Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

संखदास – व्यङ्ग्य

पछिल्लो समयमा जे हुन्छ कर्णालीमा हुन्छ । चिसो पनि सबै भन्दा पहिले कर्णालीमै सुरु हुन्छ । मंसिर लगनको महिनामै अत्याधिक चिसो भएका कारण विहे गर्नेहरुलाई समस्या हुन थालेको छ । हुन त विहेपछिको समस्या भनेको दुलाहालाई होला । त्यो भन्दा पनि बढि दुलहीका बाआमालाई होला । कताबाट ऋण गरेका थिए कति व्याज तिर्नु पर्ने हो । यो त चिसोको कुरा भयो हजुर । उता जनताको स्वास्थ्यको ख्याल गर्ने भनेको पनि सरकार नै हो । त्यसैले कर्णालीका सामाजिक विकास मन्त्री हेलिकोप्टर नै चार्टर गरेर यहाँका स्थानीय तहमा १५÷१५ शैयाको अस्पताल शिलान्यास गर्दै हिडे । बाबै त्यो चार्टर गर्ने पैसो बरु त्यो अस्पताललाई दिएको भए केही राहत हुँदो हो । कति हेलिकोप्टरमा उड्न मन लागेको भन्या । गर्भवतीको ज्यान जोगाउने पवित्र कार्यमा पनि हाम्रा मन्त्री सांसदहरु हेलिकोप्टरमा उड्छन् त । के भा का हुन् यी । लु खतम ।


चिसोको कुरा गरिरहेको बेला कर्णालीको राजधानीमा तातियो हजुर । आकाशबाट अलि अलि आएको घामको न्यानोले होइन राजा आउ देश बचाउ भन्ने नाराले । हिजोका दिनमा यही लोकतन्त्रका लागि यही गणतन्त्रका लागि लडेकाहरु सरकार चलाइरहेका छन् त्यो पनि गणतन्त्रवादीहरु । यति बेलै गणतन्त्र चाहिँदैन भन्ने नाराका साथ राजावादीले तताए सुर्खेत । त्यसको अलि अलि न्यानो यो हरिलठ्ठकलाई मिल्यो । राष्ट्रिय झण्डा फररर पारेका देख्दा राष्ट्रवादी नै रहेछन् भन्ने लागेर पनि न्यानो मिल्नु स्वभाविकै हो । हुलका हुल प्रहरी के गर्न खटाएको होला । खुरुक्क जुलुस गर्न दिएको भए त भइहाल्थ्यो नि । लु खतम ।

मृगले आफैले पादेर आफैले गन्ध मानेर आफै भाग्छ रे भनेको सही लागेको छ । कानूनको पालना गर्ने गराउने प्रहरी त्यो पनि प्रमुख । यताका पहिलेका प्रमुख क्या । त्यो पनि ट्राफिक प्रहरीका प्रमुख । खुब आदर्शका कुरा गर्थे । हामी त देश बनाउने अनि सुशासन कायम गराउने भन्थे । एक भन्दा दुई दुई जना सुर्खेतमै बसेर कर्णालीको नेतृत्व गरेका । बस्नेत मज्जाले खान बसेछन् । यादवले ज्यादती नै गरेछन् । दुबै जना निलम्बित भए । होइन यी आफै यस्ता भएपछि अरुलाई के गरे होलान् । यिनका तलका रोडमा बस्नेहरुले के गरे होलान् । आफैले त्यसो गर्ने हिम्मत नगरेपनि यिनको निर्देशनको पालना त गर्ने नै भए । खानपनि कति सकेका बाबै अजिर्न हुने गरि । निलम्बनमै पर्ने गरि । लु खतम ।

पीडा छ हजुर पीडा छ । काम गर्नेलाई पनि पीडा छ । काम गराउनेलाई पनि पीडा छ । सहज बाटोमा हिड्नेलाई पनि पीडा छ । त्यही बाटोमा हिडाउनेलाई पनि पीडा छ । अर्कालाई ट्राफिक नियमको पालना गर्नुपर्छ भन्ने मान्छेले नै आफैले टोपी नलगाउने अनि अरुलाई सभ्यताको पाठक सिकाउनेहरुलाई पनि पीडा छ । उनीहरुलाई पार्किङ्गस्थल पुग्न फुर्सद भएको भए नो पार्किङ्ग अगाडि गाडि उच्याएर सर्वसाधारणसँग निहुँ खोज्थे त । निहुँ पनि क्या दमदार शैलीमा पो खोजे त । हेलमेड लैजाने रे लिने त मोटरसाइकल नै लैजानु नि । चढ्न पनि हुने । अलि ठूलो इश्यू बन्थ्यो होला । जनतालाई अखबारका पानामा पढ्न पनि हुने । लु खतम ।

कुरो कर्णालीको हुँदै थियो । उता कर्णालीबाटै सल्किएको राजनीतिक आगो अहिले उता बालुवाटार खुमलटारमा सल्किएको छ । कहाँ कहाँ सल्किने हो । क–कसलाई पोल्ने हो । जनताहरु पनि रिसाउन थालेका छन् । दुःखका भारी बिसाउन थालेका छन् । राजावादीहरुसँग भाका मिसाउन थालेका छन् । विचरा उतिबेला सिलाएका दौरा सुरुवाल अहिलेसम्म काम लागेनन् । सबले नेतालाई नै दोष दिन्छन् । उनीहरुको पीडा कोही बुझदैनन् । दौरा सुरुवाल लगाउनै नपाउनु । सपथ खानै नपाउनु भोकभोकै हिड्नु कम्तिको पीडा छ भनेको सुनेर यो हरिलठ्ठकलाई घ्वाच्च घोच्यो ऐया ऽऽऽऽऽऽऽ