Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

जनयुद्ध दिवसमा मुख्यमन्त्रीले दिए शुभकामना

सुर्खेत ।
जनयुद्ध दिवसको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभकामना दिएका छन् । ‘निरंकुश जहाँनिया सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्ने उद्देश्यका साथ नेपाली जनताले शुरु गरेको सशस्त्र संघर्षको ऐतिहासिक दिन आज फागुन १ गते स्मरण गर्दै यस २६औं महान् जनयुद्ध दिवसको गौरवमय अवसरमा कर्णाली प्रदेशवासी एवं सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ उनले भनेका छन् ।
मुख्यमन्त्री शाहीले दिएको शुभकामना सन्देश पूरा अंश

महान जनयुद्ध दिवसको शुभकामना सन्देश

२०७७ फागुन १

निरंकुश जहाँनिया सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्ने उद्देश्यका साथ नेपाली जनताले शुरु गरेको सशस्त्र संघर्षको ऐतिहासिक दिन आज फागुन १ गते स्मरण गर्दै यस २६औं महान् जनयुद्ध दिवसको गौरवमय अवसरमा कर्णाली प्रदेशवासी एवं सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

महान् जनयुद्ध र जनआन्दोलन एवं विभिन्न न्यायपूर्ण संघर्षका क्रममा आफनो जीवन आहुती दिने महान् सहिदहरुप्रति यस ऐतिहासिक अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता, घाइते तथा अपांगता भएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै ऐतिहासिक जनयुद्धको पहलकदमी लिने, शुरुवात गर्ने र सहभागी सबै नेतृत्व, कार्यकर्ता, लडाकु योद्धा एवं आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछु ।

तत्कालीन् महान् जनयुद्धकले गाउँ गाउँसम्म नेपाली जनतालाई जागृत गर्दै सामन्तवादका विरुद्धको राजनैतिक लहर ल्याएको थियो । यसकै जगमा भएको ०६२÷६३ को जनआन्दोलनले नेपालमा सदियौं देखिको सामन्ती राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको तथ्य हामी सबैको सामु प्रष्ट छ । मुलुकमा भएको यो राजनैतिक परिवर्तनले आज हामीले समावेशीता, समानुपातिकता, धर्मनिरपेक्षता, संघीयतालगायतका महत्वपूर्ण राजनैतिक उपलब्धीहरु प्राप्त गरेका छौं ।

महान् जनयुद्धका कारण प्राप्त राजनैतिक उपलब्धीहरुको उपभोग गर्ने तर जनयुद्धलाई अस्वीकार गर्ने र यसको महानतालाई खिसिट्यूरी गर्ने प्रवृत्तिप्रति सचेत रहन आवश्यक छ । ठुलो बलिदानीपूर्ण संघर्षवाट प्राप्त राजनैतिक उपलब्धिहरुलाई खोस्ने र मुलुकलाई फेरी पनि प्रतिगमनतर्फ लैजाने कुचेष्टा पनि भैरहेको छ । जनयुद्ध दिवसको यस ऐतिहाँसिक अवसरमा सबैखाले प्रतिगमनकारी, निरंकुश र असंवैधानिक दुश्प्रयत्नहरुका विरुद्ध खबरदारी गर्दै समाजवादी व्यवस्था निर्माणको बाटोमा दृढतापुर्वक अघि बढ्न अपिल गर्दछु ।

जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, प्रदेश प्राप्तिलगायतका जनआन्दोलन, जनसंघर्षहरुको बलमा २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेपश्चात सिंगो मुलुकले तीव्र गतिमा विकास र समृद्धि प्राप्त गर्ने संकल्प गरेको थियो । यो संकल्प स्मरण गर्दै विकास र समृद्धिको एजेण्डाबाट कोही पनि विचलित नहुन आग्रह गर्दछु ।

अन्त्यमा, महान् जनयुद्ध दिवसले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभिभारा पुरा गर्दै समाजवादी राज्य व्यवस्था स्थापनाका लागि हामी सबैमा प्रेरणा प्रदान गर्ने विश्वाससहित तपाई समस्तमा पुनः शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

(………………….)
महेन्द्रवहादुर शाही