प्रधानमन्त्री ज्यू ! म पनि सुरक्षित छैन
नेपालको राष्ट्राध्यक्ष राष्ट्रपति हुने संवैधानिक व्यवस्था भएपनि राष्ट्रपति केवल लालमोहर लगाउने मात्र हुन् । कार्यकारी प्रमुखको रुपमा प्रधानमन्त्री नै हुने संवैधानिक व्यवस्था छ । देशको शासन सत्ता सम्हाल्ने कार्यकारी प्रमुख प्रधानमन्त्री नै सुरक्षित नभएको अभिव्यक्ति दिँदै हिडिरहेको बेलामा म र म जस्ता सर्वसाधारण सुरक्षित छौ भन्ने कुनै आधार भेट्न सकिन । जसको कारण आफू असुरक्षित भएको खबर मेरा प्रधानमन्त्री समक्ष यो लेख मार्फत पु¥याउने कोसिस गरिरहेको छु ।

नेपालमा जत्ति बेला राणा शासन थियो । त्यत्तिबेला यो देशका जनतादेखि शासनकर्ताहरु सम्म सुरक्षित थिए । भलै राणाहरुले राजालाई आफ्नो कब्जामा राखेका थिए तर उनीहरु शारिरीक रुपमा सुरक्षित महसुस गर्न सक्थे । यसो भन्दै गर्दा राणा शासना ठीक थियो भन्न खोजेको होइन । राणाहरुबाट जनताका सम्पत्ति र छोरी चेलीहरु असुरक्षित थिए । जनताको घरमा राम्रो खसी देखेको बेलामा पनि राणाहरुले अनेक बहाना बनाएर त्यो खसी कसरी आफ्नो बनाउन सकिन्छ भन्ने योजना बुन्थे । जसले गर्दा सम्पत्ति सुरक्षित थिएन भने राम्रा अनुहार परेका छोरीचेलीहरु कतै हिडिरहेको देखेमा राणाहरुका आँखामा नराम्रो लोभ पलाउने भएकोले छोरीचेलीहरु सुरक्षित थिए । राणाहरुको विरोधी मात्र त्यत्ति बेला असुरक्षित थिए । किनकी व्यवस्था विरोधी मान्छे असुरक्षित हुने गर्दछ नै ।
त्यसपछि आएको प्रजातन्त्रमा तत्कालिन राजा त्रिभुवनले आफ्नो गद्दीको समेत मतलब गरेनन् । जसले गर्दा नेपालमा प्रजातन्त्रको उदय हुनमा ठूलो सहयोग पुगेको थियो । नेपालमा राजगद्दी छोडेर भारतमा शरण लिन पुगेका त्रिभुवनको गद्दी पनि सुरक्षित नै रहयो र त्रिभुवन पनि शारिरीक रुपमा सुरक्षित नै रहे । एवम् प्रकारका उतारचढाव हुँदै जाने क्रममा नेपालमा पुनस्र्थापना भएको प्रजातन्त्रमा मदन भण्डारी जस्ता महान नेता सुरक्षित भएनन् । आखिर कसले र किन मदन भण्डारी जस्ता महान राजनीतिक हस्तीको अन्त्य ग¥यो ? यो निकै गहिरो खाडलमा अडिएको प्रश्न हो । तत्कालिन समयमा जसले जसलाई दोष दिएको भएपनि समय बदलियो । देशमा प्रजातन्त्र मात्र होइन लोकतन्त्र र गणतन्त्र आइसक्यो । नेपाली जनताका प्रतिनिधिहरुले बनाएको संविधान लागु भइसक्यो । अझ भएन भन्ने हो भने यो देशको वर्तमान राष्ट्राध्यक्ष तिनै मदन भण्डारीकी श्रीमती विद्यादेवी भण्डारी हुनुहुन्छ भने देशको कार्यकारी प्रमुख तिनै मदन भण्डारीका सहयात्री केपी शर्मा ओली हुनुहुन्छ ।
