Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

कथा – छातीको आगो

( धेरै पहिला लेखिएको कथा छातीको आगो उतिखेरै सुर्खेत बाट प्रकाशित आर्तनाद पुस्तिकामा छापिएको थियो । देशले भोगी आएको द्वन्द्वको घाउ खाटालाई चित्रण गरिएको यो कथा महान सहिदहरुमा समर्पित छ ।)
पिठ्युँमा झोला भिरेको एक जना बटुवाले बाहिरबाट बोलाइ रह्यो ” भित्र को हुनुहुन्छ, पानी खान दिनुस् न ।” आवाज सुनेपछि लोटामा पानी लिएर घरभेटी आमा आइन् । पानी सकेर रित्तो लोटा दिंदै बटुवाले भन्यो, ” बाटाभरी त्यति धेरै दोकानहरु थिए नि आमा…।”
“थिए बाबु बिलाए सबै । घर कहाँ हो नि बाबु ?”
उमालाल आचार्य
” टाढै हो आमा, लेक पारी । होटल भैदिएको भए कति जाती हुन्थ्यो ! खाना त के हिजोबाट एक कप चिया पनि खाएको छैन । केटाकेटीलाई भनेर ल्याएको दुई पोका बिस्कुटले धानिएको छु अहिलेसम्म ।”
” कठैबरा ! पिँढीतिर बस्नुस बाबु चकटिमा । दुइटा रोटी छन् नुन-खुर्सानी पिंध्छु मोहीसित खानुहोला ।” बटुवाले भित्तामा झोला अड्यायो । भित्रबाट आमाले थालमा रोटी, अचार र गिलासमा मोही ल्याइन् । एक हातले आधा रोटी र अर्को हातले आमाको फरिया समाउँदै एउटी सानी नानी पनि पिँढेमा देखिई । रोटी खाँदै बटुवा बोल्यो-” भोकले लाज मान्दोरहेनछ आमा । पैसा भएर के गर्नु भोक लाग्दा टोक्न नमिल्ने ।”
” ईँ बरै ! यही रोटीले त धान्या छ तपाईं हाम्रो परान ।”
“आमा ! म तपाईंको छोरै समानको मान्छे । मलाई तिमी भन्नुस न है ?”
” मैले नजन्माए पनि तिमी मेरो छोरै सरह छौ बाबु । तिमी लाई देख्दा छोराको झल्को आयो । सबैका छोराहरु ढिलो चाँडो फर्कन्छन् घर सम्झेर । मेरो छोरो त कहिल्यै नफर्कने गरि गयो बाबु ।” आमा रोइन् ।
“आमा ! रोएर मन नदुखुनुस, जे भो भैगो । के हुन्छ र रोएर ?
” मन बुझाउन सकिन्न बाबु आँफै दर्किन्छ आँसु । नौ महिना गर्भमा बोकेर चार पाँच बर्षसम्म छाती चुसाएर हुर्काएको कोखिको घाउ पो त ।”
” के गर्ने त अब, कालले बालक बूढो भन्दैन त ।”
” सम्झदा मुटु चर्कन्छ बाबु । कालले टिपेको भए बरु मन बुझाउँथे । मेरो छोरालाई त पापीहरुले लखेटी लखेटी जंगलमा लगेर मारे ।”
” ओहो ! किन आमा ? कसले मारे त्यसरी ?”
” जनताको जिउधनको रक्षा गर्न भर्ती भएकाहरुले मारे ।”
” हरे राम राम ! जत्रै गल्ती भए पनि मान्छेलाई चरा मुसा झैँ मार्न पाइन्छ ? उजुरी गर्नुभएन अड्डा अदालतमा कतै ?”
” यो अवस्थामा उजुर बाजुर पनि लाग्दैन रे ।( जनयुद्धको अवस्था ) मेरो छोरालाई गोली हान्ने पापीको त झन बढुवा भयो रे ।” काखमा बसेकी नानीको कपाल मुसारिन् आमाले ।
” ढिलो चाँडोको कुरा हो, पाप एक दिन धुरीबाट कराउँछ आमा, हेर्नुहोला । अनि यिनी सानी नानी को हुन् नि आमा ?”
