Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

भागरथी हत्याका आरोपी किशोर सार्वजनिक

धनगढी ।.

प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो । सुदुरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले पत्रकार सम्मेलन गर्दै दिनेश भट्टले घटना घटाएको जानकारी दिए ।  प्रहरीले सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययन गर्ने दिनेश भट्ट पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको छ। भट्टले हत्या गरेको स्वीकार गरिसकेको समेत डीआइजी सुवेदीले बताए ।

भागरथी हत्याका आरोपी किशोर सार्वजनिक-यस्तो छ साविति बयान

प्रहरीलाई दिनेशले १ बजेर ४५ मिनेटमा कक्षाबाट निस्किएर भागरथीलाई हत्या गर्ने योजना अनुसार घटनास्थलतर्फ गएको बताएका छन् । उनी विद्यालयबाट बजारसम्म अन्य साथीहरुसँग गए पनि नजिकै रहेको बजारबाट भने एक्लै निस्किएको देखिएको छ । त्यसपछि भट्टले भागरथी आएपछि सडकबाट धकेल्दिएर दुई हातले घाटी घिचेर हत्या गरेको पत्रकार सम्मेलनमा डीआइजी सुवेदीले जानकारी दिए । पत्रकार सम्मेलनमा डीआइजी सुवेदी भट्टलाई अभियुक्त दाबी गर्नुका केही कारण समेत प्रस्तुत गरेका थिए ।

घटना भएको सम्बन्धमा अभियुक्तको घटनास्थलमा उपस्थितसँग सोधपुछका क्रममा देखिएका शंकास्पद आधार, टेक्निकल पक्ष, अभियुक्तको साविती बयानलाई पक्राउको आधार बनाइएको छ । ‘आइ विटनेसले पनि त्यही एरियामा देखिनु, निजले पनि स्वीकार गर्नु, त्यहाँ भन्दा के आधार चाहिन्छ ? दोषी कुनै पनि हालतमा उम्कन नपाउने गरी प्रमाणहरु प्रस्तुत गरेका छौं । केही कारणहरु खोज्दै छौं ।’ डीआइजी सुवेदीले भने ।  अभियुक्तको शरीरमा केही सामान्य चोटपटक समेत भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । घटनामा अन्य व्यक्तिको संलग्नता रहेको भन्ने अहिलेसम्म पुष्टि हुन नसकेको उनले बताए ।

आरोपितको साविति बयानः ‘भागरथीलाई मार्नकै लागि कुरेर बसेको थिएँ अनि घाँटी थिचेर मारिदिए’

बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टको हत्यामा संलग्न भनि पक्राउपछि सार्वजनिक गरिएका दिनेश भट्टले साविति बयानमा हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ । यसअघि प्रहरी र परिवारका सदस्यलाई आफू पुरै कक्षा पढेर आएको बताए पनि विद्यालयको रेकर्ड र खोचलेकमा भेटिएका साथीहरुका आधारमा उनी टिफिन समयमा नै घर गएको देखिएपछि प्रहरीको अनुसन्धान उनीतिर केन्द्रित पारिएको थियो । दिनेश भागरथीका नजिकका भाइ नाता पर्छन् ।

दिनेश टिफिनको समयमा विद्यालयमा भलिबल खेलेर घर आए । उनीसँगै टिफिनमा घर आएका भानदेव भट्ट र लिलाघर भट्टले उनलाई खोचलेक बजारमा देखे । खोचलेक बजार उनीहरुले पढने सनातन धर्म माविबाट झण्डै ५, ७ मिनेटको पैदल दुरीमा पर्छ । खोचलेक बजारमा तीनै जना र भागरथीको भेट भयो । भागरथीले उनीहरुसँग घर कति बेला जाने भनेर सोधिन । भानदेब र लिलाधरले कपाल काटेर मात्रै घर जाने भनेपछि भागरथी त्यहाँबाट घर हिँडेको प्रहरीले बताएको छ ।

