर्ने र उक्त कार्यदलले पेश गरेको प्रतिवेदन कार्यकारी परिषद्मा पेश गर्ने सहमति भएको छ ।
त्यसैगरी प्रतिष्ठानको कार्यकारी परिषद्ले आगामी सिनेट बैठकमा निर्णय गराई एक जना डीन प्रमुख रहने र अन्य सङ्कायका डीन सहायक डीन रहने र प्रतिष्ठानमा कार्यरत कुनै पनि कर्मचारी बाहिर काम गर्न र दोहोरो सुविधा भोग गर्न नपाउने गरी सहमति भएको समाजका अध्यक्ष उपाध्यायले बताए ।
यता ललितपुरको महालक्ष्मी स्थानमा रहेको प्रतिष्ठानको सम्पर्क कार्यालय यथाशीघ्र हटाउने र उक्त सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीलाई एक हप्ताभित्र प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला बोलाउने सहमति भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।
काफ्लेका अनुसार सम्पूर्ण पदाधिकारी विशेष कामबाहेक पूरा समय प्रतिष्ठानको केन्द्रीय कार्यालयमा बस्ने सहमति भएको छ । यसका साथै समाजले राखेका छवटै मागका सम्बन्धमा कार्यकारी परिषद्बाट हुबहु पारित गर्ने सहमति भएको प्रतिष्ठानले जनाएको छ ।अनलाइन खबर
- Total: 1.9K
- Viber
- Facebook Messenger