“नातिनी हो त्यही छोराकी छोरी ।” आमाले आँसु पुछिन् ।
” ए ! अनि खोइ त यिनकी आमा ?”
” मेरी बुहारीको घाइते मन स्थिर गराउन कसैको जोर चलेन बा । दिनको भोक र रातको निन्द्रा बिर्सिएर एकोहोरिएकी छ । आफू दुई जिउकी छ, हलुंगी भएपछि लोग्नेको हत्यारासँग बदला लिनेे किरिया खाएकी छ ।”
” अनि बुवाले सम्झाउनु भएन त ?”
” मेरो सिन्दुर पुछिएको त अठार बर्ष भयो बाबु । त्यो छोरो सात बर्षको थियो । त्यसैको मुख हेरेर सबै दु:ख बिर्सेकी थिएँ । पापिष्ट्ले त्यो गति बनाइदिए । सुत्केरी व्यथा कस्तो हुन्छ आमा बन्नेले मात्र थाहा पाउँछ । कालसँग लड्न पर्छ बाबु त्यसबेला । मैले मरीमरी धन्न बाँचेर जन्माएको त्यो छोरालाई हराम न बिराम त्यसै…।” हिक्का छोडिन् आमाले ।
” आमा ! भो नरुनुस् । हजुरको पुरिन लागेको घाउ अनयासै कोट्याउन पुगेछु ।” बटुवाले पनि आँखा पुछ्यो ।
” कोखीको घाउ त कहिल्यै पुरिदो रहेनछ बा । जति पुरानो भो झन् झन् आलो ।”
” आमा ! अलिकति मोही छ होला ?”
” छ । म ल्याउँछु ।” आमा भित्र गइन् ।
” नानू ! तिम्रो नाम के हो ?” बटुवाले सोध्यो ।
” नानी ।” उसले लजाउँदै भनी
” ए, कति राम्रो नाम । तिमीलाई धेरै माया कसको लाग्छ नानी ?”
” बाबाको ।” नानीको जवाफले बटुवाका आँखा सजल भए ।
” आमा र हजुरआमाको लाग्दैन त ?”
” लाग्छ । बाबाले त धेरै बिस्कुट अनि चक्लेट पनि ल्याइदिनु हुन्छ । मलाई बोकेर बजार जाने भन्नुभा छ ।”
” एउटा रोटी पनि खाउ बाबु ।” आमा आइन् ।
” रोटी त मलाई पुग्ला आमा ।”
” खाउ न, खाने तिम्रो उमेर छ । अनि बाँच्नेले त हो बा खाने ।
” ठिक छ । मैले आज यो लेक काट्न भ्याउँला आमा ?”
” बर्गत छ, भ्याइन्छ । तिमी कताबाट आयौ छोरा ? कहाँ छौ के गर्छौ ?
” म भारतीय सैनिक हुँ आमा । पहिलो छुट्टीमा घर आउँदै छु ।
” ए ! सुख छ त्यहाँ ? आनन्दी छौ लाहुरमा ?”
” पटक्कै छैन आमा । आफ्नो कोही कोही छैन, पसिना पोख अर्कैका लागि, रगत बगाउ अर्कैका लागि, फगत मुटु थिचेर चुपचाप सहनु पर्दोरहेछ पीडा ।”
” त्यहाँ त्यस्तो सास्ती छ र मन पनि मान्दैन भने किन छोड्यौ त आमाको काख ? देश भन्नू आमाकै काख त होनि छोरा ।”
” पढेर यो देशमा जागिर खान पाइएन । आफ्ना नातागोता ठाउँमा छैनन् पहुँच कतै छैन । तपाईं नै भन्नुस न कति दिनसम्म आमाको काखमा बोझ भएर बसौँ त ? आखिर बाँच्नलाई रोटी चाहियो । रोटीकै जोहो गर्न मुग्लान पसेको आमा, रहरले होइन ।”
” ए, त्यसो पो ? त्यसो त जागिर नहुनेहरुले पनि रोटी खाएकै छन् बा । पाखुरा बजाएर पसिना रोप्ने हो भने भोकै मर्नु पर्दैन । रुखो सुखो, ढिँडो आँटो खाएर बाँचेकै त छन बा जागिर नहुनेहरु पनि । कि छैनन् र ?”