भानदेब र लिलाधर कपाल काटन सैलुन छिरे । तर दिनेश त्यहाँबाट भागरथीको भन्दा चार पाँच मिनेट पछाडि घरतिर हिँडे । उनले यसअघि आफूले बाटोमा कसैलाई पनि नदेखेको, विद्यालयबाट पनि पुरै कक्षा पढेर आएको जस्ता झुटो कुराले उनीमाथि गहिरो अनुसन्धान थालेको थियो । ’दिनेशले विद्यालयबाट हिँडेको समय १ः४५ बजे हो । भागरथी र तीनै जनाको १ः५० मा खोचलेकमा भेट भयो । त्यसपछि घटनास्थल पुग्ने समय भनेको झण्डै ४० मिनेट अथवा २ः३० हो । तर दिनेश ३ः२५ सम्म घटनास्थल नजिकै छन् । उनले, घरमा पुरै पिरियड पढेर आएको भनेपनि पत्याउन नसकिने देखिन्छ ।’ प्रहरी स्रोत भन्छ,’ तर उनले टिफिनमा कक्षा छोडेपछि र घर ढिलो पुगेको पत्ता लागेपछि अनुसन्धान बढी केन्द्रित पारिएको थियो ।’

प्रहरीले दिनेशलाई ३ः२५ मा घटनास्थल नजिकैको लवलेकको नवनिर्मित मैदान नजिक देखेको प्रत्यक्षदर्शीले बताएका छन । ’प्रत्यक्षदर्शीका आधारमा अनुसन्धान अझ सहज भएको प्रहरीले जनाएको छ । दिनेश शव भेटिएको दिन घटनास्थलमा थिए । उनी केहीबेर मात्र घटनास्थलमा बसेर छिट्टै घर फर्किए । त्यसदिन घटनास्थलमा पुगेका प्रहरीहरुले घटनास्थल सिल पारिसकेको थियो । त्यहाँ प्रहरीको तालिम प्राप्त कुकुर आउने भएकाले घटनास्थलमा कसैलाई नजान भनिएको थियो । भागरथीको शव उठाएको दिन अथवा घटनास्थलमा धनगढीबाट तालिम प्राप्त कुकुर पुगेको दिन दिनेश त्यहाँ गएनन् । ‘उनको ट्राभल हिस्ट्री हेर्दा उनी तालिम प्राप्त कुकुर आएको दिन गोठालो गएका रहेछन् ।’ एक प्रहरी अधिकृतले भने ।

भागरथीकी आमाले भागरथी आइन र ? भनि सोध्दा दिनेशले नदेखेको बताएका थिए । भागरथीको खोजी गर्दा, फोन गर्दा उनी डराएर छटपटिए झैं हुन्थे ।’ ती प्रहरी अधिकृतले भने । तर मंगलबारको बेलुकी उनले साविति बयानमा आफूले भागरथीको हत्या गरेको स्वीकार गरेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्ट घटनाको दिन डेढ घण्टा पहिल्यै बाटोमा कुरेर बसेको खुलेको छ । भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा । उनीहरुबीच दिदी भाइको नाता समेत पर्छ । तर माघ २१ गते दिनेश २ कक्षा छाडेर हत्या गर्नकै लागि बाटोमा कुरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पक्राउपछि दिनेशको भनाइलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, “म बाटोमा पहिल्यै बसेको थिएँ । भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पनि पछाडीबाट धक्का दिएँ । उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर मारेँ ।” उनले भागरथीलाई लडाएर बेहोस बनाएपछि बलात्कार गर्न खोजेको भने बयानमा स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दियो । बलात्कारको प्रयास गरेको तर नगरेको बयान दिएको प्रहरीले स्रोतले जानकारी दियो ।

यस्तो छ साविति बयान 

म मध्यान्तरमा स्कुलमा (सनातन धर्म मावि) भलिबल खेलेर घर आए । त्यसपछि खोचलेकमा मेरो भागरथी सहितका अरु तीन जना आफ्नै गाउँका युवाहरुसँग भेट भयो । उनीहरु कपाल काट्न थाले । म त्यहाँबाट घरतिर हिँडे । मैले सिल्ल भन्ने स्थानमा भागरथीलाई भेटे र म फटाफट ती भन्दा अगाडि घरतिर लागे । घटनास्थल भएको स्थानमा म भागरथी भन्दा अगाडी नै पुगिसकेको थिए । केही बेरमा भागरथी आइन । उनले पुग्ने वित्तिकै मैले सडकबाट धक्का दिएर सानो खोल्सोमा (जहाँ शव भेटिएको थियो) लडाए । उ लडी र घाइते भइ । अनी मैले घाँटी थिचेर मारिदिए । त्यसपछि म घर हिँडे ।

