Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

शहिदको नाममा चोकको नामाकरण

शहिद परिवार भन्छन् राज्यले वास्ता गरेन

सुर्खेत ।
शहिद दिवसको अवसरमा शहिद याम बिसी चोक नामाकरण गरिएको छ । कर्णाली प्रदेश आन्दोलनमा शहादत प्राप्त गरेको शहिद याम बहादुर विसीको नामबाट शहिद याम बिसी चोक नामाकरण गरिएको हो ।

सरकारले कुनै वास्ता नगरेपछि आफैले शहिद चोक नामाकरण गरेर बोर्ड राखेको शहिद याम विसीका पिता एवम् शहिद याम विसी स्मृति प्रतिष्ठानका अध्यक्ष शेर बहादुर बुढाले जानकारी दिए । प्रदेश प्राप्तिका लागि भएको आन्दोलनमा सुर्खेतका याम बहादुर बिसी, गोपालसिं रजवार, टिकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरले ज्यान गुमाएका थिए ।

तत्कालिन समयमा शहिद परिवारसँग राजनीतिक दल, नागरिक समाजलगायत सरकारी निकायले गरेका निर्णयहरु कार्यान्वयन नभएको भन्दै शहिद परिवारहरु गुनासो गर्दै आइरहेका छन् । शहिदको नाममा चोकको नामाकरण गर्ने र शहिदका शालिक निर्माण गर्ने निर्णय कार्यान्वयन नगरेकोले आफैले शहिदको नामबाट चोकको नामाकरण गरेको र अब सबैको साथ र सहयोगमा शालिक निर्माण गर्ने र चोकमा शालिक समेत राख्ने योजना रहेको प्रतिष्ठानका सचिव भगवती बिसीको भनाई छ ।

यसैगरि चोक नामाकरणमा वीरेन्द्रनगर नगरपालिकाले समेत वास्ता नगरेको शहिद परिवारले बताएका छन् । बोर्ड राख्ने कार्यक्रममा सरकारी पक्षबाट तथा जनप्रतिनिधिहरुको उपस्थिति नभएपनि स्थानीय, टोल विकासका पदाधिकारीहरु पत्रकार लगायतको उपस्थिति रहेको थियो । चोकको नामाकरण गर्ने निर्णय लगायत कार्यान्वयन नहुनु दुःखद भएको टोलविकास समितिका पदाधिकारीहरुले समेत बताएका थिए ।