” त्यो त हो । आफू दु:ख कष्ट सहेरै भए पनि आमालाई सुखी बनाउन पाए हुन्थ्यो झैँ लाग्छ । छोरा भएपछि आमाको दूधको भारा पनि तिर्नुपर्यो ।”
” आमा ओछ्यान परेका बेला दबाइमूलो सेवा चाकरी गर्दा दूधको भारा तिरिएला कि मुग्लान पस्दा ? लौ भन त ।”
” भगवानका कृपाले अहिलेसम्म मेरी आमालाई त्यस्तो केही भएको छैन ।”
” अन्नपानी उबाजेर हाम्रो प्राण जोगाउने धर्ती पनि आमाकै रुप हो छोरा । पढेकाले कुरा बुझ्छन् भन्थे, खोइ त तिमीले कुरा बुझेको ?”
” त्यो त बुझेको छु आमा । जन्म दिने आमा र जन्मेको भूमि समान हुन्छन् । सबै देशवासीका लागि आफ्नो प्यारो देश आमाकै रुप हो । त्यसैले देशको सेवा गर्नु सबैको परम कर्तव्य हुन्छ ।
” अनि तिम्रो के कर्तव्य भयो त छोरा ? यता देश मूर्छा परेको छ उता तिमी मुग्लानको सपनामा छौ । तिमीजस्ता बलियाबाङ्गा छोराहरू यो र त्यो बहानामा बिदेसिन्छौ भने हामी अभागीनी र असहाय आमाहरु कसको भरोसामा बस्ने ? तिमीहरुले छोड्दा देश बर्बाद भो बाबु । कुकुरले झैँ राक्षसहरुले यो देश लुछिरहेका छन् । देश बचाउन पर्छ बा !”
” अब राक्षसलाई टाउको उठाउन दिइने छैन आमा । बस्ती बस्तीबाट उठ्ने छन नेपालीहरु । आमा म एउटा कुरा सोधुँ तपाईंसँग ?”
” सोध न बा । जाने जति म भनौला नि ।”
” तपाईंले यी सब कुराहरु कहाँबाट सिक्नुभो आमा ?”
” समयले सिकाउँदो रहेछ बाबु । तिमीजस्तै अरु छोराहरू पनि आउँछन् दु:ख सुख बाड्छन । घत लाग्ने बात गर्छन् सम्झाउँछन् बुझाउँछन् । बनाउने भत्काउने र सिकाउने पनि समय नै रहेछ ।”
” ओहो समय त गैसकेछ, आमा म अब जानुपर्छ नत्र लेक काट्न गाह्रो हुन्छ ।” घडी हेर्दै बटुवाले भन्यो ।
” हुन्छ जाउ बाबु । यो दु:खी आमालाई पनि कहिले सम्झंदै गर्नू ।”
” म जीवनभर हजुरलाई भुल्न सक्ने छैन आमा । अब त म जाँदा आउँदा हजुरकै सेवामा हाजिर हुने छु । अहिले बाटो लाग्छु, आशिर्वाद पाउँ आमा ।” उसले हात जोड्यो ।
” तिमीलाई मेरो आशिर्वाद छ छोरा । तिम्रो यात्रा शुभ रहोस् सबै काम सफल रहुन् तिमीबाट देशका शत्रु वैरीको नाश होस् दुखी गरिबको आशिष लागोस् ईश्वर सँधै दाहिना हुन ।” बटुवा बाटो लाग्यो आमा र नानीले डिलबाट हेरिरहे ।
साँझ आमाले बत्ती बालेपछी बुहारी घर पुगिन् । सासू र बुहारीले पिंढीमा बसेर लामै बात मारे ।
” नानी खोइ त बज्यै ?” बुहारीले सोधिन् ।
” निदाएकी छे, दिउँसो सुत्न पाइन अब उठाउनु पर्ला ।” आमाले भनिन् ।
” होस् सुतोस् । खाना खाएको भए त उठाउनै परेन ।”
” नानीले त खाइ अब हामी खाउँ । पछि चिसो हुन्छ ।”
