Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउँछौ : नेपाल

सुर्खेत ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यतबाट निष्कासन गर्ने बताएका छन् ।


सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओलीलाई कम्युनिष्ट पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने तयारी भइरहेको बताएका हुन् ।

नेपालले भने– ‘आज पार्टीबाट हटाउने अन्तिम चरणमा छौं । आजकै मितिबाट साधारण सदस्यसमेत नहरने गरि निष्कासन गर्न गइरहेका छौं । हामीले ३ दिनको समय दिएर स्पष्टीकरण मागेका थियौं तर चार दिनसम्म आोलीले स्पष्टीकरण दिएनन् । उनले स्पष्टीकरण दिने हिम्मत पनि राख्दैनन् ।’ बालुवाटारमा लगेर सुरेन्द्र पाण्डे र श्रीराम ढकालले स्पष्टीकरणको पत्र बुझाएको तर ओलीले जवाफ दिने आँट नभएको दावी नेपालले गरे । पार्टीको निर्णय स्वीकार नगर्ने र पार्टीको बैठकमा समेत आउन डराउने पार्टीको सदस्य हुन नसक्ने उनको भनाई थियो ।

नेता नेपालले प्रतिगमनका विरुद्धमा आम नेपाली जनता उठिरहेको बताउँदै केपी ओलीले मुलुकको परिवर्तनको अगुवाई गर्नुहोला भन्ने आशा गरिएको थियो तर उनले आफ्नो स्वार्थका निम्ति पार्टीका नेताहरु माथि बदलाको भावना राखेर मुलुकलाई नै संकटमा पु¥याउने काम गरेको बताए । उनको कदमले सिंगो देशमा बहस चलिरहेको उनले बताए । केपी ओलीका पक्षमा राम्रा मान्छे नलागेको बताउँदै संविधान विरोध कदममा नलाग्न सबै मान्छेले भनिरहेका छन् । जो लोकतन्त्रको पक्षमा उभिएका छन् उनीहरु केपी ओलीको साथमा लागिरहेका छैनन् । ओलीको प्रतिगमनको विरुद्धमा लोकतन्त्रप्रेमी आम दाजुभाइ जम्मा भएको नेपालले बताए ।


ओलीले संविधानमाथि घात गरेकाले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुर्नस्थापना हुने बताए । केपी ओलीले संविधानको कुनै पनि धारा नै उल्लेख नगरि प्रतिनिधि सभा विघटन गरेको बताउँदै संविधान विपरित काम गर्ने ओली आत्मकेन्द्रीत भएको आरोपसमेत लगाए । ओलीले जहिले पनि अरको अपमान गर्ने र अरुलाई हेप्ने प्रविधिले उनी निरंकुश भएको स्पष्ट भएको नेता नेपालको भनाई थियो ।

कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य एवम् कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले संविधान निर्माण गर्दाको अवस्थाको स्मरण गर्दै वर्तमान प्रधानमन्त्रीले जहिलेपनि कम्यूनिष्ट विपरित कार्य गर्दै आइरहेको बताए । ओलीले कम्यूनिष्टको बदनाम गर्न विभिन्न झुण्डमा काम गर्ने र झुण्डमा रमाउने भएकोले अहिलेपनि संविधान विपरित कार्य गर्दै झुण्डमा रमाइरहेको बताए । सभालाई कालीबहादुर मल्ल, शक्ति बस्नेत, जनार्दन शर्मा, सीता नेपालीलगायतले सम्बोधन गरेका थिए ।