यसकारण बन्द भए वीरेन्द्रनगरका सडक
सुर्खेत ।
एक्कासी वीरेन्द्रनगर नगरपालिका भित्रका केही सडक बन्द भएपछि उक्त सडकमा यात्रा गर्नेहरु मर्कामा परेका छन् । वीरेन्द्रनगरको हटिया लाइन क्षेत्रका सडकमा धुलैधुलो भएपछि स्थानीय वासिन्दाले सडक अवरुद्ध पारेर पारेका हुन् । वीरेन्द्रनगर नगरपालिका– ६ मा पर्ने सो क्षेत्रमा बिहीबार विहानदेखि स्थानीय वासिन्दाले सडक अवरुद्ध पारेका छन् । यस क्षेत्रको दुईवटा मुख्य सडक र चारवटा सहायक सडकमा डोरी र तारजाली लगाइएको छ ।

सडक निर्माणका क्रममा धुलो उडेर व्यवसाय सञ्चालन गर्न समस्या भएपछि बाध्य भएर बाटो बन्द गरेको स्थानीय व्यवसायीहरुले बताएका छन् । सडक बन्दकर्ताहरुका अनुसार उक्त क्षेत्रमा एक वर्षयता नयाँ सडक बनाउन भएको सडक पनि भत्काइएको छ । ‘हामीले पटक–पटक स्थानीय निर्माण व्यवसायी र जनप्रतिनिधिलाई समयमै सडक निर्माण गर्न आग्रह ग¥यौं । तर, हाम्रो आग्रह कसैले सुनेन’ उनले सडक बन्द गर्नु आफूहरुको बाध्यता भएको सुनाए ।
जनप्रतिनिधिले गर्छु–गर्छु भनेर काम समयमा पूरा नगरेपछि बाध्य भएर सडक बन्द गर्नु परेको अर्का व्यावसायीहरुको भनाई छ । ‘मुख्यमन्त्री, मन्त्रीहरु, मेयर लगाएयतका व्यक्तिहरु चिल्ला गाडीमा यही बाटोबाट धुलो उडाउँदै हिँड्छन् । त्यही धुलोले हाम्रा ५० प्रतिशत सामानहरु काम नलाग्ने भइसके,’ व्यापारीले भने, ‘अति भएपछि सडकमा आयौं ।’
वीरेन्द्रनगर वडा नम्बर–६, का वडाध्यक्ष मोतीप्रसाद कँडेलले निर्माण व्यवसायीले ढिला गरेको बताए । ‘निर्माण व्यवसायीले काम ढिला गरिदिएर समस्या भएको छ, हामीले निर्माण व्यवसायीलाई घचघच्याइ रहेका छौं, उहाँको समस्या समाधान गर्छौं,’ अध्यक्ष कँडेलले भने ।