” हजुरलाई भोक लाग्योहोला । बुढाबुढी मान्छे, खाएको भए हुन्थ्यो नि ।”
” त्यसो नभन बुहारी । काल हाल्न सकिदो रहेनछ । बाँच्नका लागि पनि खानै पर्यो । तर तँबिना मेरो घाँटीमा एक गाँस पनि छिर्दैन बुहारी ।”
” बानी लगाउन पर्छ बज्यै । मलाई पनि त्यस्तै हुन्थ्यो, हजुरको छोरालाई नदेख्दा खाने बेला गासै रुच्दैनथ्यो । बरु भोकै बस्थेँ बसिरन्थेँ ।”
” मेरी जाती बुहारी ! जे भो भैगो, गएका दिन फर्कदैनन् बा । तेरा लागि म छु, मेरा लागि तँ छेस् । तेरो जिउ झन कमजोर हुन्छ बा ।”
” दुई दिनको जिन्दगीमा धेरै थोक सहनुपर्दोरहेछ बज्यै । अहिले आँसुमा भात मुछेर खानुपर्ने दिन व्यहोर्नुपरेको छ ।”
” आफुले चाहेर हुंदैन बा । जिन्दगी लामो छ, किन दुई दिन मात्र भन्छेस् ?”
” हो बज्यै । एउटा जन्मेको दिन र अर्को मरेको दिन । यही दुई दिन बीचमा त झुन्डिदो रहेछ जीवन ।”
” भो त नि भो, अब खाना खाउँ सासू बुहारी ।”
” मलाई त पटक्कै खाने मन छैन बज्यै । आज त व्यथाले च्यापेको पनि छ । बरु झट्टै पेटको नानी जन्मेको भए मुक्ति मिल्थ्यो । अनि बल्ल बाटो खुल्थ्यो ।”
” जिद्दी छोड बा । भगवानका लागि पनि यस्ता कुरा नबोल ।”
” भगवान ? भगवानसँग मेरो भरोसा छैन बज्यै । मेरो सिउँदो पुछियो, हजुरको आस्थाको दियो निभ्यो नानी टुहुरी भै । खोइ दुष्ट भगवानले के गर्यो हाम्रा लागि ?”
” आमाले बच्चा जन्माएर मात्र पार पाइन्छ ? पालनपोषण गर्न परेन ? स्याहार सुसार नगरे कसरी हुर्कन्छ बच्चा ?”
” ऐया…ऐया … बज्यै । ऐया नि… मेरा कुरा … सुन्नुस न ” बुहारीलाई व्यथा लाग्यो ।
” बुहारी नबोल बा । तँलाई बह लाग्यो ।” आमाले बुहारीको पेट मुसार्न थालिन् ।
” बज्यै मलाई यी कुरा गरेर नछेक्नुहोला । ऐया… यस्ता कुरामा अल्झिएँ भने धर्मराउने छु, ऐया ऐया …बाटो बिराउने छु, ऐया… ऐया… । त्यसैले बिन्ती मेरी बज्यै । मलाई नरोक्नु होला । ऐया… ऐया… ।”
” तैंले कसरी त्यसो भन्न सकेकी ? छोराले त छोडेर गयो, तैले पनि छोडेर गए मैले कता हेरेर मन बुझाउने ? यो बूढो ज्यानले लालाबाला कसरी हुर्काउने ? केही कुरा बुझ्न बा ।”
” कुरा बुझेकी छु बज्यै । यहाँ बाबु आमा नहुनेहरु, छोराछोरी नहुनेहरु, दुखी दरिद्री, लुला लङ्गडा सबै छन । यो त संसार हो हिजो चलेको थियोे आज चलिरहेको छ भोलि पनि चलिरहन्छ । ऐया… नि ऐया… यहाँ हजुर हामी नभए पनि चल्छ ।”
” त्यो सानी नानी र अब जन्मने गर्भे टुहुराको माया लाग्दैन तँलाई ? तँ त साह्रै निर्मोही रैछस् बुहारी ।”
