Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

घ्वाच्च घोच्यो

सरकारी पैसा भनेपछि कसरी खाने कसले खाने भन्ने बारेमा निकै जोड चल्दोरहेछ भन्ने कुराको पुष्टि पनि कर्णालीबाटै भयो । सबै भन्दा गरिब प्रदेश पछाडि परेको प्रदेश भनेर चिनिने यस कर्णालीमा पनि पछिल्लो समयमा उल्कै हुन थाल्यो । सबै भन्दा पहिले अविश्वासको प्रस्ताव पनि यही प्रदेशमा आयो । यही प्रदेशमा सत्ता पक्षका माननीयले मन्त्री बराबरको सेवा पनि लिए । मिडिया भिडेपछि सेवा सुविधा नलिने भनेर उदघोष गरेकाहरुले सरकारी गाडिको प्रयोग गरेकै थिए त्यही क्रममा भएको दुर्घटनामा गाडि किनेको मूल्य भन्दा मर्मत खर्च औधि धेरै लाग्ने कुरा पनि यही प्रदेशमा देखियो । किन्दाको मूल्य ४९ लाख मर्मत त ५९ लाख पो पुग्ने भएछ । त्यसरी किनेको मूल्य भन्दा १० लाख बढि खर्च गर्नुपर्ने भए त्यो गाडि उतै छोडेर नयाँ गाडि किनेर ल्याए भएन र । हुन त त्यही गाडि ल्यायो भने फेरि मर्मत खर्च आइरहने होला । नयाँ ल्यायो भने तुरुन्त मर्मतमा हाल्न नपाइने होला । तर एउटा यो हरिलठ्ठकले नबुझेको कुरा के भने गाडि चाही सरकारी अनि एक जना माननीय मात्र मुछिनुको कारण के रहेछ । लु खतम ।

रेल ल्याउने खेलमा लागेका हाम्रा प्रधानमन्त्रीलाई राम्रोसँग काम गर्न नदिनेहरुले जनतालाई भड्काउने र प्रधानमन्त्री विरुद्धका उस्काउने कार्य गरिरहेका छन् । होइन सरकारले गरेका कामहरु यी प्रतिपक्षमा बस्न लायककाहरुले किन देख्दैनन् हँ । बडो अचम्मको कुरा छ । जनता भोकभोकै मरेका छन् र ? खुलामञ्चमा भएपनि सहयोग मागेर भएपनि हात थापेर भएपनि खाएकै छन् । अहिलेसम्म कोरोनाले मरे होलान् । आत्महत्या गरे होलान् तर भोकले मरेको कुनै डाक्टरले प्रतिवेदन दिएका छन् र । नहुने कुरा । उहिले चुनावकै बेलामा भनेका होइनन् र केपी बा ले खानका लागि नो चिन्ता । अहिले खानका लागि किन चिन्ता गर्नु पर्ने अवस्था छ र । अनि देशलाई समृद्धितिर लैजान खोज्दा यिनीहरु किन आत्तिएका हुन क्या । पूर्व संचारमन्त्रीले एउटा समृद्धिको ईंटा थपे । के के मा थपिएन हो समृद्धिको ईंटा । अनि खाली त्यो सबै गरेको देखेर रिसले डाहा गर्नेहरुले आहा भन्न नसकेका हुन् । लु खतम ।

हैन यी भारतीयहरु पनि कति नेपालमा आउन सकेका हो । नेपालीहरुलाई भारतमा जान्छन् रोजगारी गर्छन भनेर रिस गर्नेहरु भारतका त झन ठूलाबडाहरु नेपाल नआइ नसक्ने रहेछन् । कहिले रअ आउँछन् । कहिले सह आउँछन् कहिले सचिव आउँछन् । आखिर नआउन पनि किन रोटी र बेटीको सम्बन्ध छ । त्यसलाई पूरा गर्न पनि आउनै पर्छ । नत्र अहिले नक्सामा समेटेको भू–भागलाई भूमिमै नेपालले समेटिदियो भने परेन त फसाद । यता नक्सामै समेटेर भएपनि राष्ट्रवादी कहलाइएकाहरु फेरि कोकोहोलो गर्न पछि पर्दैनन् भन्ने थाह छ नि त । लु खतम ।

घुम्दै फिर्दै रुम्जाटार भने झैँ फेरि यो हरिलठ्ठकको कुरा पनि राजनीतिमै पुग्ने भयो । कुरो गर्नै पर्दा सानातिनाको गर्ने कुरा भएन ठूलैको गर्नु प¥यो । कूल पनि ठूलै, मूल पनि ठूलै । पार्टी पनि ठूलै अहिले देखिएको सुल पनि ठूलै । ठूलाका कुरा नगरि मुलाका कुरा कसरी गर्नु । कुनै समयमा हामी एक भयौं भनेर दरा हात मिलाएकाहरु अहिले खरा भाषण दिइरहेका छन् । कुन दिन प्याट्ट फुट्छन् र विचराहरु बन्ने हुन् अत्तोपत्तो छैन । एकले एता तानेको छ अर्कोले उता तानेको छ । एकता पूरा नहुँदै ए–कता हुने अवस्थाको सिर्जना भएको छ । पर बसेका काँउरेसीहरु मुख मिठ्याइरहेका छन् । होइन ओली बा ले पनि कति जानेका । जनतालाई रेल र पानी जहाज ल्याउने आशा देखाएका न परे काँउरेसीलाई ८ मन्त्रालय दिने भनिदिए रे । नेकपा फुट्ने नफुट्ने टुङ्गो छैन सलाम खान नपाएका काँउरेसीहरु दौरा सुरुवाल सिलाउँने तयारी गर्न थालिसके रे भनेको सुनेर फेरि एकपटक यो हरिलठ्ठकलाई घ्वाच्च घोच्यो ऐया ऽऽऽऽऽऽऽ