कोरोना खोपको शीघ्र उपलब्धताका लागि गृहकार्य हुँदैछ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पु¥याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताउनुभएको छ । विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध देशका लागि स्वस्थ नागरिक’को अवधारणा साकार पार्नका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा पहुँचको व्यवस्था सुनिश्चित गर्न ‘एक स्थानीय तह, एक स्वास्थ्य संस्था’, ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बिमालगायत कार्यक्रम सञ्चालन गरिएको स्मरण गराउनुभयो ।
सन्देशमा भनिएको छ, ‘पूरै अनुभव शून्यताको अवस्थाबाट हामीले यसको रोकथाम, नियन्त्रण र उपचारको काम सुरु गरेका हौँ । एउटा पनि परीक्षण गर्न नसक्ने अवस्थाबाट आज हामी एकै दिन हजारौंको संख्यामा परीक्षण गर्न सक्ने अवस्थामा पुगेका छौँ । स्वास्थ्य पूर्वाधारमा ऐतिहासिक बढोत्तरी गरिएको छ । सबै पालिकामा अस्पताल निर्माण गर्ने काम प्रारम्भ भइसकेको छ ।’
प्रधानमन्त्री ओलीले आधुनिक सभ्य समाजमा आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न अरूको ज्यानै लिने वा राष्ट्रका विभिन्न साझा सम्पत्ति र संरचना ध्वस्त पार्ने जस्ता असामाजिक र अमानवीय कार्य स्वीकार्य नहुने बताउँदै त्यस्ता कार्य दण्डनीय हुने बताउनुभएको छ ।
‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को संक्रमणले मानव अधिकारको उपभोगमा चुनौती थपिदिएको छ । यसले बाँच्न पाउने हक पहिलो हक हो भन्ने कुरा पुनः पुष्टि गरेको छ । संघीय, प्रदेश र स्थानीय सरकारले आफ्नो स्रोत, साधन र क्षमताको अधिकतम उपयोग गरी यसको रोकथाम, नियन्त्रण र उपचारमा दत्तचित्त रही कार्य गरिरहेका छन् ।’
प्रधानमन्त्री ओलीले जनताबाट प्राप्त सुझाव, टिप्पणी र स्वस्थ आलोचना सरकारका लागि मार्गदर्शक हुने तर अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन नसक्ने चेतावनी दिनुभएको छ ।
उहाँ भन्नुहुन्छ, ‘लोकतन्त्रको अपरिहार्य अंगका रूपमा रहेका प्रतिपक्षी दल, सञ्चारमाध्यम र नागरिक समाजको रचनात्मक आलोचनाको नेपाल सरकार हमेसा स्वागत गर्दछ’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ‘तर आलोचनाको नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सदभावमाथि नै प्रहार गर्ने, जाग्न थालेको जनताको आशामाथि चिसो पानी खन्याउँदै निराशा, हताशा र कुण्ठा प्रवाहित गर्ने र समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन सक्दैन ।’
आफूले ठूलो विश्वासका साथ जिम्मा दिएर पठाएको आफ्नो सरकारलाई खबरदारी गर्ने नागरिकको सार्वभौम हकलाई सरकारले सदैव उच्च सम्मान गर्ने ओलीको भनाइ छ ।
उहाँले नेपाल सरकारले यस वर्ष ३९६ पालिकामा पाँच, १० र १५ शै्ययाका आधारभूत अस्पताल र सात वटै प्रदेशमा सरुवा रोग अस्पतालको निर्माण प्रारम्भ गर्ने लक्ष्यअनुरूप एकैदिन ३०९ पालिकामा आधारभूत अस्पताल र तीन प्रदेशमा सरुवा रोग अस्पताल निर्माणको काम प्रारम्भ भइसकेको पनि जनाउनुभयो ।
साथै प्रधानमन्त्री ओलीले यी सबै प्रयासबाट नेपालमा कोभिड–१९ को महामारी नियन्त्रणभन्दा बाहिर जानबाट रोक्न सफल भएको र बन्दाबन्दीदेखि नै जनसमुदायको असाधारण सहयोग रही आएको बताउनुभएको छ ।