” गाईले आफ्नो बाच्छो किन चाट्दोहो बज्यै, माया नलागेर होला ? म पनि त आमा हुँ, मेरो पनि त कलेजी रसाउँछ नि । धेरै सोचेँ बज्यै मैले । ऐया …ऐया नि … ऐया… यी अजान लाई छोडी पोइल गए पनि तिनका आँसु लाग्छन् । हुर्केर बुझ्ने भए भने कति धिक्कार्लान् ! ऐया…ऐया… बिष खाएर ढल्न पनि भएन । छोराछोरीकै मायाजालमा अल्झिउँ भने मेरो छातीमा आगो छ । मेरो लोग्ने मार्ने त्यो राक्षस छातीमा तक्मा लगाएर साँढे झैँ घुमेको छ । ऐया… त्यसलाई ठेगान नलगाई यो आगो निभ्दैन बज्यै । मैले कसम खाएकी छु ऐया … बरु मर्न किन नपरोस् ।”
” त्यसो भए आफ्ना नानीहरु पनि साथै लैजा । काल आए म मरुँला नत्र जोगिनी हुँला ।”
” ऐया.. ऐया … ऐया… नानीहरु लैजा भन्नू त हातगोडा बाँधेर लड्न पठाए जस्तै हो बजै । म त हातगोडा फुक्का गरेर रणमैदानमा जान्छु ऐया नि …. ऐया.. ।”
” बच्चाको जीवन आमासँग गासिएको हुन्छ । त्यो दूधमुखे गर्भे बच्चालाई छाडी तँ कसरी जान्छेस् त ? के उसले बाँच्न नपाउने ?”
” हजुरले भन्नुभएको होइन र, छैँटीका दिन हजुरकि आमा खस्नुभयो भनेर ? ऐया… बाख्राको दूधले प्राण बचायो भनेर आँफै कुरा गरिरहनुहुन्छ ।”
” मेरी आमा त साँच्चै मरेकी थिईन् ।”
” ऐया… हजुर त बाँच्नु भो नि ।”
” रहरले बाख्राको दूध खाए हुँला त ।”
” करैले खाए पनि बाँच्नुभयो र आज मेरी सासू हुनुभयो । बज्यै, ऐया… ऐया आमा…।”
” ओहो तँलाई फेरि बह लाग्यो बा । नआत्ती है, म तेल लिएर आउँछु ।”
” ऐया… ऐया नि … बज्यै ! हजुरको माया बढी भएर ऐया… ऐया नि… माया बढी भएर म मातेकी होइन मेरी बज्यै ।”
” तँलाई गाह्रो भो बा । टाउको मेरो काखमा राख, म तेल घसिदिन्छु ।”
“ऐयानी आमा… उस् ! ऐया आमा… यस्तो गाह्रो त आमा बन्ने सबैलाई हुन्छ । ऐया… ऐया… श्रीमानसँगको बिछोड यो भन्दा बढ्ता गाह्रो छ मलाई । ऐया…ऐया…।” प्रसवपीडाले उनी छट्पटाइन् ।
” नकरा न बा एकछिन ।”
” म कराउँछु बज्यै ! ऐया… त्यो पापीसँग बदला नलिई मर्दिन म ।” दाँत पिस्दै बोलिन् ।
” यसो गर त, अब जन्मदैछ बच्चा ।”
“ऐया… ऐया आमा… । मलाई नरोक्नुहोला बज्यै ।”
” तँ नआत्तिन बा, पख है त …।”
“म आत्तिन्न बज्यै । ऐया…उस्…तर मलाई नछेक्नुहोला ।”
“पख न ती कुरा पछि गर्दै गरौंला ।”
” मलाई त झट्टै बोलाइरहेछ बज्यै । ऐया…हलुंगी भएर तुरुन्त आउनु भनेर ।”
“खै कसैले बोलाएको छ तँलाई ?”
” मेरो आस्था …आस्थाले । सङ्क… सङ्कल्पले । म त रणमैदानमा….।”
” खरो भो तँलाई, अब एकछिन नबोल् त ।”
” ऐया…आमा…।” बुहारी चिरिर्र चिच्याइन् ।
” चिह्याँ चिह्याँ ।” नवजात शिशु जन्मियो ।
” धडाम्म…।” टाढा कतै बम पड्कियो ।
समाप्त