Loading... आजः ६ बैशाख २०८१, बिहीबार । Thursday 18th April 2024

चिसोबाट बचौं र बचाऔं

पुसको महिना । चिसोका कारण मानव स्वास्थ्यमा समस्या आउने समय । अर्कोतिर विश्वमा फैलिएको कोरोना महामारीको त्रास । त्यसैले पनि सामान्य रुघाखोकीमा समेत डराउनु पर्ने अवस्था । विशेष गरि वृद्धवृद्धा, बालबालिका तथा गर्भवती र सुत्केरी महिलाका साथै दीर्घरोगीहरुलाई अझैँ समस्या हुन सक्ने भएकोले चिसोबाट जोगिन र जोगाउनका लागि विशेष गरि स्वास्थ्यको ख्याल गर्न आवश्यक छ । चिसोको कारण स्वास्थ्यमा आउन सक्ने समस्याबाट बच्नका लागि ध्यान दिनका लागि यतिबेला चिकित्सकहरुले समेत सुझाइसकेका छन् ।

चिसोका कारण बाहिरी वातावरणअनुरूप परिवर्तन हुने प्रकृति मानव शरीरको हुँदैन । चिसो मौसममा शरीरको रोगप्रतिरोधी क्षमता घट्न जान्छ र विभिन्न जीवाणुको संक्रमणले बिरामी पार्छ । चिसो मौसममा भाइरल संक्रमण हुन्छ । जसले घाँटी खसखस हुने, सुक्खा पार्ने गर्छ । चिसो मौसममा मानिसमा देखिने अर्को समस्या भनेको छालामा फुस्रोपना हो । यस्तो वेला सुक्खा हावा लाग्छ र शरीरको पानी उडेर जान्छ । चिसोको वेला शरीरमा पानीको मात्रा पनि कम हुन जान्छ । जसले गर्दा छाला र ओठ फुस्रो हुने र फुट्ने समस्या हुने चिकित्सकहरुले बताउँदै आएका छन् । यसैगरि जाडो मौसममा हृदयाघातको सम्भावना बढी हुन्छ । चिसो मौसमका कारण मुटुलाई रगत पु¥याउने नलीहरू खुम्चिन जान्छन् । जसले गर्दा मुटुको मांसपेशीमा रगतको मात्रा कम हुन्छ । कहिलेकाहीँ मुटुको मांसपेशी नष्ट हुन जान्छ र रगत पम्पमा बाधा उत्पन्न हुन्छ । जसले हृदयाघातको समस्या बढाउँछ । चिसो र सुक्खा हावाले श्वासनलीलाई पनि साँघुरो पार्ने काम गर्छ र मानिसको श्वासप्रश्वास प्रणालीमा बाधा उत्पन्न हुन्छ । जसले गर्दा दमको समस्या बढ्न जान्छ ।

चिसोबाट हुने यस्ता समस्याहरुबाट बच्नका लागि शरीरलाई न्यानो बनाउन आवश्यक हुन्छ । तापजन्य खाद्यपदार्थ खाने, हिँडडुल कम गर्ने, खाना खानुअघि र पछि राम्रोसँग साबुनपानीले हात धुने, नाक मुख छोपेर राख्ने, मास्क लगाएर हिँड्नेलगायतका गतिविधि गर्नुपर्दछ । यसका साथै तातो पानीमा नुन राखेर मुख कुल्ला गर्नुपर्छ । अन्य समयको भन्दा बढि आराम गर्नुपर्ने हुन्छ । जसले गर्दा शरिरलाई सन्तुलनमा राख्न मद्दत गर्दछ । शरिरमा चिसो हुन नदिनका लागि प्रशस्त पानी पिउनु पर्दछ । त्यो पनि मनतातो पानी पिउनाले शरिरको भित्री मागमा समेत तापक्रम सन्तुलन रहने गर्दछ । विशेष गरि मुटुरोगीहरूले धेरै चिसोमा काम गर्नु हुँदैन । नियमित व्यायामलाई पनि दिउँसोको समयमा गर्नु उपयुक्त हुने चिकित्सकको सल्लाह छ । सकेसम्म शरीरलाई न्यानो बनाएर राख्नुपर्छ । यसबाट बच्नका लागि घरलाई धुवाँ, धुलोमुक्त गराउने प्रयास गर्नुपर्छ । त्यस्तै, समय–समयमा ओछ्यान घाममा सुकाउने र सफा गर्ने गर्नुपर्छ । बाहिर हिँडडुल गर्दा पनि धुलोबाट जोगिन आवश्यक हुन्छ । यसैगरि धुम्रपान तथा मध्यपान समेत गर्नु घातक हुने भएकोले चिसोबाट बच्नका लागि भन्दै धुम्रपान तथा मध्यपान गर्नु अशिक्षा र चेतनाको कमीको कारण हो ।