Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

‘शिव लिङ्ग’ कुनै शिव भन्ने पुरुषको यौनाङ्ग होइन, के हो त ?

‘लिङ्ग’ शब्दले चिन्ह, सङ्केत, लक्षण वा प्रतीक अर्थ लाग्छ । बालबालिकामा ‘पुरुष वा महिला’का सबै लक्षणहरू विकास भइसकेका हुँदैनन् । त्यसैले पुरुष हुने वा महिला हुने भन्ने एउटै स्पष्ट लक्षण ‘यौन अङ्ग’बाट मात्र छुट्याउन सकिन्छ । योनी (Vegina) भए स्त्रीलिङ्गी वा बालिका र तुरी (Penis) भए पुलिङ्गी वा बालक भनेर चिनिन्छ ।

बालबालिकाहरू बयस्क हुँदै जाँदा अरु लक्षण वा चिन्हहरू विकास हुँदै जान्छ । जस्तो- पुरुष भए दाह्रीजुँगा आउने, शरीरमा मांसपेशीहरू कडा हुने, स्तन नबढ्ने आदि । त्यस्तै, महिला भए छाला र शरीर नरम हुने, स्तन बढ्ने, दाह्रीजुँगा नआउने, रजस्वला हुने आदि ।

अधिकांश बालक भनेर चिनिने ब्यक्तिमा बयस्क हुँदा पुरुषमा हुने लिङ्गहरू (अर्थात् चिन्ह वा लक्षणहरू वा सङ्केतहरू वा प्रतीकहरू) देखापर्छन् र बालिकाहरूमा महिलामा हुने चिन्हहरू देखा पर्छन् । तर अल्पसङ्ख्यक बालबालिकाहरूमा भने अलिकति फरक तरिकाले लिङ्गहरू (लक्षण वा चिन्ह वा सङ्केत वा प्रतीकहरू)को विकास हुन्छ । उनीहरूमा बालिकाको यौन अङ्ग भए पनि हुर्कंदा पुरुषमा हुने लिङ्गहरू (अर्थात् चिन्हहरू वा लक्षणहरू वा सङ्केतहरू वा प्रतीकहरू) देखापर्न सक्छन् । त्यस्तै, बालकको यौन अङ्ग भए पनि हुर्कंदा महिलामा हुने लिङ्गहरू (अर्थात् चिन्हहरू वा लक्षणहरू वा संकेतहरू वा प्रतीकहरू) देखापर्न सक्छन् । यस्ता ब्यक्तिलाई पूर्वीय दर्शनअनुसार ‘तेस्रो लिङ्गी’ भनेर भनिएको छ ।

हुन त केही बालबालिकाहरूमा जन्मदा नै स्पष्ट यौन अङ्ग नदेखिने पनि सक्छ । दुवैथरि मिसिएको यौन अङ्ग भएको बालबालिका छ भने ‘उभय व्यञ्जक’ र कुनै पनि यौन अङ्ग नदेखिने रहेछ भने ‘पाण्डक’ भनिएको छ । ‘तेस्रो लिङ्गी’ शब्दलाई लिएर पनि निकै भ्रम छ । यहाँ तेस्रो भनेर कुनै पहिलो, दोस्रो र तेस्रो दर्जा छुट्ट्याउने अर्थमा भनिएको होइन । यसलाई बुझ्नका लागि ‘तेस्रो आँखा’ शब्दलाई हेरेपछि बुझ्न सकिन्छ । बाहिर प्रकट भएका हाम्रा दुई आँखाबाहेक पनि झ्वाट्ट हेर्दा नदेखिने तर ध्यान योग साधनाबाट खुल्ने अर्को, फरक, विशेष (तेस्रो) आँखा हामीभित्र छ । त्यस्तै अर्थमा बालबालिका हुँदा प्रकट भएका यौन अङ्गले मात्र देख्न नसकिने, पछि हुर्कंदै जाँदा मात्र विस्तारै देखिँदै जाने, आममहिला र पुरुष भन्दा, अर्कै, फरक, विशेष (तेस्रो) लिङ्गी ब्यक्तिहरू पनि छन् भन्ने अर्थमा ‘तेस्रो लिङ्गी’ शब्द प्रयोग भएको पाइन्छ ।

त्यसैले पुर्वीय दर्शनमा तीन (वा सो भन्दा बढी) लैङ्गिक ब्यक्तिहरूको अस्तित्व स्विकार गरिएको छ । जबकि पश्चिमा दर्शनअनुसार दुईथरिका लैङ्गिक ब्यक्तिहरूको मात्र अस्तित्व स्विकार गरिएको छ । त्यसैले त बालक यदि पुरुष भएर हुर्कन सकेन भने ‘पारि (transition-accros) तिर’ जाउ र महिला बन, त्यस्तै बालिका यदि महिला भएर हुर्कन सकेन भने ‘पारि-तिर’ जाऊ र पुरुष बन भन्ने बाध्यता रहन्छ । पुर्वीय दर्शनले जसरी पुरुष वा महिलाका भन्दा पृथक विशेष वा फरक वा भिन्न (तेस्रो) लिङ्गीको अस्तित्वहरू स्विकार गर्दैन । त्यसैले transition अर्थात् ‘पार लाग्नु’पर्ने व्यक्तिहरू भनेर transgender (पारलिङ्गी) हो भन्दै, transition (पार भइसकेपछि पुरुष बनेका ब्यक्ति) र transwoman (पार भइसकेपछि महिला बनेका ब्यक्ति) भनेर, अन्तमा पुरुष वा महिलाको ‘क्याटागोरी’ मा बस्न बाध्य बनाएको पाइन्छ । जबकि पूर्वीय दर्शनअनुसार महिला वा पुरुष नभएका ब्यक्तिहरूको पनि छुट्टै अस्तित्व स्विकार गरिएको छ ।

हो, आज पश्चिमा भाषा, संस्कृति, सामाजिक, आर्थिक, राजनैतिक सोचको प्रभाव व्यापक छ विश्वभर । पश्चिमा सभ्यताबाट आएको सबै कुरा, कुनै प्रश्न नै नगरी, हामी लागु गर्न तयार छौँ, तर पूर्वीय सभ्यता, भाषा, संस्कृतिलाई अन्धविश्वास वा अवैज्ञानिक मान्ने प्रवृत्ति बढ्दै गएको छ हरेक क्षेत्रमा । त्यसैले ‘तेस्रो लिङ्गी’ नराम्रो वा अपमानजनक शब्द बिल्कुलै होइन । ‘तेस्रो’ शब्दमा अझै पनि हिचकिचाहट छ भने ‘विशेष लिङ्गी’ भन्दा पनि हुन्छ । तर ‘transgender’ (पारलिङ्गी) शब्दले पूर्वीय दर्शन र लैङ्गिक विविधतालाई न्याय गर्दैन भन्ने पङ्क्तिकारको मान्यता छ ।

शिव लिङ्ग’ भनेको कुनै शिव भन्ने पुरुषको यौन अङ्ग होइन । ‘शिव’को अर्थ मंगल, कल्याण भन्ने लाग्छ । त्यसकारण ‘शिव लिङ्ग’ भनेको पनि मंगल वा कल्याणको प्रतीक वा सङ्केत हुन सक्छ र, कल्याण, मङ्गल भन्ने कुरा तेस्रोलिङ्गी वा महिला या पुरुष हुनुमा सीमित हुँदैन । घटना र विचार