एकातिर नेपाली राजनीतिक इतिहासमै पहिलो पटक कम्यूनिष्टले झण्डै दुईतिहाइ मत प्राप्त गरेका छन् । अर्कोतिर मदन भण्डारीका श्रीमती राष्ट्रपति र सँगै कम्युुनिष्ट आन्दोलनको सहयात्री केपी ओली प्रधानमन्त्री हुँदा नेपाली जनताले एउटा आशा गरेका थिए । मदन भण्डारीको हत्यारा पत्ता लगाई त्यसलाई कानून बमोजिम कारवाही हुनेछ भन्ने । तर सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीले मदन भण्डारीको हत्याराको खोजी गर्ने आँट नगर्दा अहिले जनताले के सोचिरहेका छन् भन्ने कुराको आँकलन यी दुबैलाई छ ।
पार्टीको अन्तरद्वन्द्वलाई व्यवस्थापन गर्न नसकेर असंवैधानिक कदम चालेर प्रतिनिधि सभालाई कोमामा पु¥याउने मेरो देशका राष्ट्रवादी प्रधानमन्त्री अहिले आफू शारिरीक रुपमा असुरक्षित भएको भाषण गर्दै हिडिरहनु भएको छ । यसले देश, समाज र सर्वसाधारण जनताको मन र मस्तिष्कमा कस्तो असर पर्छ भन्ने हेक्का समेत नराखेर जनताका अगाडि सहानुभूतिको खेल खेल्न खोज्ने प्रधानमन्त्री ज्यूसँग आम नेपाली जनताले प्रश्न गरिरहेका छन्, प्रधानमन्त्री ज्यू तपाईं त सुरक्षित हुनुहुन्न भने हामी कसरी सुरक्षित छौ ?
देशमा कानूनको पालना गर्ने गराउने, शान्ति सुरक्षा गर्ने गराउने, नागरिकको जिउधनको सुरक्षाको जिम्मा लिएको प्रहरी बल र राष्ट्रको सीमा क्षेत्रको सुरक्षा लिएको सशस्त्र प्रहरी बल एवम् नेपाली सेनाका तीन सय बढी सुरक्षाकर्मीको घेरा भित्र भएको मान्छे सुरक्षितको महसुस हुँदैन भने अर्थात् यी सुरक्षा निकायले प्रधानमन्त्रीको सुरक्षा गर्न सक्दैनन् भने सिंगो देश र तीन करोड बढि जनताको सुरक्षा गर्न सक्छन् । प्रधानमन्त्रीलाई आफ्नै सुरक्षा निकाय माथि भरोसा लाग्न किन छोड्यो ?
यसमा सुरक्षा निकाय कमजोर रहेछ भनेर बाह्य शक्तिले हेप्न सक्छ । नक्सामा मात्र कोरिएको तर व्यवहारमा लागु नभएको भूमि चेप्न सक्छ । त्यसैले अभिव्यक्ति दिने क्रममा के कस्ता शब्दहरु बोल्ने भन्ने बारेमा राम्रोसँग विचार गरेर छनौट गर्दा राम्रो होला प्रधानमन्त्री ज्यू ।
अर्को कुरा सुरक्षा निकाय तपाईको सुरक्षार्थ खटिएको छ । तपाईका वरिपरी आफ्नै कार्यकर्ताहरु झुम्मिएका हुन्छन् । अनि तपाई असुरक्षित कसरी ? म एक सर्वसाधारण हुँ । देखेको कुरा जस्ताको त्यस्तै लेख्ने गर्छु । तपाई जस्तो सुनेको कुरामा कहिल्यै पछि लाग्दैन । देखेको कुरा लेखेकै भरमा म माथि पनि हमला भयो भने हाम्रो सरकारले अचम्म नमान्दा हुन्छ भन्ने लाग्न थालिसक्यो तपाईको अभिव्यक्तिले ।
