Loading... आजः १७ बैशाख २०८३, बिहीबार । Thursday 30th April 2026
ताजा खबर
  

हिंसाको राजनीति नगरौं

कुनै समयमा माओवादीले गरेको सशस्त्र विद्रोहका कारण देशले ठूलो नोक्सानी भोग्नु परेको थियो । भलै त्यस आन्दोलनबाट केही उपलब्धीहरु भए । नेपाली जनताले आफ्नै प्रतिनिधिबाट लेखिएको संविधान प्राप्त भयो । देशको शासन प्रणाली गणतन्त्र र संघीयतामा गयो । जनताका छोराछोरी राष्ट्रप्रमुख भए । तर नेपाली जनताको दैनिक जीवनस्तरमा परिवर्तन भयो कि भएन ? राजनीतिक परिवर्तनका लागि विभिन्न खाले आन्दोलनहरु हुन्छन् । तर त्यसलाई हत्या र हिंसामै पु¥याउनु पर्छ भन्ने होइन । हिंसाको राजनीतिले केही समयको लागि सफलता प्राप्त गर्न सकिएला तर सदाको लागि जनताको मन जित्न सकिदैन भन्ने कुरालाई मनन् गर्न जरुरी छ । आजको नेकपासँगै भएका तत्कालिन माओवादी नेताहरुले गरेको आन्दोलनसँगै होमिएको एउटा खेमा आज पनि आन्दोलनमै छ । जसले एक जना शिक्षकलाई सुराकीको कारण हत्या गरेर हत्याको राजनीति सुरु गरेको संकेत दिइरहेको छ । यो राम्रो संकेत होइन ।

नेपाल सरकाकारले आन्दोलनकारीको रुपमा नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) समूहलाई राजनीतिक प्रतिबन्ध लगाउनु भूल हो । हिजोका दिनमा सँगै आन्दोलन गरेर आजको राजनीतिक उपलब्धीमा पु¥याएकाहरुले गरेको योगदानको कदर गर्नुपथ्र्यो । उनीहरुका माग के हुन् भन्ने कुरालाई मनन् गर्नु पथ्र्यो तर त्यसो नगरी राजनीतिक प्रतिबन्ध लगाएर उनीहरुलाई तह लगाउँछौ भन्नु मुर्खता हो । हिजो टाउकाको मूल्यसमेत तोकिएको अवस्थामा त प्रतिबन्धले केही गर्न सकेन भने आज त देशमा न राजा छन् न तत्कालिन अवस्थाको शासन व्यवस्था छ । वाक स्वतन्त्रता माथि नै दमन गर्ने हेतुले त्यसो गरिनु उचित थिएन र छैन पनि ।

जुन समयमा जनता समस्या थिए । संचारको विकास भएको थिएन । गाउँ–गाउँमा माओवादीको आन्दोलनलाई साथ दिएर नेपाली जनताले आजको राजनीतिक व्यवस्था पुग्न सहयोग गरे । तर भोलि पनि त्यसरी नै अर्को आन्दोलन सफल बनाउँछौ भनेर सपना देखिएको छ भने त्यो सफल नहुन पनि सक्छ । किनकी जनता अब कुनै पनि राजनीतिक दलको थिचोमिचो सहन गर्नेवाला छैनन् । त्यसैले कुनै पनि राजनीतिक दलले हत्या र हिंसाको बाटो नअंगाल्नु नै बेश होला । यसै सन्दर्भमा शासन सत्ता संचालन गर्नेहरुले पनि आन्दोलनलाई दबाउने नाममा प्रतिहिंसाको बाटो समात्ने हो भने त्यसले उग्र रुप धारण गर्दछ भन्ने कुरा बुझ्नु जरुरी छ । विप्लव समूहका नेतालाई लुकाएको बहानामा पत्रकारका घर र डेरा नै खानतलासी गर्ने जुन कुकार्य सरकारी निकायबाट भयो त्यसले सरकारप्रति नै आक्रोशित बनाउँछ । हिजोका दिनमा भएको पनि त्यही हो । त्यसैले कुनै पक्षबाट पनि हत्या हिंसा र प्रतिशोधको भावना भन्दा पनि आ–आफ्ना एजेण्डाहरु लिएर जनताका सामु जानु उचित हुन्छ । हिंसाको राजनीति गरेर सफलता प्राप्त गर्न सकिदैन भन्ने कुराको हेक्का राख्ने कि ।आजको सूक्ष्मदृष्टिमा प्रकाशित सम्पादकीय