वीरेन्द्रनगरमा ४८ घण्टामा एक पटक पानी आउने
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको हाहाकार हुन सुरु भएको छ । सुर्खेत प्रदेशको राजधानी भएसँगै अन्यत्र जिल्लाहरुबाट भएको बसाइसराइका कारण यहाँको जनघनत्वमा बृद्धि हुनु र व्यापार व्यासायमा समेत बढावा आउनुले पनि नगरमा खानेपानीको हाहाकार हुन थालेको हो ।

सुख्खा यामको सुरुवात हुन नपाउँदै वीरेन्द्रनगरवासीका धारामा ४८ घण्टाको फरक पानी आउन थालेको छ । त्यो ४८ घण्टापछि आउने पानीपनि प्रयाप्त मात्रामा नआउनुले झनै हैरानी खेप्नु परेको बताउनु हुन्छ वीरेन्द्रनगर ७ का राजेन्द्र बुढा । वीरेन्द्रनगरको इत्राम, नेवारे लगायतका स्थानमा इनारमा समेत पानी नहुने र धारामा पनि पानी नआउने भएका कारण निकै समस्या झेल्नु परेको बताउनु हुन्छ वीरेन्द्रनगर ७ की बसन्ता शाही । भेरीको पानी सुर्खेत ल्याउँछौ भनेर चिर्वाचनको समयमा मत माग्ने नेताहरु भने गर्मीको समयमा पानीको हाहाकार हुँदा समेत अनुहार देखाउँदैनन् भन्नुहुन्छ वीरेन्द्रनगर ३ का भविन्द्र हमाल ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय समेत सुर्खेतको वीरेन्द्रनगरमै भएकोले यहाँ बहालमा बस्ने विद्यार्थीहरुको संख्या पनि उल्लेख्य छ । वीरेन्द्रनगर १० मा बहालमा बस्ने विद्यार्थी हरि थापा भन्नुहुन्छ, धारामा ४८ घण्टाको फरकमा आउने पानी घरभेटीलाई नै पुग्दैन त्यसैले बुलबुले तालमा रहेका धारामा गएर कपडा धुने तथा नुहाउने गर्नुपर्ने बाध्यता छ ।
वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले हालसम्म १९ हजार धाराहरुमा पानी वितरण गर्दै आइरहेको छ । संस्थाका अनुसार ३५ हजार नयाँ धारा जडानका लागि आवेदन परेका छन् भने वीरेन्द्रनगरमा आउने पानीको मुहानमा पानीको स्रोत भने घट्दै गइरहेको कारण पानीको अपुग भइ वितरणमा समस्या हुन थालेको संस्थाको भनाई छ । संस्थाका इन्जिनियर बालाराम तिवारीका अनुसार २ सय ७८ लिटर प्रतिसेकेण्ड पानीको आवश्यकता पर्दछ । तिवारीका अनुसार १ सय ५७ लिटर पानी आपूर्ति गर्न सकिने भएपनि खडेरीको समयमा मुस्किलले १०० लिटर पानी प्रति सेकेण्ड उपलब्ध हुने अवस्था छ ।
जाडो समयमा भन्दा खडेरीको समयमा खानेपानीको माग पनि बढ्ने गर्दछ । गर्मीको समयमा पानीको खपत बढि हुनु स्वभाविकै हो । अर्कोतिर वीरेन्द्रनगर भित्र भइरहेका सडक निर्माणका क्रममा खानेपानीका पाइपलाइनमा आउने समस्या पनि टड्कारो छ ।