भागरथीको बलात्कारका बारेमा मौन

दिनेशले भागरथीको हत्या गरेको साविति बयान दिएपनि उनले बलात्कारका बारेमा भने मौनता देखाएको प्रहरीले जनाएको छ । उनको, पुरै बयान सिआइबीका डिएसपी पञ्चकुमार बाकुले लिएका थिए । पञ्चकुमार अब्बल अपराध विज्ञ मानिन्छन् । जिल्ला अस्पताल बैतडीले भागरथीको यौनांगमा यौनजन्य गतिविधि भएको र घाँटी निमोठेर हत्या भएको पोष्टमार्टम रिपोर्ट प्रहरीलाई बुझाएको छ ।

घटनाको प्रकृति हेर्दा पनि भागरथीको तल्लो अंगको वस्त्रहरु फुकालिएका छन् भने उनको यौनांगबाट धेरै रगत बगिरहेको भेटिएको प्रहरीले जनाएको छ । दिनेशको सोधपुछमा खटिएका प्रहरी अधिकृतले उनलाई कुनै पनि मानसिक र शारीरिक यातना नदिएर फकाएर बयान गराएको बताएका छन् । बयानमा सहभागी ती अधिकृत भन्छन्, ’नाबालक हो, नाबालकलाई केही सजाय छुट पनि हुन्छ, भनेर फकाइयो । मंगलबार अबेर राती मात्रै साविति बयान दिए । उनी धेरै रोए, अनी घटना बारे भने ।’

न्यायका लागि भएको प्रदर्शनमा सहभागी थिए आरोपी

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट २१ माघ बुधबार साँझ घर फर्किइनन् । परिवारले खोजतलासका लागि प्रहरीलाई आग्रह ग¥यो, स्थानीय पनि खोजीमा निस्किए । बिहीबार उनको शव सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्किने सडकबाट ५० मिटर तल झाडीमा भेटियो । भागरथी प्रकरण कञ्चनपुरको निर्मला प्रकरण जस्तो नहोस् भन्दै स्थानीयले आन्दोलन र प्रदर्शन थाले । त्यही प्रदर्शनको अग्रपङ्तीमा विद्यालयको कक्षा ११ मा अध्ययनरत १८ वर्षीया दिनेश भट्ट पनि सहभागी थिए । जिल्ला प्रहरी कार्यालय, बैतडीका एक अधिकृतका अनुसार घटनामा संलग्न हुनसक्ने आशंकामा भट्टलाई यसअघि पनि बोलाएर सोधपुछ गरिएको थियो ।

भागरथीका दाईले दिए हत्याका आरोपी भट्टविरुद्ध जाहेरी

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न भएको भन्दै एक जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । भागरथीका दाई शंकर भट्टले छिमेकी १७ वर्षीय दिनेश भट्ट विरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएका हुन् ।

भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई अदालतबाट म्याद थपेर थुनामा राखिएको छ । जिल्ला अदालत बैतडीमा लगेर आरोपी भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद थपिएको हो । भट्ट विरुद्ध करणी र ज्यान सम्बन्धी कसुर मुद्दामा म्याद थप भएकोे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

भागरथी र सम्झनाका परिवारलाई ५/५ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

बलात्कार पछि हत्या गरिएकि बैतडीकी भागरथी भट्ट र बझाङकी सम्झना कामीको परिवारलाइ पाँच पाँच लाख सहयोग गर्ने निर्णय गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले पिडित परिवारलाइ पाँच पाँच लाख सहयोग गर्ने निर्णय गरेको प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीका स्वकिय सचिव सुधिर भट्टले बताए ।

भागरथीको माघमा विद्यालयबाट घर फर्किने बेला बलात्कार पछि हत्या भएको छ भने सम्झनाको गत असोजमा बलात्कार पछि नै हत्या भएको थियो ।

दोषी पक्रन सफल भएको भन्दै प्रहरीलाई फूलमाला सहित विदाइ

भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले १३ दिन लामो अनुसन्धानपछि दोषी पक्राउ गर्न सफल भएको भन्दै स्थानीयवासी र गाउँपालिकाले सुदूरपश्चि प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी सहितका प्रहरीलाई फूलमाला लगाएर विदाई गरेका छन् । भागरथी हत्याको अनुसन्धानमा डीआईजी उत्तमराज सुवेदी, एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, अनुसन्धान ब्यूरोका पञ्चकुमार बाखु, जिल्लाप्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी लगायत थिए ।

