Loading... आजः ३ बैशाख २०८१, सोमबार । Monday 15th April 2024

ज्योतिष विज्ञान, आवश्यकता र विश्वसनीयता

विश्वको सबैभन्दा पूरानो धर्म हिन्दु धर्म । हिन्दु धर्मको सुरुवातीका बारेमा यसै तिथि मिति तोकेर भन्न सकिदैन । यो ब्रम्हाण्डमा भएका विभिन्न तारा मण्डलहरु, ग्रहहरु र तिनको गणनाबाट ज्योतिष शास्त्रको विकास भएको हुनुपर्छ ।

खगेन्द्र अधिकारी ‘अमृत’

ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गर्नु हो । त्यसरी गरिएको अध्ययनलाई यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ ।

वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन् । त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ । वैज्ञानिकहरूले आज कम्प्युटर, दूर्बिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोगशालामा वर्षौ बसेर पूरा ब्रह्माण्ड कै अध्ययन गर्दै आएका छन् ।

ज्योतिषशास्त्रको प्रारम्भ मेसोपोटामियाको प्राचिन सभ्यतामा नै भएको थियो । ग्रिस हुँदै भारतमा र नेपालमा पनि त्यही विद्या फैलिएको हो भन्ने विद्वानहरूको धारणा छ । भारतीय उपमहाद्विपमा अहिले अभ्यास गरिँदै गरिएको ज्योतिषशास्त्रमा धेरै विविधता छ, र पश्चिमाको दाँजोमा धेरै कुरा थपिएको पनि छ । यहाँको सामाजिक परम्परा, दर्शन, स्थानीय विश्वास आदिको आधारमा यसको रूप नै परिवर्तन भइसकेको जस्तो छ । प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो । पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो ।

राशी स्थिर रहन्छ । ग्रहहरू गतिशील । कुनै खास समयमा ग्रहहरू आफ्नो भ्रमणको क्रममा कुन राशीमा पुगेका हुन्छन्, त्यही आधारमा कुण्डली निर्धारण हुन्छ । सम्बन्धित राशीहरू यी ग्रहका नैसर्गिक घर हुन् । आफ्नो स्वभावअनुसार ग्रहले सम्बन्धित घरको प्रवृत्तिलाई कमजोर पार्ने वा बल दिने गर्दछ । आफ्ना आफ्ना घरमा भएका बेला यिनीहरू बलवान हुन्छन् । ग्रहहरूबीच शत्रुभाव, मित्रभाव वा समभावको सम्बन्ध रहेको हुन्छ । शत्रुको घरमा पुगेको बेलामा ग्रह कमजोर हुन्छ ।

पूर्ण फलादेशको लागि धेरै कुराको विचार आवश्यक हुन्छ । एउटा हो दृष्टि । ठाडो दृष्टि र विशेष दृष्टि महत्वका हुन्छन् । कुनैपनि ग्रहले आफू रहेको स्थानबाट सातौँ घर (आफू रहेको घरसमेत गरेर घडीको उल्टो दिशामा गन्दा सातौँ स्थानमा आउने घर)मा ठाडो दृष्टि दिन्छ । यो दृष्टिलाई ज्योतिषशास्त्रमा बलवान दृष्टि मानिन्छ । त्यस्तै अर्को दृष्टि हो विशेष दृष्टि । शनी ग्रहले आफ्नो घरबाट तेस्रो र दशम घरमा, मङ्गल ग्रहले चौथो र अष्टम घरमा र वृहस्पतिले पञ्चम र नवम घरमा विशेष दृष्टि दिन्छ । फलादेशमा ख्याल गरिने अर्को पक्ष ग्रहयोग हो । दुई वा दुईभन्दा बढी ग्रह एउटै घरमा रहनुलाई योग भनिन्छ ।

