Loading... आजः ४ भाद्र २०८३, बिहीबार । Thursday 20th August 2026

कर्णालीका मुख्यमन्त्रीको सचिवालय हेरफेर

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सचिवालय हेरफेर गर्नुभएको छ । उहाँले प्रमुख स्वकीय सचिव, जनसम्पर्क सल्लाहकार र स्वकीय सचिव हेरेफेर गर्नुभएको हो । मुख्यमन्त्रीले जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक (विकल्प जुम्ली), प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य र स्वकीय सचिवमा रविन्द्रबहादुर शाहीलाई नियुक्त गर्नुभएको हो ।


विगत तीन वर्षदेखि प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्लाहल्दै आएका खेमबहादुर सिंह, जनसम्पर्क सल्लाहकार जनकनाथ योगी र स्वकीय सचिव सुमन शाहीलाई उहाँले बिदा गर्दै नयाँ सचिवालय निर्माण गर्नुभएको हो ।

अन्य नेताहरुलाई पनि अवसर दिन सचिवालय हेरफेर गरिएको मुख्यमन्त्री शाहीले बताउनु भयो । ‘सबै साथीहरुलाई काम गर्ने अवसर दिन सचिवालय हेरफेर गरिएको हो’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘सचिवालय हेरफेर हुनुको पछाडि कुनै कारण छैन ।’ तीन दिनअघि मात्रै कर्णाली प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता विद्याभूषण मानन्धरले पनि पदबाट राजीनामा दिनुभएको छ ।