प्रधानमन्त्रीले दिने अभिव्यक्तिले सारा देशवासीको ध्यान केन्द्रित गर्ने गर्दछ । राजनीतिक रुपमा चित्त नबुझेर होस् वा भागबण्डा नमिलेर होस् वा पार्टीभित्र अल्पमत र बहुमतको खिचातानी चलेर होस् जे सुकै भन जनतालाई कुनै महत्व छैन । त्यस्ता कुराको महत्व छ भने सत्ता र शक्तिको आसपासमा रहेर गास जुटाउनेहरुलाई होला । हिजोका दिनमा प्रचण्डले गरेका कमीकमजोरीहरु थाहै नभए जस्तो गरेर अंगालो मार्ने अनि आज उनी चाँही १७ हजारको हत्यारा हुने ? हिजोका दिनमा तृतीय अध्यक्ष हुन आउ भनेर माधव नेपाललाई आफैले भन्ने आज उनी कम्यूनिष्ट जस्तो नहुने ? राम बहादुर थापा, टोप बहादुर रायमाझी आफ्नो लाइनमा भए ठीक अन्यथा बेठीक भन्ने प्रवृत्तिको अन्त्य प्रधानमन्त्रीबाटै हुन जरुरी छ । प्रतिनिधि सभा पुनस्र्थापना भयो भने सांसद किनबेचको चलखेल हुन्छ भन्ने पनि हाम्रा प्रधानमन्त्री अनि आज सांसदहरुलाई पैसामा बार्गेनिक गर्ने पनि प्रधानमन्त्री । यो प्रधानमन्त्री ज्यू नै नियतमा शंका गर्ने ठाउँ भएन र ?
अँ साँच्चि ! प्रधानमन्त्री ज्यू सहानुभूति बटुल्नकै भएपनि तपाईले आफू असुरक्षित भएको कुरा त गरिहाल्नु भयो तर म फलानोबाट असुरक्षित छु चाँही भनिदिनु भएन । साँच्चिकै तपाईले असुरक्षित फिल गर्नु भएको हो भने फलानोबाट म असुरक्षित छु भनिदिनु भएको भए भोलि सुरक्षा निकायलाई पनि अनुसन्धान गर्न सजिलो हुने थियो । अब हुने कार्यक्रममा त्यो पनि बताइ दिन अनुरोध गर्दछु । यो लेखमा मैले व्यक्त गरेका कुराहरु तपाईसम्म पुगे भने तपाई पनि मलाई प्रश्न गर्नु हुनेछ तँ कसबाट असुरक्षित छन् ? त्यसैले म स्पष्ट भन्न चाहान्छु म तपाईबाट असुरक्षित छु । किनकी मेरो प्रधानमन्त्री नै सुरक्षित फिल नभएको अवस्थामा म कसरी सुरक्षित हुनसक्छ । त्यसैले तपाई र तपाईले संचालन गरेको सरकारसँग म सुरक्षाको आशा त गर्दिन यत्ति भन्छु प्रधानमन्त्रीको लागि निर्बल भएपनि नेपालको सुरक्षा निकाय म र म जस्ता जनताको लागि सुरक्षा दिन सक्षम छ, बलियो छ भन्ने आशामात्र होइन विश्वास पनि छ । हो, त्यही विश्वासका साथ हामी नेपाल भित्रै सुरक्षा महसुस गरिरहेका छौ ।
पूर्व भिआइपीहरुको सुरक्षा संख्यामा कटौती गर्दा उनीहरु असुरक्षित महसुस गर्दैनन् तर तपाई किन असुरक्षित महसुस गर्दै हुनुहुन्छ ? खासमा भन्ने हो प्रधानमन्त्री ज्यू यो लेखेकै कारण म पनि सुरक्षित महसुस गरेको छैन । तपाईसँग वा तपाईले संचालन गरेको सरकारसँग सुरक्षा मागौ भने देशको प्रधानमन्त्रीलाई सुरक्षा दिन नसक्नेहरुले मेरो के सुरक्षा गर्लान खै ?