त्यस्तै कुण्डलीमा नदेखाइने तर महत्वपूर्ण कुरा हो ग्रहहरूको उदय र अस्त । राशीमा भर्खर प्रवेश गरेको ग्रह उदाउँदो हो भने, अर्को राशीमा प्रवेश गर्ने बेला भएको ग्रह अस्ताउँदो । उदाउँदो ग्रहको प्रभाव बलवान हुन्छ । ग्रहका आफ्ना भोगकाल हुन्छन् । त्यसलाई दशा भनिन्छ – वृहस्पतिको १६ वर्ष, शनीको १९ वर्ष, केतुको ७ वर्ष, शुक्रको २० वर्ष आदि । दशाहरू पनि विभिन्न खालका हुन्छन् – विंशोत्तरी दशा, योगिनी दशा आदि । योगिनी दशा अलिक बेग्लै हो, तर यो महत्वपूर्ण मानिन्छ । फेरि दशाभित्र अन्तरदशा, प्रत्यन्तर दशा हुन्छन् – एउटा ग्रहको दशाभित्र फेरि सबै ग्रहको भोगकाल विभाजित हुन्छ । त्यसलाई अन्तरदशा भनिन्छ र अन्तरदशालाई पुनः विभाजन गरेर प्रत्यन्तर दशा निकालिन्छ । लग्नमा ग्रहहरूको स्थिति र सम्बन्धित दशा, अन्तरदशा, प्रत्यन्तर दशासमेतको विचार गरेर मात्र कुनै कुराको वास्तविक भविष्यवाणी गर्न सकिन्छ ।

यस्तै तिथि, बार, महिना, प्रहर, करण, योग आदिलाई पनि फलादेशमा महत्व हुन्छ । पूर्वीय ज्योतिषमा नक्षत्रलाई पनि महत्व दिइन्छ । चन्द्रमाले पृथ्वीलाई घुम्ने अवधिको आधारमा नक्षत्र गणना गरिन्छ । नक्षत्र जम्मा २७ (अभिजित समेत गरेर २८) वटा छन् । एउटा नक्षत्र चार पाउमा विभाजित हुन्छ र एक एक पाउसँग एक एक अक्षर सम्बन्धित हुन्छन् । यस्ता नौ अक्षरहरू एउटा राशीभित्र समेटिएका हुन्छन । यिनै कुनै एउटा अक्षरबाट जातकको नाम राखिन्छ ।

बाह्र राशीका जम्मा १०८ वटा अक्षरले सबै मानिसको नाम जुराउँदछ । यसप्रकार जातकको राशी पूर्वीय परम्परामा चन्द्रमाको आधारमा निर्धारण हुन्छ । तर पश्चिमी परम्परामा सूर्यको आधारमा निर्धारण हुन्छ । जनबोलीमा एउटै कुरालाई जोड्दै जोड्दै लम्ब्याउने प्रवृत्तिलाई ‘बाह्र सत्ताइस कुरा’ भन्ने चलन छ । त्यो बाह्र राशी र सत्ताइस नक्षत्रलाई सङ्केत गरेको हो । मतलब कि यसको कुरा जति गरे पनि टुङ्गिदैँन ।

ज्योतिष विज्ञान आफूमा पूर्ण सत्य विज्ञान हो । यसमा कसैको शंका नरहोस् भन्ने भनाई ज्योतिषीहरूको रही आएकोछ । तर समयसंगै यसमा धेरै विकारहरू आएका छन् । यो विद्यालाई आज पैसा कमाउने भाडाको रूपमा प्रयोग गरिएको छ । आदि युगमा धेरै ऋषिहरूले धेरै विस्तृत विशाल विज्ञानको रूपमा विकास गरिसकेको ज्योतिष शास्त्र आज थोरै व्यक्तिहरूको गलत व्यवहारका कारण मृत तुल्य हुन पुगेको छ ।