घटनाको अनुसन्धान गर्न डीआईजी सुवेदी सहितका प्रहरी रातदिन निरन्तर अनुसन्धानमा खटिएर दोषी पत्तालगाएकोमा गाउँपालिका र स्थानीयवासीले फूलमाला पहिर्याएर प्रहरी टोलीलाई विदाई गरेको दोगडाकेदार गाउँपालिका–३, का वडा अध्यक्ष चन्द्रदेव जोशीले बताए ।

भागरथी प्रकरणको सफलतापछि डीआईजी सुवेदीले भने, ‘अब निर्मलाले पनि चाँडै न्याय पाउँछिन’

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले प्रहरीको दृढ विश्वास र निरन्तरको मेहनतपछि भागरथी हत्या प्रकरणमा सफलता मिलेको बताएका छन् । भागरथी प्रकरणको अनुसन्धानका लागि १० दिनदेखि दोगडाकेदार गाउँपालिकाकै खोचलेकमा रहेका डीआईजी सुवेदीले भागरथीको हत्या गर्ने अभियुक्तलाई कानूनी कठघरामा उभ्याउदै प्रहरी संगठनप्रतिको गुमेको साख एक पटक पुनः जिवित तुल्याउने अवसरको नेतृत्व गर्न पाएकोमा खुसी समेत व्यक्त गरेका छन् । प्रस्तुत छ, डीआईजी सुवेदीसँग गरिएको कुराकानीको अंश उनकै भनाईमा ।

भागरथी बहिनीको बलात्कारपछि हत्या जस्तो जघन्य अपराध भएकोमा हामीलाई निकै दुःख लागेको छ । जुन घट्नु हुँदैन् थियो। तर के गर्ने सामाजिक विकृतिका कारण महिलामाथि यस्ता खालका अपराध महिला दिदीबहिनीमाथि बेला–बेला हुने गरेको छ। यो घटनालाई हामीले एकदमै सिरियस लिएर अनुसन्धानमा कुनै त्रुटी नहोस् भनेर चाँडो भन्दा चाँडो अनुसन्धान सकियोस् भनेर म लगायत मेरा अनुभव प्राप्त अधिकृत, जवानहरुले गम्भीर रुपमा अनुसन्धान गरेको हो। काम गर्ने वातावरण पाएपछि चाँडै सफल हुन्छौँ भन्ने हामीमा दृढ विश्वास थियो। विगतको मेरो व्यक्तिगत अनुभव र संगठनको अनुभवका आधारमा म पनि दृढ विश्वासमा थिए। आज त्यो विश्वासले नै हामीलाई सफलता मिलेको छ। यो अनुसन्धानमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार लगायतका सबै पक्षबाट राम्रो साथ सहयोग पाईयो। यसले  एउटा के दृष्टान्त देखायो  भने प्रहरीले स्वतन्त्र रुपमा काम गर्न पाए चाँडै नै अभियुक्तलाई कानूनको दायरामा ल्याउन सक्छ।

अर्कोतर्फ न्यायका लागि दबाब, प्रभाव र नारा जुलुस नै गरिरहनुपर्छ भन्ने अब कुरा निरुत्साहित हुने अपेक्षा पनि गरेका छौँ। यो प्रकरणको सफल अनुसन्धानमा खटिएका मेरा सबै प्रहरी अधिकृत तथा जवान, जनप्रतिनिधि, राजनीतिक दल लगात सबैलाई विशेष धन्यवाद दिन चाहान्छु।

अन्तमा,  दुःखका साथ भन्नुपर्छ विगतमा कञ्चनपुरमा घटेको निर्मला पन्तको बहिनीको बलात्कारपछि हत्या घटना जो अहिलेसम्म अनुसन्धान भइसकेको छैन। त्यो अवस्थाले गर्दा सर्वसाधारणमा भागरथी प्रकरण पनि त्यस्तै हुने हो कि भन्ने आशंका र नेपाल प्रहरीप्रति पनि विभिन्न शंका उत्पन्न भएको अवस्थामा हामीले यो केसलाई किनारा लगाएर नेपाल प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी राख्दैन् भन्ने दृष्टान्त दिएका छौँ। अर्कोतर्फ निर्मला पन्तको घटना पनि चाँडो भन्दा चाँडो अनुसन्धान सकिएर दोषी कारवाहीको दायरामा आउने विश्वास लिएको छु। हिमालय टाइम्स