राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाद्वारा आन्दोलन घोषणा
काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु तय गरेको छ ।
पार्टीको केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो ।
यस्ता छन् आन्दोलनका कार्यक्रम
पुस १२ गते ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय राप्रपाले गरेको छ । पुस १२ गतेदेखि २१ गतेसम्म जिल्ला सदरमुकाम तथा ठूला सहरहरुमा मोटरसाइकल र्याली गर्ने र पुस १५ गतेदेखि २५ भित्र जिल्ला सदरमुकामहरुमा जनप्रदर्शन गर्ने निर्णय राप्रपाले गरेको छ ।
राप्रपाका अनुसार पुस चौथो हप्तादेखि भने दोस्रो चरणका कार्यक्रम सन्चालन हुने छ । तर दोस्रो चरणको कार्यक्रमको स्वरुप भने राप्रपाले सार्वजनिक गरेको छैन ।
यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ६ र ७ गते गर्ने निर्णय पनि राप्रपाले गरेको छ ।