नौ ग्रह र अठाईस नक्षत्रका नामसम्म नजान्ने व्यक्तिहरू आफ्नो नामको अगाडि श्री ज्योतिषविज्ञ, ज्योतिष भास्कर, डाक्टरसम्म लेख्न पछि परेका छैनन् । जसको फल स्वरूप आज यो दिव्य विज्ञान ओझेलमा परेको हो । त्यसका केही दोषी हामीहरू पनि हौं । किनकि यस विषयलाई कमाई खाने भाडाको रूपमा प्रयोग गर्नु पूर्व हामी गहन अध्ययन गर्न चाहदैनौ । दुईचार वटा श्लोक रटेको भरमा मानव जीवन र सम्पूर्ण चराचरको मनगढन्त फलादेश गर्न थाल्दछौ संयोगबस कसैको मिल्छ, तर अधिकतर मिल्ने कुरामा तपाईँ हामी आफै ग्यारेण्टी गर्न सक्दैनौ । यसको अपवादमा दुईचार जना विद्वानहरू हुनुहुन्छ जसलाई उपरोक्त श्रेणीमा राख्न मिल्दैन । आज जसरि विज्ञानका विद्यार्थीहरूले नयाँनयाँ खोज र सिर्जनाहरू गरिरहेका छन्, त्यस्तै यसमा पनि विद्यार्थिहरूको अथक मिहेनत र खोजको आवश्यकता छ । यदि सही ढङ्गले तपाईले यो शास्त्रको अध्ययन गर्नुभयो भने तपाईँ एउटा विश्वासिलो वैज्ञानिक पनि हुनुहुनेछ । कुनै व्यक्तिविशेषको मनगढन्त ग्रन्थ अध्ययन गरेर मानवजीवनको पूर्ण भविष्यफल कथन गर्ने ग्यारेण्टी गर्नु्, जुन अतीव गलत परम्परा हो, यसको न्यूनीकरण गर्नु अति आवश्यक छ ।

आजको युगमा पनि ज्योतिष विज्ञानको त्यत्तिकै महत्व छ । किनकी ज्योतिष विज्ञानले प्रमाणित गरेका कुराहरुलाई कसैले काट्न सक्दैन । कुनै सालको कुनै महिनाको कुनै गते कुनै समयमा चन्द्र वा सूर्य ग्रहणको बारेमा ज्योतिषले प्रमाणित गरेको कुरा सत्य सावित हुन्छ । त्यसैगरि यस विज्ञानको गणितफलबाट गहिरो अध्ययन गरि निकालिएको कुनै पनि ग्रहको प्रभावमा पनि शंका छैन । पछिल्लो समयमा हामी धार्मिक रुपमा नास्तिक बनेका हौला । तर यो केवल धर्म वा हिन्दुधर्मसँग मात्र सम्बन्धित नभई विज्ञान सम्मत् भएको कारणले पनि यसको विश्वासनीयता रहेको हो । अर्को तर्फ यसको आवश्यकता पनि त्यत्तिकै छ । हामीले देखेका छौ विश्व अर्थतन्त्रमा फड्को मारेको चीन होस् या विश्वलाई आफ्नो काबुमा राख्न चाहने अमेरिका अथवा बेलायत । सबै देशले सबै धर्मले कुनै न कुनै ढंगले ज्योतिष विधाको अनुशरण गरेकै छन् । त्यसैगरि बाहिर धर्मप्रति नकारात्मक रुपमा कुरा गर्नेहरु पनि आन्तरिक रुपमा ज्योतिष विधाको प्रयोग गरिरहेका हुन्छन् ।

पछिल्लो समय हाम्रो समाजमा यो विधालाई सकारात्मक र नकारात्मक रुपमा व्याख्या गर्न थालिएको छ । यो दुःखद पक्ष हो । यसलाई कमाइखाने भाँडोको रुपमा प्रयोग गनुृ तथा यसको सूक्ष्म अध्ययन नगरि आफू महान ज्योतिष भएको भन्दै समाजमा फलादेश फलाक्नु र त्यो फलादेश सही प्रमाणित नहुनुले पनि यसको मर्ममा असर परेको छ ।

हजारौं वर्ष अघि विभिन्न ऋषिहरुले विभिन्न सुत्रहरुको प्रयोग गरेर तयार गरेको यो विज्ञानलाई बचाइ राख्नका लागि सरकारी निकायबाट समेत त्यत्तिकै चासो र चिन्ता व्यक्र हुनु आवश्यक छ । एउटा मञ्चमा बसेर भाषण गरे जस्तो यो विधाको संरक्षण र सम्बद्र्धन गर्न सजिलो छैन । यसका लागि आजको युवाले विशेष ख्याल गर्न नसक्ने हो भने भविष्यमा ज्योतिष विधा केवल इतिहासका पानामा सिमित हुने अवस्था नआउला भन्न सकिदैन । (विभिन्न साइडहरुको सहयोगमा तयार पारिएको सामग्री ।)